बराहतालको प्राथमिकतामा सडक

सुर्खेत, ३१ असार ।
आर्थिक वर्ष २०७४/०७५ का लागि सुर्खेतको बराहताल गाउँपालिकाले ३३ करोड ६२ लाख तीन हजार रूपैयाँ बजेट सार्वजनिक गरेको छ । शनिवार सम्पन्न गाउँसभामा गाउँपालिका उपप्रमुख शोभाकुमार शर्माले आर्थिक वर्ष २०७४÷०७५ का लागि नीति, बजेट तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
बराहताल गाउँपालिकाले सबै वडाहरूमा सडक सञ्जालले जोड्ने योजनालाई प्राथमिकतामा राखेको छ । पूर्वाधार विकास, सामाजिक क्षेत्र, आर्थिक क्षेत्र, वातावरण तथा व्यवस्थापन क्षेत्र, शिक्षा स्वास्थ्य लगायतका शीर्षकमा आधारित रहेका प्राथमिकता निर्धारण गर्दै बजेट विनियोजन गरिएको हो ।
पूर्वाधार विकासका लागि चार करोड तीन लाख आठ हजार, सामाजिक क्षेत्रका लागि तीन करोड ३५ लाख ९० हजार, आर्थिक क्षेत्रको लागि दुई करोड एक लाख ५४ हजार, वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रका लागि एक करोड ३४ लाख ३६ हजार रूपैयाँ बजेट विनियोजन गरिएको जानकारी गाउँसभामा प्रस्तुत गरिन् ।
यस्तै संस्थागत विकास र सेवाप्रवाह क्षेत्रको लागि एक करोड ३४ लाख ३६ हजार, वित्तीय व्यवस्थापन र सुशासनका लागि एक करोड ३४ लाख ३६ हजार, शिक्षा, स्वास्थ्य सशर्त अनुदानको लागि आठ करोड ३८ लाख ४१ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
गाउँपालिकामा सडक सञ्जालको विस्तार गर्दै विद्युत र सञ्चारको सुविधाका लागि आवश्यक कार्य थालनी गर्ने, बराहताल गाउँपालिकालाई कृषि क्षेत्रको रूपमा विभिन्न बालीनालीको पकेट क्षेत्र निर्माण गरी बराहतालबासीलाई आर्थिक रूपमा बलियो बनाउने, व्यावसायिक कृषिमा आकर्षित गराइने, सबै वडामा आउँदो १ वर्षको अवधिमा सडक सञ्जाल विस्तार गर्ने, बाढीबाट प्रभावित भएर अस्थायी टहरामा बस्दै आएका बाढीपीडितहरूलाई व्यवस्थित बनाउँदै लगिने लगायतका योजना आगामी कार्यक्रममा समावेश गरिएको छ ।
गाउँपालिका अध्यक्ष तेजबहादुर बस्नेतको अध्यक्षता एवम् सुर्खेत क्षेत्र नम्बर ३ का सांसद तप्तबहादुर विष्टको प्रमुख आतिथ्यतामा भएको गाउँसभामा नेकपा एमाले बराहताल गाउँपालिकाका सह–संयोजक घनश्याम पाण्डे, नेकपा माओवादी केन्द्र बराहतालका अध्यक्ष बलबहादुर कठायत लगायतले गाउँपालिकाको समृद्धिका लागि मिलेर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मितिः   १ श्रावण २०७४, आईतवार १५:२६