‘मैले प्रेम प्रस्ताव राखें, उनले शर्त राखिन्’
एउटै कक्षामा सयौं विद्यार्थीहरू थिए । सयौं विद्यार्थीहरूमध्ये पनि कमल खड्का (जुनी) को नजर एक जना युवतीमा पर्न गयो । हेर्दा सालिन र भलाद्मी देखिने ती युवती अरु कोही नभएर विनिता तन्डुकार थिइन् । विनिता सधैं पढाइमा प्रथम हुने, कक्षामा धेरै नबोल्ने, सबै साथीहरूसँग मिलनसार, मेहेनती स्वभावले नै खड्कालाई उनीप्रति आकर्षित गरेको थियो । कक्षाको मोनिटर भने खड्का नै थिए । उनले कक्षामा सबैलाई हेर्थे तर, विनिता भने अरु भन्दा विकुल्लै फरक स्वभावकी थिइन् । उनको पढाइको मेहेनत, शान्त स्वभाव र सबैसँगको मिलनसार स्वभावले खड्का प्रभावित भएका थिए । मन मनै विनितालाई खड्काले मनमा सजाइ सकेका थिए । तर, मुखै खोलेर विनितासँग भने भन्न सकेका थिएनन् । चार वर्षसम्म एकोहोरो माया गरिरहे खड्काले विनितालाई ।
घरको आर्थिक अवस्था कमजोर भएकाले खड्काले १० कक्षाको परीक्षा दिन पाएनन् । त्यसपछि उनको विद्यालय गएर पढ्ने इच्छा भएर पनि जान पाएनन् । विनितालाई एकोहोरो माया गरेका खड्काले विनितालाई आफू टाढा भएपछि मात्र प्रेम प्रस्ताव राख्ने निधो गरे । स्कुल पढ्न नगए पनि विनितासँग उनको भेट भने भइरहन्थ्यो । विनितालाई घर पु¥याउन जाने निहुँमा खड्काले विनितासँग कुराकानी हुने र उनको नजिक हुने बहाना खोज्ने गर्थे । एक दिन विनितालाई घर पु¥याउन जाने बहानामा उनले विनितालाई प्रेम प्रस्ताव राखे । तर, विनितालाई भने आफ्नो घरपरिवारको चिन्ता थियो । त्यो समयमा विनितालाई बिहेको कुराभन्दा पनि आफ्नो परिवारको लागि केही गर्नुपर्ने अवस्था थियो । त्यसैले उनले खड्काको प्रेम प्रस्ताव स्वीकार गर्नु भन्दा पनि शर्तहरू राखिन् ।
उनले खड्कालाई आफूले स्नातकोत्तर सकिने बेलासम्म कुर्नसक्ने भए र आफ्ना बाबुआमाको लागि स्वतन्त्र रूपमा सहयोग गर्ने वातावरण हुने भएपछि मात्र बिहेको लागि राजी भएको बताइन् । खड्काले पनि सहजै रूपमा विनिताको शर्तहरू स्वीकार गरे । त्यसपछि भने दुवैको घरपरिवारले उनीहरूको प्रेमको कुरा थाहा पाए । दुवैको घरपरिवारमा थाहा भएपछि खड्का विनिताको घरमा जाने आउने सहयोग गर्ने गर्थे । विनिताले शर्त अनुसार पढाइ सक्ने बेलासम्म खड्का कुरेर बसे । विनितको मास्टर सकिने बित्तिकै दुवै परिवारको सहमतिमा उनीहरूले २०६७ सालमा मागी विवाह गरे ।
पिता मनीराम खड्का र माता भुवनसरा खड्काको कोखबाट २०४३ सालमा छिउडी फुसाकोट–१ दैलेखमा जन्मिएका कमल खड्का (जुनी) को बाल्यकाल केही सुख केही दुःखसँग बित्यो । उनको जन्म दैलेखमा भए पनि उनको बाल्यकाल भने सुर्खेतमा नै बित्यो । तीन भाई र तीन बहिनी मध्येमा कान्छो छोरा भएका कारण सबैको माया पनि पाए । तर, उनले बाल्यकालमा सुखको अनुभूति कस्तो हुन्छ गर्न पाएनन् । कक्षा एकदेखि कक्षा १० सम्म जन माविमा पढेका खड्का बाल्यकालदेखि नै मेहेनती थिए । सबैसँग मिलनसार स्वभाव थियो ।
उनले कक्षा १० सम्म मात्र पढ्न पाए । उनको घरको आर्थिक अवस्था कमजोर भएका कारण उनले पढ्ने इच्छा हुँदाहुँदै पनि पढाइलाई छोड्नुप¥यो । उनी भन्छन्, ‘मेरो घरको आर्थिक अवस्था कमजोर भएका कारण मैलेबीचमा नै पढाइ छोड्नुप¥यो ।’ उनको जेठा दाई राप्ती नदीमा साथीको आमाको मलामी जाँदा भुमरीमा परेर मृत्यु भएपछि घरको सबै जिम्मेवारी खड्कामा आइप¥यो । घरको आर्थिक अवस्थादेखि सबै कामको जिम्मेवारी निभाउनुपर्ने भएकाले उनले बीचमा नै पढाइ छोडेर गाडीमा खलासीको काम सुरु गरे । २०५८ सालदेखि गाडीको खलासीको रूपमा रहेर ६ वर्ष काम गरेका खड्काले त्यो समयमा तीन सय तलब र ५० रूपैयाँ भत्ता पाउथें । त्यही पैसाबाट घरको सबै खर्च पु¥याउनुपर्ने अवस्था थियो ।
६ वर्ष गाडीमा सहचालकको काम गरेका खड्कालाई उनका भिनाजुले गाडी किनिदिएपछि उनी ड्राइभर भएर काम सुरु गरे । गाडी चलाएरै उनको आर्थिक अवस्था सुधार हुँदै गयो । मेहेनत र परिश्रमको फल मिठो हुन्छ भने झै खड्काले गरेको मेहेनतको फल आज उनले पाइरहेका छन् । अहिले उनी देउती नागरिक यातायात प्रालिको अध्यक्ष भएरका काम गरिरहेका छन् । अहिले साथमा उनको तीन वटा गाडी पनि छन् ।
…
पिता रामकृष्ण तन्डुकार र माता विष्णुमाया तन्डुकारको कोखबाट २०४३ सालमा काठमाडौंमा जन्मिएकी विनिताको बाल्यकाल सुर्खेतमा बित्यो । बाल्यकालमा धेरै नबोल्ने, सबैसँग मिलनसार स्वभावकी विनिताले कक्षा एकदेखि पाँचसम्म बाल मन्दिरमा पढिन् । कक्षा ६ देखि एसएलसी पास भने जन माविबाट गरिन् ।
…
विवाहपछि कमलको जीवनका विनिता उमंग र सुखीको बहार बनेर आइन् । विनिताको आगमनसँगै खड्काको जीवनमा सुखीका बहारहरू छाए । दुवैको संघर्ष र मेहेनतले उनीहरू अहिले हरेक क्षेत्रमा अगाडि छन् । विनिताले बिहे अघि नै आवाज संस्थामा पनि काम गरिन् । अहिले भने उनी नागरिक बहुउद्देश्यीय सहकारीमा आवद्ध छिन् । दुवैको मेहेनत र परिश्रमले अहिले एउटा छोराको साथमा सुखी जीवन बिताइ रहेका छन् ।
विवाह पछिका दिनमा श्रीमान् श्रीमती भएपछि कहिले काहीं सामान्य झगडा हुनु यो जोडी सामान्य नै मान्छन् । उनीहरू काम गर्दा कहिलेका भनाभन भए पनि अहिलेसम्म झगडाको ठूलो रूप नलिएको बताउँछन् । उनीहरू भन्छन्, ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो
हो ।’ यो जोडी पनि झगडा भएको धेरै समयसम्म रिसाउँदैनन् । यो जोडीले एकअर्काेको जन्म दिन र विवाह गरेको वर्ष पनि घरपरिवारकै माझमा मनाउने गर्छन् । एकअर्काेलाई गिफ्ट आदान–प्रदान पनि गर्ने गर्छन् । कपडा, गहना लगायतको प्रयोगमा आउने सामानहरू एकअर्काेलाई गिफ्ट दिने गर्छन् । एकअर्काे प्रशंसा पनि खुलेरै गर्छन् । खड्कालाई विनिताको सबैसँग मिलनसार, सरल स्वभाव मनपर्ने
गर्छ । त्यस्तै विनितालाई खड्काको चाहिने कुराभन्दा धेरै नबोल्ने बानी मनपर्ने गर्छ ।
साझा बिसौनी ।