आँगनमै सिंहदरबार

पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर आफ्नो नीति तथा कार्यक्रम तयार पा¥यो । योजना छनौटमा भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ, सोही अनुसारको बजेट विनियोजन गरिएको छ ।
यस्तै पश्चिममा पर्ने बराहताल गाउँपालिकाको योजना छनौटको प्राथमिकतामा पनि भौतिक पूर्वाधार निर्माण नै परे । पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर उक्त गाउँपालिकाले बजेट बाँडफाँड गरेको छ ।
सिम्ता र बराहताल त उदाहरण मात्रै हुन् । गत वैशाख ३१ गते सम्पन्न निर्वाचनबाट स्थानीय तह सञ्चालनको जिम्मेवारी आफ्नो काँधमा लिएसँगै यहाँका जनप्रतिनिधिहरू आफ्नो गाउँ र नगरपालिकाको विकासमा केन्द्रित छन् । निर्वाचन अघि उनीहरूका घोषणापत्रको अध्ययन र निर्वाचित भइसकेपछि उनीहरूको योजना सुन्दा यहाँका सबै जनप्रतिनिधिहरूको प्राथमिकता विकास निर्माण भएको सहजै बुझ्न सकिन्छ । पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर उनीहरू आगामी आर्थिक वर्ष २०७४÷०७५ को योजना निर्माणमा व्यस्त छन् ।
राजनीतिक तथा सामाजिक परिवर्तनले विभिन्न चरणहरू पार गरिसक्दा पनि विकासमा पछि परेका कारण जनप्रतिनिधिहरू पूर्वाधार निर्माणमा केन्द्रित भएको देखिन्छ । सुर्खेतका नौ वटै स्थानीयतहका प्रतिनिधिहरू आफ्नो गाउँ÷नगरलाई समृद्ध र नमुना बनाउने प्रतिबद्धताका साथ काम गरिरहेका छन् । यसले आम नागरिकमा पनि समृद्ध गाउँ तथा नगर बन्ने आशाको सञ्चार गराएको छ ।
सुर्खेतका नौ वटै स्थानीय तहका आ–आफ्नै विशेषता छन् । भौगोलिक विकटताकाबीच पनि ती स्थानीय तहमा प्रशस्त सम्भावनाहरू छन् । तिनै सम्भावनाहरूलाई अवसरको रूपमा बदल्नुपर्ने जिम्मेवारी स्थानीय सरकार र निर्वाचित जनप्रतिनिधिहरूको काँधमा छ । यही जिम्मेवारीको बोध गराउन साझा बिसौनी दैनिकले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा जिल्लाका नौ वटै स्थानीय तहलाई समृद्ध बनाउन त्यहाँ उपलब्ध स्रोत तथा आवश्यक पूर्वाधारहरूको पहिचान गरी ‘पूर्वाधार’ विशेषांक प्रकाशन गरेको छ । यसमा यहाँका नौ वटै स्थानीय तहका प्रमुख पूर्वाधारहरू केलाइएको छ, जुन पूर्वाधारहरूको विकासले ती स्थानीय तहलाई समृद्ध बनाउनेछन् ।
सुर्खेत प्रदेश नम्बर ६ को सम्भावित राजधानी हो । अहिलेसम्मका सबै सम्भावनाहरूलाई केलाउने हो भने सुर्खेत नै प्रदेशको राजधानी बन्नेछ । सुर्खेत प्रदेशको राजधानी हुँदा त्यसको केन्द्र वीरेन्द्रनगर हुन्छ । राजधानी बन्नु मात्रैले यसलाई समृद्ध बनाउँदैन त्यसका लागि केही पूर्वाधारहरूको विकासमा ध्यानदिन उत्तिकै जरुरी हुन्छ । प्रदेशको केन्द्रको रूपमा रहेको वीरेन्द्रनगर शैक्षिक, प्रशासनिक र पर्यटकीय केन्द्रको रूपमा स्थापित हुने प्रचूर सम्भावना छ ।
भेरीगंगा नगरपालिका जहाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन भइरहेको छ । यो विमानस्थल निर्माणले भेरीगंगा नगरपालिकामात्र नभएर सुर्खेत जिल्ला र समग्र प्रदेश नम्बर ६ कै समृद्धिमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्दछ । गुर्भाकोट नगरपालिकाभित्र पर्ने भेरी नदी किनारमा ‘स्मार्ट सीटी’ निर्माणको योजना यहाँको समृद्धिको महŒवपूर्ण पूर्वाधार हो । यसका साथै जलपर्यटन र कृषि उत्पादन गुर्भाकोटका सम्पत्ति हुन् । तिनको सदुपयोगले उक्त नगरपालिकालाई आर्थिक रूपमा सवल र समृद्ध बनाउने छ ।
जिल्लाको सबैभन्दा पश्चिममा रहेको चौकुने गाउँपालिकामा निर्माण हुने चौकुने सिमेन्ट उद्योग, लेकवेशी नगरपालिकामा सडक सञ्जालको आवश्यकता, चिङ्गाड गाउँपालिकामा कृषि र पर्यटनको सम्भावना, क्षेत्र नम्बर तीनको एक मात्र नगरपालिका पञ्चपुरीमा रहेका प्राकृतिक स्रोतहरूको भण्डार, बराहताल गाउँपालिकामा कृषि र पशुपालनको सम्भावना, सिम्ताको कला–संस्कृति र पर्यटन लगायतका पूर्वाधारहरू नै उल्लेखित स्थानीय तहलाई समृद्ध बनाउने प्रमुख आधारहरू हुन् । जसलाई हामीले यस विशेषांकमा प्राथमिकताका साथ विस्तृत रूपमा समेटेका छौं ।
समृद्ध स्थानीय तह बनाउन सडक, विद्युत, शिक्षा, खानेपानी, सञ्चार, स्वास्थ्य, भवन निर्माण लगायतका थुप्रै पूर्वाधारहरूको आवश्यकता पर्दछ । ती पूर्वाधारहरूको निर्माण नै स्थानीय सरकारका प्राथमिकता हुन् । स्थानीय तहलाई स्वायत्त स्थानीय सरकारका रूपमा काम गर्न पर्याप्त हुने गरी संवैधानिक अधिकार दिइएको छ । सिंहदरवारमा केन्द्रित अधिकार विकेन्द्रीकरण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । स्थानीय तहहरूको विकास र समृद्धिको भविष्य अब स्थानीय सरकारको नीति र योजनामा निर्भर हुनेछन् । केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ । त्यसैले यस विशेषांकमा उल्लेखित पूर्वाधारहरूको निर्माण र विकासले समग्र सुर्खेत जिल्लाको उज्वल भविष्य निर्माण हुनेमा हामी विश्वस्त छौं ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:१८