पहिलो बजेट सार्वजनिक गर्दै स्थानीय तह

सुर्खेत, ३० असार ।
आर्थिक वर्ष २०७४/०७५ को लागि योजना निर्माण तथा बजेट बाँडफाँड गर्न सुर्खेतका स्थानीय तहरूले धमाधम गाउँ तथा नगरसभा गर्दैछन् । स्थानीय तहले पहिलो पटक स्थानीय बजेट सार्वजनिक गर्न लागेका हुन् । आर्थिक वर्षको अन्तिममा विनियोजन भएको बजेट बाँडफाँड र योजना निर्माणका लागि असार समान्त सकिनु अघिल्लो दिन मात्रै गाउँ र नगरसभा सम्पन्न हुँदैछन् ।

स्थानीय तहहरूले वर्षभरी हुने खर्च, वित्तीय व्यवस्थापन, स्थानीय राजस्व तथा सरकारले दिने आम्दानीका स्रोतसहितको बजेट सार्वजनिक गर्ने भएका हुन् । यसरी गाउँ र नगरसभामा पेश भएको बजेट असार मसान्तसम्म पास गरिसक्नुपर्ने प्रावधान छ ।
सुर्खेतका नौ वटा स्थानीय तहमध्ये केहीले शुक्रवार नै सभा उद्घाटन गरेका छन् भने केहीको आज (शनिवार) हुँदैछ । वीरेन्द्रनगर नगरपालिकाको प्रथम नगरसभा पनि आज हुँदैछ । यस्तै बराहतला गाउँपालिकाको नगरसभा पनि आजै हुँदैछ भने सिम्ता, लेकवेशी र चिङ्गाडको शुक्रवार नै उद्घाटन गरिएको छ । भेरीगंगा नगरपालिका र गुर्भाकोट नगरपालिकाको नगरसभा पनि आज हुने जनाइएको छ ।
मुलुक संघीय संरचनामा प्रवेश गरेपछि पहिलो पटक स्थानीय तहले आज वार्षिक राजस्व तथा व्ययको अनुमानसहितको बजेट प्रस्तुत गर्ने भएका हुन् । स्थानीय तहले पहिलो पटक आफ्नो आय–व्ययको अनुमान आफ्नै सभामा पेश गर्न लागेका हुन् । केन्द्रमा व्यवस्थापिका संसदमा बजेट पेश गर्ने शैलीमा स्थानीय तहका प्रमुख वा तोकिएका व्यक्तिले गाउँ÷नगर सभामा वार्षिक बजेट पेस गर्दैछन् । सभामा पेश भएको बजेट असार मसान्तसम्म पारित गर्नुपर्नेछ । संविधानले स्थानीय तहमा तीन संरचना तोकेको छ । स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायिक समितिसमेत रहनेछ । स्थानीय कार्यपालिकाकातर्फबाट स्थानीय व्यवस्थापिकामा बजेट पेश हुनेछ । अध्यक्षले सभाको अध्यक्षता गरेको अवस्थामा अन्य पदाधिकारीले बजेट पेश गर्नेछन् ।
गाउँ तथा नगरसभाबाट पारित नगरी बजेट खर्च गर्ने अधिकार स्थानीय तहलाई छैन । सभामा पेश भएको बजेट पारित भएपछि मात्र स्थानीय तहलाई बजेट खर्चको बाटो खुल्नेछ । बजेट पारित नभएको अवस्थामा स्थानीय तहले पनि केन्द्रकै शैलीमा एक तिहाइसम्म खर्च गर्ने अधिकार रहनेछ । पेश्की खर्चका रूपमा एक तिहाइ बजेट खर्चको अधिकार स्थानीय तहलाई हुनेछ । बजेट पारित नभएसम्म स्थानीय तहले केन्द्रबाट पाउने वित्तीय अनुदान र समानीकरण रकम पाउने छैनन् । गाउँ नगरसभा गठन नभएको स्थानमा बजेट कसरी पेश गर्ने स्पष्ट व्यवस्था संविधानमा छैन । स्थानीय शासन सञ्चालन कानुन पनि बन्नसकेको छैन । संविधानमा स्पष्ट व्यवस्था नभएको र शासन सञ्चालन कानुन पनि नबनेका कारण मन्त्रालयको निर्देशन अनुसार स्थानीय तहले काम गरिरहेका छन् ।
यस्ता छन् सिम्ताको योजना
पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले शुक्रवार गाउँसभा गरेको छ । सिम्ता गाउँपालिकाले पहिलो गाउँसभाबाट चार वटा कार्यक्रमलाई महŒवको कार्यक्रमका रूपमा अघि बढाएको छ । गाउँपालिकाको केन्द्र बजेडिचौरमा भएको पहिलो गाउँसभाबाट सिम्ता उज्यालो कार्यक्रम, सडक सञ्जाल विस्तार कार्यक्रम, कृषिसँग सम्बन्धित काम गर्न जनतासँग सिम्ता गाउँपालिका तथा स्वच्छ र सफा खानेपानी कार्यक्रम गाउँपालिकालाई अघि बढाइएको हो । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा यी चारवटै कार्यक्रमलाई सफल बनाउनका लागि विभिन्न योजनाहरू सार्वजनिक गरिएको छ ।
गाउँसभाबाट १४ करोड ८८ लाख ३८ हजार रूपैयाँ बराबरका योजनालाई पास गरिएको छ । जसभित्र कृषितर्फ ७० लाख, उद्योग वाणिज्यतर्फ तीन लाख, पर्यटनतर्फ २० लाख, सहकारीतर्फ २० लाख र वित्तीयतर्फ तीन लाख गरी आर्थिक विकासमा ९८ लाख रूपैयाँ विनियोजन गरिएको छ । यस्तै सामाजिक विकासतर्फ दुई करोड ९९ लाख ७८ हजार रूपैयाँ छुट्टिएको छ । जसभित्र शिक्षातर्फ ७१ लाख, स्वास्थ्यतर्फ २० लाख, खानेपानी तथा सरसफाइतर्फ एक करोड ५० लाख, संस्कृति प्रबद्र्धनतर्फ तीन लाख, खेलकुद तथा मनोरञ्जनतर्फ पाँच लाख, लौङ्गिक समानता तथा सामाजिक समावेशीकरणका लागि ५० लाख रूपैयाँ विनियोजन भएको छ ।
सिम्ता गाउँपालिकामा पूर्वाधारका लागि ४४ लाख ५० हजार रूपैयाँको बजेट छ । जसभित्र सडक, पुल तथा झोलुङ्गे पुलका लागि ६ करोड ८३ लाख ६० हजार, सिँचाइका लागि ६० लाख, साना जलविद्युत र सौर्य ऊर्जाका लागि दुई करोड ५० लाख, वन तथा भू–संरक्षणका लागि पाँच लाख, वातावरण संरक्षण तथा जलवायु परिवर्तन असर न्यूनीकरणका लागि तीन लाख, फोहोरमैला तथा ढल व्यवस्थापनका लागि एक लाख ५० हजार, जल उत्पन्न प्रकोप नियन्त्रणका लागि ३० लाख, र विपद् व्यवस्थापनका लागि पाँच लाख रूपैयाँ विनियोजन भएको छ । बजेट वक्तव्य अनुसार सिम्तामा संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ ५२ लाख रूपैयाँ विनियोजन भएको छ । जसभित्र सुरक्षा व्यवस्थापनमा तीन लाख, सूचना प्रविधितर्फ नौ लाख ५० हजार, पञ्जीकरण व्यवस्थापनतर्फ पाँच लाख, तथ्यांक संकलन, अभिलेख व्यवस्थापन तथा प्रकाशनका लागि १० लाख, सुशासन प्रबद्र्धनका लागि पाँच लाख, अनुसन्धान तथा विकासका लागि १५ लाख तथा अन्यत्र वर्गीकृत नभएकोतर्फ पाँच लाख रूपैयाँ बजेट पास भएको छ ।
पञ्चपुरीमा ३८ करोडको बजेट प्रस्ताव
सुर्खेतको पञ्चपुरी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५ का लागि करिब ३९ करोड बराबरको बजेट प्रस्ताव गरेको छ । नगरपालिकाको शुक्रवार बावियाचौरमा भएको नगरसभामा उक्त बजेट प्रस्ताव गरिएको हो । सभामा नगरपालिकाका उपप्रमुख मुक्तिदेवी रेग्मी पुरीले आर्थिक वर्ष २०७३÷०७४ को चार करोड ६८ लाख ३२ हजार रूपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् भने नगरपालिकाका कार्यकारी अधिकृत कृष्णबहादुर पन्तले आर्थिक वर्ष २०७४÷०७५ का लागि ३८ करोड ९४ लाख ४४ हजार रूपैयाँ बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरेका छन् ।
नगरपालिकाले प्रत्येक वडामा सडक सञ्जालको विस्तार गर्ने, नगरपालिकालाई बालविवाहरहित नगर बनाउने, युवाका लागि खेलकुद तथा आय–आर्जनमा जोड दिने, पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा संरक्षण गर्ने, नगरपालिकाको गुरुयोजना तयार गर्ने, बाढीपीडितहरूका लागि विपद् व्यवस्थापन गुरुयोजना तयार गर्ने, उन्नत प्रविधियुक्त कृषि प्रणालीमा जोड दिने, महिलाहरूका लागि नेतृत्व विकासका कार्यक्रम गर्ने योजना बनाएको छ ।
त्यस्तै पूर्ण सरसफाई, जातीय विभेद, सामाजिक विभेद तथा कुरितिहरूको अन्त्य, र स्वास्थ्य तथा शैक्षिक क्षेत्रको विकासमा जोड दिइएको छ । नगरपालिकाले आर्थिक विकासमा दुई करोड १४ लाख ८७ हजार, सामाजिक विकासमा तीन करोड २२ लाख ३१ हजार, पूर्वाधार विकासमा ११ करोड ८१ लाख ८३ हजार, वातावरण तथा विपद् व्यवस्थापनमा दुई करोड १४ लाख ८७ हजार, संस्थागत तथा सेवा प्रवाहमा एक करोड २८ लाख ९२ हजार र वित्तीय व्यवस्थापन तथा सुशासनमा ८५ लाख ९८ हजार रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
कार्यक्रमका सहभागीहरूले पञ्चपुरी नगरपालिकालाई देशकै नमुना नगरपालिकाको रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । नगरसभामा बोल्दै सयुक्त वडा कार्यालय १, २ र ३ का वडा सचिव तिलकराम अधिकारीले वडा कार्यालय तथा नगरपालिकामा कर्मचारी व्यवस्थापन गर्नसकेमा नगरपालिकाका नागरिकले सिंहदरबारको सेवा सुविधा गाउँबाटै लिएको महसुस गर्ने बताए ।
नगरपालिकाले विगतदेखि गाविसको काम गर्दै आएका सचिवहरू भद्रबहादुर थापा, तिलकराम अधिकारी, नारायण देव गिरी, टोपबहादुर बयक र कृष्णबहादुर बोहोरालाइ सम्मानित गरेको छ । नगरसभाका प्रमुख अतिथि सांसद तप्तबहादुर विष्टले नगर परिषद्को सफलताको शुभकामना दिएका थिए । पञ्चपुरीको विकास गर्न सबैको सहकार्य अनिवार्य रहेको र आफूले पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता उनले जनाए । नगरसभा नगर प्रमुख उपेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको हो ।

प्रकाशित मितिः   ३१ असार २०७४, शनिबार १५:०३