राजधानीको सम्भावना खोज्दै सुर्खेत

सुर्खेत, २८ असार ।
देशमा प्रादेशिक सीमांकनको विषयमा दलहरूबीच ठोस सहमति जुट्न सकेको छैन । अन्य प्रदेशमा जिल्लाहरू टुक्राउने र गाभ्ने विषयमा विवाद कायमै छ । तर सीमांकनको बेलामा निकै विवादित बनेको प्रदेश नम्बर ६ भने यतिबेला सम्भावनाको खोजी गर्नमा व्यस्त छ ।
आन्दोलनको बलमा स्थापित यो प्रदेशको नाम र राजधानीको विषयमा दलहरू पनि लगभग एकमत देखिएका छन् । प्रमुख दलहरू सकारात्मक भएसँगै सुर्खेतले प्रादेशिक राजधानीका लागि आवश्यक पर्ने पूर्वाधार र सम्भावनाहरूको खोजी पनि गर्न थालेको हो । प्रदेश सीमांकनको क्रममा दलहरूले कर्णालीका पाँच, भेरीका तीन र राप्तीका दुई जिल्लालाई सुदूरपश्चिममा गाभेर एउटा प्रदेश घोषणा गरे । मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम रहेको सुर्खेतले प्रदेशमा जाँदा पनि राजधानी पाउने सम्भावना देखेको थियो । त्यही सम्भावना गुम्ने खतरा देखेपछि छुट्टै प्रदेश माग्दै आन्दोलन चल्यो । त्यसैको विरोधमा २०७२ साउन २२ गते सुर्खेतबाट आन्दोलन सुरु भयो ।

उक्त आन्दोलनलाई कर्णालीले पनि साथ दियो । चार जनाको ज्यान जाने गरी १३ दिनसम्म चलेको आन्दोलनपछि अन्ततः सुदूरपश्चिममा गाभिएका १० वटा जिल्ला फिर्ता गरेर ६ नम्बर प्रदेश घोषणा भयो । छुट्टै प्रदेश घोषणा हुनुलाई नै सुर्खेत राजधानी बन्ने पहिलो आधार मानिएको छ । नाम र राजधानीको विषयमा विवाद नदेखिएपछि सुर्खेतले प्रादेशिक राजधानीका लागि आवश्यक सम्भावनाहरू खोज्न थालेको हो । भौगोलिक सुगमता, प्रशासनिक सहजता र आर्थिक सवलताका कारण पनि प्रदेशका अन्य जिल्लाहरू सुर्खेतलाई राजधानी स्वीकार्न तयार देखिन्छन् ।
प्रदेशका अन्य जिल्लाको यही मनोभावना बुझेको सुर्खेत यतिबेला प्रदेश राजधानीको दौडमा लम्किएको छ । सोही अनुसार नै वीरेन्द्रनगरमा भौतिक पूर्वाधार निर्माण र आधारहरू तयार पार्न थालिएको छ । वीरेन्द्रनगर अर्थात् सुर्खेतसँग कर्णालीको सामिप्यता छ । कर्णालीका अधिकांश बासिन्दा सुर्खेतमा पनि बसोबास गर्दछन् । यसकारण पनि उनीहरू सुर्खेतलाई राजधानीको रूपमा अस्वीकार गर्न सक्दैनन् । अन्य जिल्लाले नै चर्चा गर्न थालेपछि सुर्खेतले राजधानीका लागि थप आधारहरू निर्माण गर्न थालेको हो ।
निर्माण हुँदै पूर्वाधार
राजधानी बन्ने सम्भावना बढ्दै गएपछि वीरेन्द्रनगरमा आवश्यक पूर्वाधार निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगरस्थित धुलियाविटदेखि बाङ्गेसिमलसम्म करिब ६ किलोमिटर सडकलाई चारलेन बनाउने काम जारी छ । उपत्यकामा चक्रपथ निर्माणको प्रक्रिया पनि अगाडि बढेको छ । राजधानीका लागि आधार तयार गर्न भन्दै नगर क्षेत्रमा सीसी क्यामेरा र सोलार बत्ती जडान भएका छन् । सुविधा सम्पन्न सीटी बसपार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यस्तै मदानेचौरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया सुरु भएको छ ।
वीरेन्द्रनगरले यसअघि नगरपरिषद्बाटै राजधानी अनुकूलका योजनाहरू पारित गरेको छ । सोही अनुसार पूर्वाधार निर्माणको काम भइरहेको नगरपालिकाले जनाएको छ । राजधानी बनेपछिको खानेपानी संकट टार्न खरी र बोरीखोला आयोजना निर्माण भइरहेको छ । यस्तै नगरपालिकाले दमकल पनि भिœयाएको छ । पूर्वाधार भएमा राजधानी बनाउने आधार थप बलियो हुने बुझेका जिल्लाका दलहरूसमेत हौसिएका छन् । दलहरूले पनि वीरेन्द्रनगरलाई नमुना सहरको रूपमा विकास गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
राजधानीका लागि आवश्यक संरचनाहरू निर्माण गर्न जग्गाको अभाव हुन नदिन नगरपालिकाले अहिलेबाटै जग्गा खण्डीकरणमा रोक लगाएको छ । फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइड निर्माण भइरहेको छ । नगरका सबै सडकहरू कालोपत्रे गर्ने र सहरलाई आधुनिक प्रविधिमा जोड्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । यसले पनि सुर्खेतलाई राजधानी बनाउने बलियो आधार तयार पारिदिएको छ ।
औद्योगिक केन्द्र बन्दै
सुर्खेतले आर्थिक सम्भावनाहरूको पनि खोजी गर्न थालेको छ । हालसम्म आर्थिक रूपमा पिछडिएको यो प्रदेश अन्तर्गत कर्णालीमा अहिले पर्याप्त उत्पादन हुँदैन । बाहिरबाट आयात गरेर गुजरा टार्नुपर्ने बाध्यताबाट मुक्त हुँदै आर्थिक रूपमा सवल हुने उपायको खोजी भइरहेको छ ।
अन्य जिल्लाको तुलनामा केही सवल मानिएको सुर्खेतले नै समग्र प्रदेशको अर्थतन्त्रलाई थेग्नुपर्ने बाध्यता छ । यही बाध्यता बुझेको सुर्खेतले समग्र प्रदेशलाई नै थेग्नेगरी आर्थिक विकास र औद्योगीकरणको सम्भावना खोज्न थालेको हो । राजधानीको चर्चासँगै साटाखानीमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको प्रक्रिया अगाडि बढेको छ । पश्चिम नेपालकै सबैभन्दा ठूलो दावी गरिएको चौकुने सिमेन्ट उद्योग सञ्चालनको
काम सुरु भएको छ । कर्णालीमा पाइने जडिबुटी प्रशोधनका लागि सुर्खेतमा प्रशोधन केन्द्र स्थापना भएको छ । यस्तै वीरेन्द्रनगरमा बहुमूल्य रत्न पत्थर प्रशोधन उद्योग पनि सञ्चालनमा आएको छ ।
प्रदेशकै पहिलो शीत भण्डार पनि वीरेन्द्रनगरमा शिलान्यास भइसकेको छ । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारी भन्छन्, ‘सुर्खेत अब निर्विकल्प राजधानी हो, हामी अन्य जिल्लाभन्दा आर्थिक रूपमा पनि सक्षम छौं । भेरी–बबई र माथिल्लो कर्णाली जलविद्युत आयोजना सम्पन्न गरौं, यो प्रदेशले कसैसँग सहयोग माग्नु पर्दैन ।’ पछिल्लो समयमा वीरेन्द्रनगरमा तीन तारे होटलसमेत सञ्चालनमा आएका छन् । यसले पनि सुर्खेतलाई आर्थिक रूपमा राजधानीका लागि थप बल पुगेको छ ।
प्रशासनिक सहजता
प्रदेश राजधानीका लागि सुर्खेतले प्रशासनिक क्षेत्रमा धेरै लगानी गर्नुपर्ने देखिन्न । अहिले पनि मध्यपश्चिमको क्षेत्रीय सदरमुकाम भएकाले अधिकांश कार्यालयहरू वीरेन्द्रनगरमै छन् । अहिलेकै संरचनाहरूलाई भोली राजधानी हुँदा पनि प्रयोग गर्न सकिने भएकाले आर्थिक भार कम पर्ने देखिन्छ । राजधानीका लागि आवश्यक पर्ने प्रशासनिक पूर्वाधारहरू प्रदेशका अन्य जिल्लाको तुलनामा यहाँ बढी नै छन् । यिनै भौतिक संरचनाहरूलाई प्रयोग गर्न सकिने भएकाले पनि सुर्खेतमा राजधानी बनाउँदा यो प्रदेशले धैरै दुःख गर्नुपर्ने अवस्था छैन ।
भौगोलिक रूपमा अन्य जिल्लाको तुलनामा समथर, कर्णालीको प्रवेशद्वार र अहिलेका सरकारी संरचनाहरूका कारण पनि सुर्खेतमा राजधानीको सम्भावना बढी देख्न थालिएको हो । राजधानी भएको खण्डमा गठन हुने प्रदेश संसद र मन्त्रालयको व्यवस्थापनका लागि पनि चर्चा हुन थालेको छ । प्रादेशिक संसद, कार्यपालिका र न्यायपालिकाको संरचना निर्माणका लागि वीरेन्द्रनगरमा आवश्यक पर्ने स्थानको खोजी हुन थालेको छ । प्रदेश राजधानी भनेको मिनी काठमाडौं नै हो । त्यसका लागि पर्याप्त पूर्वाधार चाहिन्छ । त्यसका लागि अहिलेबाटै पहल हुन आवश्यक छ । प्रशासनिक सहजताका कारण पनि सुर्खेतमा नै राजधानी सम्भावना बलियो बन्दै गएको हो ।
स्वास्थ्य र शिक्षाका पूर्वाधार
मध्यपश्चिम विश्वविद्यालय र मध्यपश्चिम क्षेत्रीय अस्पतालले पनि सुर्खेतमा राजधानीका लागि बल पु¥याएका छन् । अर्कोतर्फ सरकारले नै सुर्खेतमा प्रादेशिक मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । मध्यपश्चिम विश्वविद्यालयको मातहतमा रहने गरी कलेज स्थापनाको आवश्यक प्रक्रिया बगाडि बढेको छ । यस्तै प्रदेशकै केन्द्रीय अस्पतालको रूपमा क्षेत्रीय अस्पताललाई विस्तार गर्न लागिएको छ । अस्पतालमा साढे तीन सय शैया विस्तार गर्नका लागि काम भइरहेको छ ।
राजधानीका लागि सुर्खेतले स्वास्थ्यमा समेत सुधार गर्न थालेको हो । जिल्लामा निजी अस्पतालहरू पनि स्थापना भइरहेका छन् । शिक्षाको विकासमा पनि विस्तारै जिल्लाले फड्को मार्न थालेको छ । प्रदेशमा एउटा मात्र विश्वविद्यालय वीरेन्द्रनगरमा हुनुले पनि राजधानी बन्ने बलियो आधार भएको छ । सिटामोलसमेत नपाएर अकालमा बिरामीले ज्यान गुमाउनुपर्ने र उच्च शिक्षाका लागि काठमाडौं नै धाउनुपर्ने बाध्यतालाई पछिल्लो समय सुर्खेतले रोक्न थालेको छ । स्वास्थ्य र शिक्षामा अब्बल बन्दै जानुले पनि प्रादेशिक राजधानीका लागि सुर्खेतको सम्भावना बढ्दै गएको छ ।
नेतृत्व सकारात्मक
प्रमुख दलहरूसमेत यो प्रदेशको नाम र राजधानीको विषयमा एकमत हुनुले पनि सुर्खेतलाई यो दौडमा सहज भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश कमिटीले प्रदेशको नाम कर्णाली र राजधानी सुर्खेतलाई बनाउने औपचारिक निर्णय गरिसकेका छन् । कांग्रेसले औपचारिक निर्णय नगरे पनि यसमा सहमत नै देखिन्छ । प्रदेशका बहुमत जिल्लाहरूले सुर्खेतलाई सम्भावित राजधानीको रूपमा स्वीकार गरिरहँदा जुम्लाले भने राजधानीको दाबी गरेको छ । यद्यपि कर्णालीका अन्य चार जिल्ला नै सुर्खेतको पक्षमा उभिएका छन् ।
मुगुका सांसद मोहन बानियाँ भन्छन्, ‘राजधानीका लागि भौतिक संरचना र पर्याप्त भूगोल चाहिन्छ, जुम्लामा त्यो सम्भावना छैन । सबै हिसाबले सुर्खेत नै राजधानीका लागि उपयुक्त छ, सुर्खेतको विकल्प खोज्नु हुँदैन ।’ प्रदेशको नाम कर्णाली राख्नुपर्ने र राजधानी सुर्खेत बनाउँदा सबैलाई न्याय हुने उनको भनाइ छ । ठूला दलहरू प्रदेशको सुर्खेतलाई राजधानी बनाउने र कर्णालीलाई विशेष अधिकार दिएर मनाउने मनस्थितिमा छन् । प्रदेशको नाम कर्णाली राखेको खण्डमा जुम्ला पनि लचिलो हुने देखिन्छ । यही बुझाइका आधारमा प्रदेशको नाम कर्णाली राखेर भए पनि राजधानी सुर्खेतमा स्थापना गर्ने विषयमा यो प्रदेशका दलहरू एकमत देखिन्छन् ।
सडक सञ्जालको केन्द्र
सडक सञ्जालको हिसाबले सुर्खेत यो प्रदेशको केन्द्र बनेको छ । सुर्खेतबाट कर्णालीलाई जोड्ने कर्णाली राजमार्ग र जाजरकोट, रुकुम र डोल्पालाई जोड्ने भेरी करिडोरका कारण पनि सुर्खेत केन्द्रमा परेको छ । प्रदेशका सबै जिल्लालाई जोड्ने सडकहरू सुर्खेतबाटै सुरु भएका छन् । प्रदेशकै प्रवेशद्वार भएका कारण पनि सुर्खेतलाई प्रादेशिक राजधानी बनाउनुपर्ने आवाज बलियो बन्दै गएको हो । सडक सञ्जालको केन्द्रमा भएका कारण पनि सुर्खेतमा राजधानी हुँदा सहज हुने सर्वसाधारणको बुझाइ छ । कर्णालीबाट उत्पादित वस्तुहरू निर्यात गर्न र प्रदेशका अन्य जिल्लामा आयात गर्नका लागि पनि सहज हुने देखिन्छ । राजधानीको चर्चा र सडक सञ्जालको केन्द्रविन्दु भएकै कारण पछिल्लो समय सुर्खेतमा घडेरी खरिद गर्नेहरूको संख्या पनि बढ्दै गएको छ । यस्तै घर निर्माणको क्रम पनि एकाएक बढेको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ ।
भाग्यमानी वीरेन्द्रनगर
प्रादेशिक राजधानीको चर्चा बटुलेको वीरेन्द्रनगरको इतिहास त्यति लामो छैन । २०२३ सालसम्म यहाँ बस्ती नै थिएन । औलो लाग्ने त्रासले मानव बस्ती बसेको थिएन । सरकारले २०१९ सालमा औलोमुक्त घोषणा गरेपछि मात्र २०२३ सालपछि विस्तारै वीरेन्द्रनगरमा बस्ती विस्तार भएको हो । त्यसअघि जिल्लाको सदरमुकाम पनि गढीमा थियो । मानवबस्ती विस्तार भएपछि मात्र सदरमुकाम पनि वीरेन्द्रनगरमा सारिएको थियो ।
तत्कालीन राजा वीरेन्द्रको पालामा २०३७ सालमा वीरेन्द्रनगरलाई मध्यपश्चिम विकास क्षेत्रको सदरमुकाम तोकियो । यद्यपि क्षेत्रीय सदरमुकामका लागि नेपालगन्ज र सुर्खेतबीच तानातान थियो । तर राजा वीरेन्द्रले वीरेन्द्रनगरलाई नै सदरमुकाम तोकेका थिए । अहिले पनि भौतिक पूर्वाधार र सुगमताका आधारमा वीरेन्द्रनगरले राजधानी पाउनेमा दुईमत छैन । ‘सुदूरपश्चिममा गाभिएको भए त कम सम्भावना थियो, तर अब सुर्खेतलाई राजधानी हुनबाट कसैले रोक्न सक्दैन’ मध्यपश्चिम विश्व–विद्यालयका उपप्राध्यापक तेजविक्रम बस्नेत भन्छन्, ‘वीरेन्द्रनगर भाग्यभानी नै हो, गुमेको अस्तित्व पनि फिर्ता पायो ।’

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:२१