साझा वर्ष व्यक्ति बने मोहनदास गुरुङ

साझा वर्ष व्यक्ति सम्मान–२०७३ बाट मोहनदास गुरुङ्ग सम्मानित भएका छन् । यस दैनिकले हरेक वर्ष प्रदान गर्ने उक्त सम्मान अन्तर्गत यस वर्ष नवजीवन बाल संरक्षण केन्द्रका सञ्चालक गुरुङ्ग सम्मानित भएका हुन् । सातौं वार्षिकोत्सवका अवसरमा बिहीवार गुरुङ्गलाई साझा वर्ष व्यक्ति सम्मानबाट सम्मानित गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवम् वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले दोसल्ला ओढाउनुका साथै नगद पाँच हजार रूपैयाँ र कदम पत्रद्वारा उनलाई सम्मान गरेका हुन् । गुरुङ्गले नवजीवन बाल संरक्षण केन्द्रको स्थापना गरी जोखिममा परेका र अभिभावक गुमाएका बालबालिकाहरूलाई संरक्षण दिएका छन् । उनीहरूलाई केन्द्रमा संरक्षण दिनुका साथै शिक्षा प्रदानमा समेत उनले सहयोग पु¥याउँदै आएका छन् । साझा वर्ष व्यक्ति सम्मानबाट सम्मानित भएपछि गुरुङ्गले यो सम्मानले आफूलाई थप हौसला र उत्प्रेरणा मिलेको बताए ।

सोही कार्यक्रममा वार्षिकोत्सवको अवसर पारेर साझा बिसौनी दैनिकले उत्कृष्ट कर्मचारी पुरस्कार पत्रिकाका बजार व्यवस्थापक भगीराम पाण्डेलाई प्रदान गरेको छ । यस्तै उत्कृष्ट ग्राहक सम्मानबाट हरियाली सञ्चार केन्द्रका सञ्चालक बस्नेत सिग्देल, उत्कृष्ट लेखक तथा स्तम्भकार सम्मानबाट हरि घिमिरे र उत्कृष्ट विज्ञापनदाता सम्मान साउथ एसियन स्कलार्स एकेडेमीलाई प्रदान गरिएको छ ।

प्रकाशित मितिः   ३० असार २०७४, शुक्रबार ११:१८