विमानस्थलसँग जोडिएको भेरीगंगाको समृद्धि
भेरीगंगा नगरपालिकामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चर्चा चलेदेखि नै अत्याधिक खुशी हुने मध्येका एक हुन् नन्दबहादुर अधिकारी । पहिलो चरणको सम्भाव्यता अध्ययन सुरु हुँदा उनको मनमा भने ‘खुशीका जहाज’ हरू उड्न थालिसकेका थिए, समृद्धिको सपना बोकेर । उनी यस विमानस्थललाई भेरीगंगा नगरपालिकाको समृद्धिको पहिलो आधार मान्छन् ।
पहिलो पूर्वाधारः विमानस्थल
भेरीगंगा नगरपालिका प्रदेश नम्बर ६ को प्रवेशद्वार हो । यसको प्रत्यक्ष लाभ उक्त नगरपालिकाले लिन सक्दछ । छिन्चु नजिकैको न्याउलीचौरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि उक्त लाभ दोब्बर हुनेछ । त्यसैले पनि न्याउलीचौरमा निर्माण हुने भनिएको विमानस्थल समृद्ध भेरीगंगा निर्माणको पहिलो र प्रमुख पूर्वाधार हो ।
विमानस्थल निर्माणको टुङ्गो लागिसकेको छैन । सम्भाव्यता अध्ययन भने भएको छ । तर यहाँका नागरिक भने विमानस्थलमा समृद्धिको उडान भर्न थालिसकेका छन् । ‘यो विमानस्थल हाम्रो भाग्य र भविष्य पनि हो, बन्यो भने भेरीगंगा नगरपालिकाको मुहार फेरिनेछ । विकासले फड्को मार्ने छ’ अधिकारीले साझा बिसौनीसँग भने । उद्योग वाणिज्य संघ भेरीका अध्यक्षसमेत रहेका छिन्चु निवासी नन्दबहादुर मात्रै होइन न्याउलीचौरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययन सुरु भएसँगै यस क्षेत्रका सबै नागरिकमा खुशीयाली छाएको छ । विमानस्थल निर्माणले पूर्वी सुर्खेतको विकासले फड्को मार्ने विश्वास स्थानीयबासीको छ । ‘विमानस्थल विकासको प्रमुख आधार मध्येको एक हो’ उद्योग वाणिज्य संघ भेरी, अध्यक्ष अधिकारीले भने, ‘बन्न लागेको विमानस्थल यहाँका नागरिकको जीवनस्तरमा सुधार ल्याउने आधार पनि हो ।’
विमानस्थल निर्माणले हुने फाइदा थुप्रै छन् । सबैभन्दा पहिलो फाइदा त काठमाडौं जानुपर्दा जहाज चढ्न नेपालगन्ज पुग्नुपर्ने बाध्यताको अन्त्य हुनेछ । किनभने वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलमा ठूला जहाज सञ्चालन हुन नसक्दा काठमाडौं जानका लागि नेपालगन्जको राँझा विमानस्थल पुग्नुको विकल्प यस क्षेत्रका नागरिकसँग छैन । दोस्रो, हिमाली क्षेत्रको जडिबुटी निर्यातमा सहज हुनेछ । तेस्रो, यस क्षेत्रका नागरिकले पर्याप्त मात्रामा रोजगारीको अवसर प्राप्त गर्नेछन् । ‘यतिमात्र होइन, यहाँको व्यापार व्यवसायमा वृद्धि भइ स्थानीय नागरिकको जीवनस्तरमा समेत सुधार आउनेछ’ अधिकारीले भने ।
जिल्ला सदरमुकाममै रहेको विमानस्थलको विकल्प स्वरूप छिन्चु र रामघाटको बीचमा पर्ने न्याउलीचौरमा विमानस्थल निर्माणको योजना अघि सारिएको छ । आफ्नै घरछेउमा विमानस्थल बन्ने भएपछि भेरीगंगा–१२ मदानेचौर सुर्खेतका चिने सार्की पनि यतिबेला खुशीले गद्गद् छन् । सम्भाव्यता अध्ययन सुरु भएसँगै सार्की आफ्नो गाउँको थप विकास र आर्थिक समृद्धिको सपना देख्न थालेका छन् । ‘विमानस्थल भनेको विकासको मुख्य आधार हो’ उनले भने, ‘विमानस्थल बन्यो भने यहाँको विकासले फड्को मार्नेछ ।’
विमानस्थलले पूर्वी सुर्खेतबासीलाई दिलाएको खुशी नाप्न यहाँका सामुदायिक वन उपभोक्ता समूहहरूको निर्णय नै पर्याप्त छ । विमानस्थल निर्माण गर्ने भनिएको क्षेत्रमा तीन वटा सामुदायिक वन पर्दछन्, साजगोठेरी सामुदायिक वन, रामजानकी सामुदायिक वन र गोगनपानी सामुदायिक वन उपभोक्ता समूह । यी तीन वटै सामुदायिक वनले विमानस्थलका लागि आवश्यक जग्गा उपलब्ध गराउन उपभोक्ताहरूको आम भेलाबाटै निर्णय गरेर मन्त्रालयमा पठाइसकेका छन् । यसको प्रमुख कारण हो, विमानस्थलसँग भेरीगंगाको समृद्धिको सपना जोडिएको छ ।
दोस्रो पूर्वाधारः भेरी–बबई आयोजना
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना भेरीगंगा नगरपालिकामा नै निर्माण भइरहेको छ । यो आयोजनाबाट विद्युतका साथै सिँचाइ सुविधा उपलब्ध हुनेछ । सिँचाइ सुविधा नपाउने भए पनि भेरीगंगाबासीले आफ्नै क्षेत्रमा उत्पादित बिजुलीलाई समृद्धिको दोस्रो आधार मानेका छन् । यो आयोजनाबाट ४८ मेगावाट बिजुली उत्पादन हुनेछ भने बाँके र बर्दियाको करिब ६० हजार हेक्टर जमिनमा सिचाइँ हुनेछ । औद्योगिक विकासका लागि विद्युत अपरिहार्य छ । तर चर्को लोडसेडिङ्गका कारण सुर्खेतमा औद्योगिक विकासले गति लिन सकेको छैन । भेरी–बबई आयोजना निर्माण सम्पन्न भएमा त्यसको सबैभन्दा बढी फाइदा सोही क्षेत्रले लिनेछ । आयोजना निर्माणपछि लोडसेडिङ्ग अन्त्य हुने र ठूला उद्योगहरूमा लगानी भित्रिने अपेक्षा भेरीगंगाबासीले गरेका छन् । औद्योगिक विकासले रोजगारीका अवसर सिर्जना गर्नुका साथै युवाहरूलाई विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनेछ ।
तेस्रो पूर्वाधारः कृषि उत्पादन
भेरीगंगा नगरपालिका अन्तर्गत पर्ने रामघाट, छिन्चु र मैनतडा कृषि उत्पादनका दृष्टिले उर्वर क्षेत्र मानिन्छन् । तरकारी र फलफूल खेतीको प्रचूर सम्भावना भएका क्षेत्र पनि हुन् । त्यसैले कृषि उत्पादनलाई व्यवसायीकरण र बजारीकरण गर्नसके भेरीगंगा नगरपालिकाको समृद्धिमा टेवा पुग्ने स्थानीय प्रताप खत्री बताउँछन् ।
रामघाट सुर्खेत जिल्लाकै सबैभन्दा बढी आँप उत्पादन हुने क्षेत्र हो । यहाँको आँप सुर्खेतमा मात्र होइन आसपासका जिल्लाहरूमा पनि प्रख्यात छ । त्यसैले रामघाटलाई आँप उत्पादनको पकेट क्षेत्रको रूपमा विकास गर्नुपर्ने स्थानीय अगुवाहरूको भनाइ छ । भेरीगंगाकै लेखपराजुल बेसार र अदुवा उत्पादन हुने क्षेत्र हो । जसको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत माग छ । तर उत्पादनमा व्यवसायिकता र बजारीकरण गर्न नसक्दा यहाँका कृषकले उल्लेख्य लाभ लिन सकिरहेका छैनन् । भेरीगंगा–५ तोलिखोलामा केही वर्ष अघि मात्रै अदुवा प्रशोधन केन्द्र स्थापना गरिएको छ । यसले त्यसक्षेत्रको
अदुवा संकलन, प्रशोधन र बजारीकरण गर्ने गर्दछ । आफ्नै ठाउँमा प्रशोधन केन्द्र स्थापना भएपछि कृषकहरू अदुवा खेतीतर्फ आकर्षित भने भएका छन् । यस्तै मैनतडा र छिन्चुमा तरकारी खेतीको प्रचूर सम्भावना छ । आवश्यक सिँचाइको सुविधा भने छैन । सिँचाइ उपलब्ध गराउने र यस क्षेत्रका तरकारी, आँप, अदुवा, बेसार लगायत फलफूल उत्पादन, प्रशोधन र बजारीकरण गर्नसक्ने हो भने बाह्य क्षेत्रबाट ठूलो रकम भिœयाउन सकिने सम्भावना छ । त्यसैले पनि कृषि उत्पादनलाई भेरीगंगा नगरपालिकाको समृद्धिको प्रमुख आधारको रूपमा हेरिएको छ ।
चौथो पूर्वाधारः पर्यटन
भेरीगंगा नगरपालिकामा पर्यटनको सम्भावना पनि उत्तिकै छ । सबैभन्दा पुरानो गंगामाला देउतीबज्यै मन्दिर यही छ । जसले यहाँको धार्मिक पर्यटन विकासमा उल्लेखनीय योगदान पु¥याउन सक्दछ । भेरी नदीमा ¥याफ्टिङ सञ्चालनमा ल्याउने हो भने यसले पर्यटन विकासमा सघाउ पु¥याउनुका साथै प्रशस्त आर्थिक उपार्जन पनि गराउँछ ।
सुर्खेत जिल्लाको सबैभन्दा अग्लो स्थान गुमीचुली भेरीगंगा नगरपालिकाभित्रै पर्दछ । जहाँबाट सुर्खेत लगायतमध्य तथा सुदूरपश्चिमका विभिन्न जिल्लाहरूको अवलोकन गर्न सकिन्छ । यसको प्रचार–प्रसार गर्नसके आकर्षक पर्यटकीय गन्तव्य बन्ने सम्भावना रहेको बताउँछन् उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष नन्दबहादुर अधिकारी । उनले भेरीगंगामा प्याराग्लाइडिङ्गको सम्भावना पनि उत्तिकै रहेको बताए ।
स्थानीय सरकारसँग अपेक्षा
स्थानीय स्रोत र साधनले भरिपूर्ण भेरीगंगा नगरपालिकाको समृद्धिमा समस्याहरू पनि छन् । यस्ता समस्या समाधान गर्न स्थानीय सरकार तत्पर हुनुपर्ने यहाँका नागरिकको भनाइ छ । हालै गठन भएको स्थानीय सरकारले नागरिकसँग समन्वय गरी सडक, बिजुली, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका पूर्वाधार निर्माणमा ध्यानदिन सके भेरीगंगा नगरपालिका जिल्लाकै सबैभन्दा समृद्ध नगरपालिका बन्ने विश्वास व्यक्त गर्दछन् उद्योग वाणिज्य संघ भेरीका अध्यक्ष नन्दबहादुर अधिकारी । भेरीगंगाको समृद्धि स्थानीय सरकारकै हातमा छ जसले नीति तथा योजना निर्माण गर्नुका साथै बजेट बाँडफाँड समेत गर्दछ । नेतृत्वले यसलाई आधार बनाएर विकासको रथ दौडाए गन्तव्यमा पुग्न सहज हुनेछ ।
साझा बिसौनी संवाददाता ।