खड्का र लम्साल डीन नियुक्त

सुर्खेत, २८ चैत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा रिक्त रहेको सङ्कायका डिन नियुक्त गरिएको छ । बिज्ञान तथा प्रविधि सङ्कायको डीनमा त्रिभुवन विश्वविद्यालय, केन्द्रीय रसायनशास्त्र विभागका प्राध्यापक प्रा. डा. देब बहादुर खड्का र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय नेपाली विषयका सह प्राध्यापक खोपिराम लम्साललाइ नियुक्त गरिएको हो । 
दुवै डिनलाइ सोमवार नै स्वागत गरी जिम्मेवारी हस्तान्तरण गरिएको छ । कार्यक्रममा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा, उपेन्द्र कुमार कोइरालाले विश्वविद्यालय निर्माण गर्ने अभियानमा विश्वविद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरू उपकुलपति सरह नै भएको हुनाले जिम्मेवार हुनुपर्ने भन्दै विश्वविद्यालयको शैक्षिक प्राज्ञिक र प्रशासनिक विकास र विस्तारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव र दक्षता प्राप्त डीनद्वयको नियुक्तिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास ब्यक्त गरे । त्यसैगरी रजिष्ट्रार डा .महेन्द्र कुमार मल्लले विश्वविद्यालयको शैक्षिक प्राज्ञिक उन्नयनमा २७ बर्ष देखि यस क्षेत्रको उच्च शिक्षामा क्रियाशील बहुआयामिक व्यक्तित्व खोपिराम लम्साल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको विज्ञता प्राप्त व्यक्तित्व प्रा.डा. देब बहादुर खडकाले यस विश्वविद्यालयको विकास र विस्तारमा योगदान रहने चर्चा गरे ।
 त्यसैगरी नवनियुक्त बिज्ञान तथा प्राविधि सङ्कायका डीन प्रा. डा. देब बहादुर खड्काले यस क्षेत्रको विज्ञान तथा प्रविधिको विकासमा उच्च शिक्षा मार्फत अगाडी बढाउन लागि पर्ने प्रतिबद्धता व्यक्त गर्दै अवसरका लागि धन्यवाद समेत दिए । नव नियुक्त मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन सहप्राध्यापक खोपिराम लम्सालले विश्वविद्यालयको स्थापना कालदेखि हालसम्म निरन्तर रुपमा हरेक अभियानमा सामेल भएको अनुभवलाई समेत उपयोग गरी विश्वविद्यालयलाई प्राज्ञिक र प्रशासनिक रुपमा विधि र प्रक्रिया सम्मत तरिकाले अगाडी बढाउने बताए । 
कार्यक्रममा अवसरमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय, इन्जिनियरिङ सङ्कायका डीन प्रा.ई. रामचन्द्र आर्याल, मानविकी तथा सामाजिक शाश्त्र सङ्कायका पुर्व डीन गणेश बहादुर कार्की लागयतकाले शुभकामना मन्तव्य राखेका थिए |