विकासका मुद्दालाई प्राथमिकता दिन सुझाव

साझा बिसौनी दैनिक आठौं वर्षमा प्रवेश गरेको छ । वीरेन्द्रनगरबाट प्रकाशित भइरहेको यस दैनिकले आफ्नो सातौं वार्षिकोत्सव बिहीवार मनाएको छ । सुरुवातमा मासिक, साप्ताहिक हुँदै तीन वर्ष पहिलाबाट दैनिक प्रकाशन सुरु भएको थियो । वार्षिकोत्सवमा शुभकामना दिने वक्ताहरूले अब विकासका मुद्दालाई प्राथमिकता दिन पत्रिकालाई सुझाव दिएका छन् ।

वार्षिकोत्सव समारोहमा प्रमुख अतिथि वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विकासका मुद्दालाई प्राथमिकता दिएर आफ्ना सामग्री प्रकाशन गर्न सुझाव दिए । साझा बिसौनीले छोटो समयमा नै सबैको मन जित्न सफल भएको भन्दै उनले भने, ‘जनताको भावना अनुसार सामग्री प्रकाशन गरोस्, अब विकास पत्रकारितालाई प्राथमिकता दिन आवश्यक छ । यसतर्फ साझा बिसौनी अग्रसर होस्, अब विकासलाई प्राथमिकता दिनु पर्दछ ।’ साथै उनले स्थानीय सरकारलाई अब सञ्चार माध्यमले रचनात्मक सहयोग गर्नुपर्ने बताए ।

सम्भावित प्रदेश ६ को राजधानी वीरेन्द्रनगरलाई सञ्चारमैत्री बनाउन आफू लागि पर्ने भन्दै सुवेदीले वीरेन्द्रनगरको समृद्धिका लागि सबैको साथ आवश्यक हुने बताए । सरकारको मुख्य जिम्मेवारी जनताको कल्याणमा हुने भन्दै उनले सञ्चार माध्यमले पनि लोक कल्याणकारी राज्यका लागि भूमिका खेल्नसक्ने उल्लेख गरे । ‘वीरेन्द्रनगर यो प्रदेशको केन्द्र हो, यहाँको राम्रो काम अन्यत्र फैलिन्छ’ उनले भने, ‘अब हामी नमूना काम गरेर देखाउने छौं, हाम्रो विकासको मोडल अरुले सिको गर्नेछन् । मिडियाले पनि केन्द्रको रूपमा काम गर्न सक्नुपर्छ, निस्पक्ष भएर सबैका आवाज समेट्नुस् ।’ सोही अवसरमा उनले नगरपालिकाले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने प्रतिबद्धता जनाए ।

यस्तै नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष गणेशकञ्चन भारतीले सुर्खेतको पत्रकारितामा साझा बिसौनी अब्बल बन्दै गएको भन्दै प्रशंसा गरे । साथै उनले पत्रकारितको व्यवसायिकतामा आगामी दिनमा थप सशक्त हुन सुझाव दिए । उनले भने, ‘मिडियाले राजनीतिक परिवर्तनमा धेरै योगदान गरेका छन्, अब विकास र समृद्धिका लागि कलम चलाउन जरुरी छ । यस दैनिकले पनि आफूलाई त्यसतर्फ केन्द्रित गरोस्, विकासका मुद्दालाई मुख्य प्राथमिकता राखोस् ।’ करिब २० वर्षपछि देशमा स्थानीय सरकार गठन भएको भन्दै उनले अब स्थानीय सरकारलाई सवल र जिम्मेवार बनाउनेतर्फ सञ्चार माध्यम लाग्नुपर्ने बताए । विकास मुख्य एजेण्डा हुनुपर्ने उनको भनाइ छ । कार्यक्रममा पत्रिकाका सम्पादक ललितबहादुर बुढाले अब पत्रिकाले विकास र समृद्धिको एजेण्डालाई नै मुख्य प्राथमिकता दिने बताए । उनले भने, ‘भर्खर स्थानीय सरकार गठन भएका छन्, नागरिकमा विकास र समृद्धिको अपेक्षा धेरै छ । यस्तो अवस्थामा हामी विकासलाई पहिलो प्राथमिकता दिनेछौं, स्थानीय सरकार र जनप्रतिनिधिहरूलाई निरन्तर खबरदारी र रचनात्मक सुझाव दिने सामग्री प्रकाशित गर्नेछौं ।’ पत्रिकाका सामग्रीलाई निस्पक्ष र विश्वसनीय बनाउँदै सबैको साझा पत्रिका बन्ने उनको दाबी थियो । पत्रिकाका प्रकाशक गोपी अधिकारीले पत्रिकाको पहुँचलाई थप विस्तार गर्ने योजना रहेको बताए ।

सो अवसरमा सहभागीहरूले पत्रिकाको पहुँच विस्तार गर्न, नयाँ स्तम्भहरू थप गर्न, स्थानीय सरकारलाई जवाफदेही बनाउने गरी सामग्री प्रकाशन गर्न र सबैको साझा बन्न पत्रिकालाई सुझाव दिए । साथै उनीहरूले पाठकको विश्वास जित्नेगरी गुणस्तरीय र तथ्यपूर्ण सामग्री प्रकाशन गर्न सुझाव दिएका छन् । सो अवसरमा पत्रकार महासंघका पूर्व अध्यक्ष श्रीधर पौड्याल, वर्तमान उपाध्यक्ष माया थापा, प्रेस चौतारीका केन्द्रीय सदस्य त्रिभुवन बिसी, जिल्ला अध्यक्ष सूर्यप्रकाश कँडेल, प्रेस युनियनका सचिव गणेश कार्की, अग्रज पत्रकार जीवनकुमार शाक्य, उपप्राध्यापक कमलराज लम्साल, पत्रकारहरू दीपेन्द्र वली, प्रवासकुमार शाक्य, चाँदनी केसी, दिनेश गौतम लगायतले पत्रिकाले आगामी दिनमा प्राथमिकता दिनुपर्ने मुद्दाहरूको बारेमा सुझाव दिएका थिए ।

प्रकाशित मितिः   ३० असार २०७४, शुक्रबार ११:२३