सङ्कटको सङ्केत

कर्णाली अञ्चलवासीले विगतदेखि नै भोकमरीसँग जुध्दै आएका छन् । खाद्यन्न सङ्कटको दीर्घकालीन समाधानमा कुनै ठोस पहल नहुँदा उनीहरूका लागि यो सबैभन्दा ठूलो समस्या बन्ने गरेको छ । यस पटकको खडेरीले उनीहरूले थप कष्टपूर्ण बनाएको छ । लामो खडेरीका कारण पुस्तौंदेखि प्रयोग गर्दै आएको पानीको मूल नै सुकेपछि कर्णालीलगायत मध्यपश्चिमका बासिन्दालाई खाद्यन्न सङ्कटसँगै पिउने पानीको समेत पिरलो हुन थालेको छ । कहिल्यै नसुकेको पानीको मुहान पनि यसपटक सुकेपछि गाउँ नै काकाकुल भएको छ, जसका कारण स्थानीय बासिन्दाले पालो लगाएर प्रत्येक घरलाई एक गाग्री पानी भाग लगाउन थालेका छन् । त्यत्तिका लागि पनि स्थानीय बासिन्दाले रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । खानेकुराको अभाव भए त ज्यालादारी नै गरेर भए पनि किनेर खान सकिन्छ तर पानीको जोहो कसरी गर्ने भन्ने चिन्ताले स्थानीयलाई धेरै नै पिरोलेको छ । त्यसैले त भोकमरी परेको भन्दा पनि पानीको सङ्कट ज्यादा छ । लामो खडेरीले गर्दा परम्परागत पानीका मुहान सुकेपछि यतिखेर कर्णालीलगायत मध्यपश्चिमका कतिपय बासिन्दासमक्ष गाउँ नै छाडेर हिँड्नुपर्ने बाध्यता आइलागेको छ । 
समुद्र सतहदेखि करिब २९ सय मिटर उचाइमा रहेको पर्यटकीयस्थल रारा तालमा मिसिने करिब ६२ वटा पानीका मुहान यतिखेर खडेरीले सुकेपछि ताल नै आधा मिटर घटेको छ । मुगुमा मात्र २४ गाविसमा करिब दुई सय पानीका मुहान सुकेका छन् । मुगुमात्र नभएर अधिकांश जिल्लाहरूको अवस्था उस्तै छ । यसरी खडेरीका कारण त्यसको असर मानव, चौपाया, वन्यजन्तु र चराचुरुंगीलाई समेत परेको छ । त्यतिमात्र होइन, सरकारी तथा गैरसरकारी स्तरबाट निर्माणाधीन खानेपानी आयोजनासमेत प्रभावित भएका छन् । कतिसम्म भने निर्माणको तयारीमा रहेका कतिपय आयोजना त यतिखेर रोक्नुपर्ने अवस्था आएको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायले बनाइदिएको कलधारा प्रयोगविहीन छन् । मूलमा पानी नै सुकेपछि कलधाराहरू प्रयोगविहीन भएका हुन् । खडेरीको प्रभाव विद्युत उत्पादनमा पनि देखिएको छ । खोला सुकेकाले स्थानीय साना जलविद्युत योजनाको विद्युत उत्पादन अत्यधिक मात्रामा घटेको छ । हुम्ला सदरमुकामलगायत ६ गाविसका बासिन्दाका लागि विद्यु्त आपूर्ति गर्दै आएको हिल्दुम साना विद्युत आयोजनाबाट अघिल्ला वर्ष ५ सय किलोवाट उत्पादन हुँदै आएकोमा अहिले त्यसको उत्पादन दुई सय ५० किलोवाटमा सीमित भएको छ । त्यसैका कारण यतिखेर हुम्ला सदरमुकाम सिमकोटलगायतका बासिन्दा दैनिक २० घण्टाको लोडसेडिङ्गको मारमा परेका छन् । सदरमुकाम सिमकोटमा खानेपानी उपलब्ध गराएको हुमाने खोला सुकेकाले बुराउसे खोलाबाट पानी ल्याएर पुरानो मुहानमा मिसाइ वितरण गर्ने काम गरिएको छ । उता जुम्ला सदरमुकाम खलङ्गामा पनि खानेपानीको हाहाकार हुन थालिसकेको छ । मुहान सुकेपछि किसानले गाईवस्तु चराउन लैजान छाडेका छन् ।
यसै त खाद्य सङ्कट रहेका कर्णालीका जिल्लाहरूमा खडेरीका कारण चरम खाद्य सङ्कट देखिएको छ । कर्णाली क्षेत्रमा खाद्यन्नको माग गत वर्षभन्दा ९० प्रतिशतले बढ्नुले पनि यही कुरालाई सङ्केत गर्छ । र, यो माग अझै बढ्दै जाने देखिन्छ । यस्तो अवस्थामा सरकारले तत्कालका लागि खडेरी प्रभावित जिल्लाको सूची र कार्ययोजना बनाएर प्रभावित जिल्लामा खाद्यन्न ढुवानी गर्न आवश्यक छ । त्यसैले दीर्घकालीन हिसाबमा भने पानीको व्यवस्थापनमा नै ध्यान दिन जरुरी छ । सरकारले घोषणा गरेको ‘एक गाउँ, एक पोखरी’ राजनीतिक रूपले राम्रो सुनिए पनि त्यो पर्याप्त छैन । सरकारको यस्तो नीतिको कार्यान्वयन त आवश्यक छ नै, साथै वर्षात्मा परेको पानी नै मुख्य स्रोत भएकाले त्यस्तो पानीलाई त्यही क्षेत्रमा उपयोग गरेर जमिनलाई ओसिलो अवस्थामा राख्ने कार्यक्रमहरू ल्याउनु अहिलेको आवश्यकता हो ।
प्रकाशित मितिः   २८ चैत्र २०७२, आईतवार १०:४७