प्रदेशको केन्द्र आधुनिक वीरेन्द्रनगर

पृष्ठभूमि
जनसंख्याको हिसाबले प्रदेश नम्बर ६ को सबैभन्दा ठूलो नगरपालिका हो, वीरेन्द्रनगर । यो सुर्खेत जिल्लाको मध्य भागमा अवस्थित छ । यस नगरपालिकाको उत्तरमा दैलेख जिल्ला, पश्चिममा बराहताल गाँउपालिका, दक्षिणमा भेरीगंगा नगरपालिका तथा पूर्वमा लेकवेशी नगरपालिका र चिङ्गाड गाउँपालिका रहेका छन् । यस नगरपालिकाको कूल जनसंख्या एक लाख चार सय ५८ पुगेको छ । कूल २४४.९ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यस नगरपालिका शैक्षिक, आर्थिक तथा राजनैतिक दृष्टिकोणले प्रदेश नम्बर ६ को केन्द्रको रूपमा विकास भइरहेको छ । सुर्खेत जिल्लाको सबैभन्दा कम करिब १४ प्रतिशतमात्र गरिबी दर रहेको वीरेन्द्रनगर नगरपालिकाले १७ हजार सात सय ३७.६ हेक्टर वनक्षेत्र ओगटेको छ । कूल १६ वटा वडा रहेको यस नगरपालिकामा भर्खरै सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित एक प्रमुख, एक उपप्रमुख, १६ वडाअध्यक्ष र अन्य सदस्य सहित कूल ८२ निर्वाचित जनप्रतिनिधि छन् ।
प्रादेशिक राजधानीको पूर्व तयारी
राजनीतिक दलहरूले संविधान निर्माण गर्ने क्रममा २०७३ को सुरुवातमा ६ वटा प्रदेशहरूसहितको संघीय संरचनामा सहमति गर्नासाथ त्यसमा गम्भीर असहमति जनाउँदै मध्यपश्चिम क्षेत्रमा ठूलो आन्दोलन भयो । त्यो आन्दोलनको नेतृत्व सुर्खेतले ग¥यो भने आन्दोलन यही वीरेन्द्रनगर नगरपालिकामा केन्द्रित बन्यो । सुर्खेतको आन्दोलन चर्किदैं गएपछि दलहरू एक कदम पछाडि हटी अर्को नयाँ प्रदेश पनि बनाए । त्यो आन्दोलनका दुई वटा मागमध्ये कुनै पनि पूर्णरूपमा पूरा भएका होइनन् । तर प्रदेश नम्बर ६ को राजधानी सुर्खेत हुने आश्वासन र प्रदेशको संरचना हेरेर सुर्खेत नै राजधानी हुने विश्वासमा आन्दोलन सकियो । त्यो माग हुवहु पुरा भएको अवस्थामा सुर्खेतको सदरमुकाम, मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेतको सबैभन्दा धेरै जनसंख्या भएको वीरेन्द्रनगर नगरपालिका नै प्रदेश नम्बर ६ को राजधानी हुनेछ । अब वीरेन्द्रनगरको नेतृत्वले प्रदेश राजधानीका लागि परिकल्पना गर्नुपर्ने बेला आएको छ । यसका लागि नगरपालिकाको नेतृत्वले वीरेन्द्रनगरलाई राजधानी सहरको रूपमा विकास गर्दै आधुनिक सहर निर्माणको गुरुयोजना बनाउन आवश्यक छ । स्मार्ट सीटीको रूपमा विकास गर्दै वीरेन्द्रनगरलाई प्रादेशिक राजधानी सहरको रूपमा विकास गर्नुपर्ने हुन्छ ।
राजधानी बनेपछिका सम्भावनाहरू
प्रदेशको राजधानी भएसँगै विभिन्न सरकारी निकाय, अर्धसरकारी निकाय, निजी क्षेत्र, मिडिया, राजनैतिक दलहरू लगायतका प्रदेशस्तरीय कार्यालय यही वीरेन्द्रनगरमा स्थापना हुनेछन् । प्रदेश संसद, मुख्यमन्त्रीको कार्यालय, अन्य प्रदेशस्तरीय मन्त्रालय, संवैधानिक निकायहरूका प्रदेश कार्यालय लगायत सम्पूर्ण कार्यालय यहीं स्थापना भएको हुनाले वीरेन्द्रनगर सरकारी कार्यालयहरूले भरिने छ । यसबाट रोजगारी सिर्जनामा सकारात्मक योगदान त पुग्ने नै छ, वीरेन्द्रनगर बृहत बजारको रूपमा पनि विकास हुनेछ ।
शैक्षिक केन्द्र
यहाँका बासिन्दाहरूको अथक प्रयासमा सुर्खेतमा मध्यपश्चिम विश्वविद्यालय स्थापना भयो । स्थापना भएका सुरुका वर्षहरूमा खासै प्रगति उन्मूख नदेखिएको विश्वविद्यालय समय समयमा विभिन्न विवादमा तानिएको छ । एउटा शैक्षिक केन्द्रको रूपमा रहेका विश्वविद्यालयलाई राजनैतिक दलहरूले आफ्नो प्रतिष्ठाका विषय बनाउन खोज्दा विश्वविद्यालयको जति उन्नयन र विकास हुनुपर्ने हो, त्यस्तो नदेखिए पनि पछिल्लो समयमा विश्वविद्यालयले फड्को मार्दै गएको छ । केही दिन अघि मात्र विश्वविद्यालयका कुलपतिको उपस्थितिमा विश्वविद्यालयको प्रथम दिक्षान्त समारोह यही सम्पन्न भयो । वीरेन्द्रननगर मै विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन निर्माण भइरहेको छ । विश्वविद्यालयले अन्य क्याम्पस कलेजहरूलाई सम्बन्धन दिने प्रक्रिया पनि सुरु भएको छ । यसरी विश्वविद्यालयले एउटा गति लिदैं गइरहेको छ र विश्वविद्यालयको गती वीरेन्द्रनगर नगरपालिकाको गतिसँग जोडिन्छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय तथा केन्द्रीय क्याम्पस दुवै वीरेन्द्रनगर नगरपालिका मै पर्छन् । इन्जिनियरिङ्ग संकायको लागि बनिरहेको भवन पनि यही नगरपालिकाभित्र पर्छ । भनिन्छ विश्वविद्यालय आफैमा एउटा समाज हो । देशका विभिन्न क्षेत्रबाट उच्चशिक्षा अध्ययनका लागि विश्वविद्यालयमा विद्यार्थीहरू आउँछन् । यही वीरेन्द्रनगरका स्थानीयले पनि उच्चशिक्षाका लागि बाहिर जानुपरेको छ । घर भाडामा दिएर अर्थाेपार्जन गर्ने वीरेन्द्रनगरबासीका लागि विश्वविद्यालय वरदान सावित भएको छ ।
विश्वविद्यालयकै कारण यहाँको बजारको सम्भावना पनि देखिन्छ । वीरेन्द्रनगर नगरपालिकाका साथै मुलुकलाई आवश्यक सक्षम नेतृत्व दिनसक्ने र वीरेन्द्रनगर नगरपालिकालाई योजनासहित अगाडि बढाउन सक्ने नेतृत्व यही विश्वविद्यालयबाट उत्पादन हुनेछन् । विश्वविद्यालयमात्र होइन, यही वीरेन्द्रनगर नगरपालिकामा त्रिभुवन विश्वविद्यालयको एक महŒवपूर्ण आंगिक क्याम्पस सुर्खेत क्याम्पस (शिक्षा) सञ्चालनमा छ । त्रिभुवन विश्वविद्यालयका सम्बन्धन दिएका आधा दर्जन निजी क्याम्पसहरू यही वीरेन्द्रनगरमा सञ्चालनमा छन् । विभिन्न प्राविधिक शिक्षा अध्ययन गराउनका लागि दर्जन बढी कलेजहरू यही वीरेन्द्रनगर नगरपालिकामा सञ्चालित छन् । यसरी वीरेन्द्रनगर नगरपालिका सुर्खेत जिल्ला मात्र नभएर प्रदेश नम्बर ६ कै शैक्षिक केन्द्रको रूपमा विकास हुने निश्चित छ ।
पर्यटनको प्रचूर सम्भावना
पर्यटकीय दृष्टिकोणले समेत वीरेन्द्रनगर महŒवपूर्ण छ । हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र देउतीबज्यै मन्दिर यही नगरपालिकामा छ । बौद्ध धर्मावलम्बी र हिन्दु धर्मावलम्बी दुवैलाई जोड्न सक्ने, दोस्रो लुम्बिनीको रूपमा परिचित काँक्रेविहार यही नगरपालिकाभित्र छ भने चर्चित बुलबुले ताल पनि यही छ । यी तीन पर्यटकीय स्थान प्रदेश नम्बर ६ कै चर्चित पर्यटकीय स्थलहरू हुन । वीरेन्द्रनगरमा अवस्थित यी स्थान त छँदैछन्, यस प्रदेशका र देशकै चर्चित पर्यटकीय केन्द्रमा जाने मार्गको रूपमा पनि वीरेन्द्रनगर रहेको छ । देशकै ठूलो ताल रारा, गहिरो ताल से–फोक्सुण्डो, नेपाली भाषाको उद्गमस्थल जुम्लाको सिँजा र तिब्बतको मानसरोवरसम्म पुग्ने प्रवेशद्वारको रूपमा वीरेन्द्रनगरको प्रयोग गरिन्छ । कर्णाली क्षेत्रका यी पर्यटकीय क्षेत्रमा पर्यटकीय गतिविधि बढ्नासाथ त्यसको लाभ वीरेन्द्रनगर नगरपालिकाले लिन सक्नेछ ।
व्यापारिक केन्द्रको सम्भावना
पर्यटकीय सम्भावनाको केन्द्र त हो नै, व्यापारिक गतिविधिमा समेत यस वीरेन्द्रनगर नगरपालिकाले प्रदेश नम्वर ६ को नेतृत्व गर्नेछ । ६ नम्बर प्रदेशका अधिकांश जिल्लाको प्रवेशद्वार यही वीरेन्द्रनगर हो । प्रदेशका अन्य स्थानीय तह भन्दा भौगोलिक भू–वनोट मिलेको र सबै पूर्वाधारहरू पुगेको हुनाले पनि वीरेन्द्रनगर व्यापारिक केन्द्रको रूपमा उदाउने प्रचूर सम्भावना छ ।
वीरेन्द्रनगरमा औद्योगिक क्षेत्र स्थापना गरिएको छ । सरकारले अब हरेक प्रदेश सदरमुकाममा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेको छ । प्रदेश ६ को राजधानी सुर्खेत बनेको खण्डमा त्यसको केन्द्र वीरेन्द्रनगर नै हुनेछ । प्रदेशस्तरीय औद्योगिक क्षेत्र पनि यहीं नै स्थापना हुनेछ । यसले यहाँको औद्योगिक विकास गरी आर्थिक समृद्धिको ढोका खोल्नेछ ।
स्थानीय सरकारसँग अपेक्षा
जिल्ला प्राविधिक कार्यालयका अवकाश प्राप्त इन्जिनियर ओमदत्त रेग्मी वीरेन्द्रनगरको सम्भावना नवनिर्वाचित जनप्रतिनिधिले लिने रणनीतिक निर्णयमा भरपर्ने बताउँछन् । ‘शिक्षा, स्वास्थ्य, वन, रोजगार, कृषि जस्ता विषयमा नगरपालिकाले छुट्टाछुट्टै गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ’ उनले भने । वीरेन्द्रनगरको वडा नम्बर १३, १४, १५ र १६ जो भौगोलिक र अन्य सामाजिक आर्थिक रूपमा कमजोर छ त्यो क्षेत्रलाई केन्द्रिकृत गरेर कार्यक्रमहरू बनाउनुपर्ने उनको तर्क छ । यस्तै नगरपालिकाको उत्तरी जलाधार क्षेत्रमा वीरेन्द्रनगरको समृद्धिको सम्भावना जोडिएको उनी बताउँछन् ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:१७