पञ्चपुरीमा सम्भावनाको भण्डार

राज्यको पुनसंरचना सँगसँगै स्थानीय तहको निर्वाचन पश्चात् नागरिकमा उत्साह छाएको छ । नेपालको संविधानले स्थानीय तहको विकासको लागि स्थानीय जनप्रतिनिधिहरू नै विकास मोडलको (डिजाइनर) हुने परिकल्पना गरेको छ । सुर्खेत जिल्लाका नौ स्थानीय तह मध्ये विकासमा पछि पारिएको तर प्रचूर सम्भावना बोकेको स्थानीय तह मध्येकै एक हो पञ्चपुरी नगरपालिका । साविकका पाँच वटा गाविसहरू सालकोट, बावियाचौर, विद्यापुर, छाप्रे र तातापानी समायोजन गरेर यो नगरपालिका बनाइएको छ ।
कूल ३२९.९० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो नगरपालिका जैविक वातावरणीय विविधताका साथ–साथै अन्य स्रोत तथा साधनले पनि भरिपूर्ण छ । सदरमुकाम वीरेन्द्रनगरदेखि करिब १४ कोष पश्चिममा रहेको यो नगरपालिका सुर्खेत जिल्लाको पश्चिमी भेगको एकमात्र नगरपालिका हो । यहाँ विभिन्न जातजाति र भाषा बोल्नेहरू बसोबास गर्दछन् । पर्याप्त सम्भावनाहरू हुँदाहँुदै पनि विकासवादमा पश्चिम र विकासवादीहरूको ओझेलमा परेको क्षेत्र हो यो । भौतिक विकासमा पछाडि पारिएको यो नगरपालिका दिगो र वैज्ञानिक विकासको मोडल कुरेर बसिरहेको छ । हुन त विकास आफैमा एक जटिल विषयवस्तु हो, जसमा सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक र मनोवैज्ञानिक आयामहरू समाविष्ट हुन्छन् । यी सबैको समानुपातिक संयोजनमा पञ्चपुरी नगरपालिकाको विकास गर्नु आवश्यक देखिन्छ ।
एकीकृत विकास योजना
हाल यस नगरपालिकाको विकास र समृद्धिका लागि एकीकृत विकास योजना निर्माण गर्नु आवश्यक छ । यो नगरमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइनुपर्दछ । सडक कालोपत्रे र विद्युत विस्तार नै यहाँको मुख्य माग हो । यसका लागि वीरेन्द्रनगरदेखि पश्चिम जोड्ने सडक तत्काल कालोपत्रे गर्न आवश्यक छ । यस्तै नगरका अधिकांश वडाहरू अहिले पनि सडक सञ्जालबाट टाढा छन् । सबै वडालाई सडकमा जोड्ने योजना पहिलो प्राथमिकतामा पर्नु अनिवार्य छ । यस्तै वर्षौंदेखि अन्धकारमा रहेका यहाँका नागरिकलाई अबको नेतृत्वले विद्युत विस्तार गरेर उज्यालो दिन जरुरी छ । सडक र विजुली नै यहाँको मुख्य आवश्यकता हो ।
भौतिक पूर्वाधारको कमी, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी तथा पर्यटन प्रवद्र्धन, जल, जंगल र जमिनको वर्गीकरण र सामाजिक सुशासन, सुकुम्बासी समस्या तथा सामाजिक सशक्तीकरण नै यस नगरपालिकाभित्रका प्रमुख समस्याहरू हुन । यी समस्याहरूको यथोचित व्यवस्थापन गर्नका लागि विकासका सम्भावनाहरूलाई औंल्याउँदै सामाजिक रूपले स्वीकार्य, प्राविधिक तवरले उपयुक्तता, आर्थिक रूपले सम्पन्नता र भौगोलिक तथा प्राकृतिक हिसाबले अनुकूलता हुने एकीकृत विकास योजना निर्माण हुन जरुरी छ । निर्वाचित जनप्रतिनिधिहरूले यसतर्फ ध्यान दिन जरुरी छ ।
पर्यटनको खानी
यो नगरको मुख्य सम्भावना पर्यटन नै हो । यहाँ दर्जनौं पर्यटकीय स्थलहरू छन् । पर्यटकलाई लोभ्याउने सुन्दर जाजुरा दह, चमेरे गुफा र गुप्ती ताल यही नगरभित्र छन् । अर्कोतर्फ भेरी तथा कर्णाली नदीमा जल पर्यटनको सम्भावना उतिकै छ । पाँचतले गुफा, मालिका मन्दिर र पञ्चपुरी मन्दिरले पर्यटकलाई कुरिरहेका छन् । यी स्थलहरूको प्रचार मात्र गर्नसके आम्दानीको कुनै समस्या हुनेछैन । अब पर्यटन विकासका लागि सामान्य पूर्वाधार निर्माण गर्दै प्रचारमा जोड दिन जरुरी छ । यसले स्थानीयलाई रोजगारी र नगरलाई राजस्वमा टेवा पुग्नेछ । नगरपालिकाले अबको योजनामा यसलाई प्राथमिकता दिन जरुरी छ ।
प्रशासनिक रूपरेखा
पश्चिम क्षेत्रकै शिक्षाको मुटुको रूपमा रहेको यो नगरमा पर्ने विद्यापुरलाई शैक्षिक केन्द्रको रूपमा विकास गर्न सकिन्छ । विद्यापुरमा रहेको जनता बहुमुखी क्याम्पसलाई अब स्तरोन्नति गर्दै उच्च शिक्षा प्रदान गर्ने थलोको रूपमा विस्तार गर्न जरुरी छ । यसले शिक्षा प्रदान र हासिल गर्न सहज हुनेछ । बावियाचौर भौगोलिक हिसाबले फराकिलो र समथर छ । अन्य वडाहरूकोबीच केन्द्रमा पर्ने भएकाले यसलाई प्रशासनिक केन्द्रको रूपमा विकास गर्न आवश्यक छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकास गरिसकेको साविकको सालकोटलाई स्वास्थ्य केन्द्र सेवा प्रवाहको केन्द्र बनाउन सकिन्छ । यसका लागि सालकोटमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई थप सुविधायुक्त र सेवा विस्तारको योजना बनाउन स्थानीय सरकार लाग्नुपर्ने हुन्छ ।
कृषि र वन व्यवस्थापन
नगरभित्रका छाप्रे र तातापानीलाई पशुपालन र जडिबुटी खेतीमा केन्द्रित गर्न सकिन्छ । यसका लागि स्थानीय सरकारले गुरुयोजना बनाएर किसानलाई अनुदान र उत्प्रेरणा प्रदान गर्न आवश्यक छ । नगरपालिका बनेका साविकका गाविसहरूले विगतमा विकासको लागि धेरै अभ्यासहरू ग्रिरहेको छन् । ती अभ्यासहरू पनि समृद्ध पञ्चपुरीको मार्गदर्शन बन्न सक्दछन् । प्रत्येक स्थानमा कृषिको पटेक क्षेत्र घोषणा, भेरी नदीको पानी लिफ्ट गरी वडा नम्बर १० र ११ मा सिँचाइको व्यवस्था गर्दै स्रोत परिचालन र नतिजामूलक रूपमा योजनाबद्ध तवरले अगाडि बढेमा साँच्चिकै समृद्ध पञ्चपुरी बनेको हेर्नको लागि अर्को पुस्ता कुर्नै पर्दैन । जसको लागि पाँच देखि २० वर्षसम्मको गुरुयोजना बनाउन जरुरी छ । नगरभित्र रहेका वनलाई आम्दानीसँग जोडेर व्यवस्थान भएमा फाइदा पुग्नेछ ।
अन्त्यमा,
विकास निर्माणको लागि योजना तर्जुमा केवल एउटा दृष्टिकोण मात्र हो । यसको नतिजामुखी र व्यवस्थित कार्यान्वयन नै विकासको पूर्ण चरण हो । यसको लागि नगरपालिकाले यसक्षेत्रको बौद्धिक जनशक्ति र श्रमशक्तिको पलायनलाई रोक्नेतर्फ लाग्नुपर्दछ । शैक्षिक तथा प्राविधिक विषयवस्तु भिœयाउने र व्यवसायिक कृषि, पशुपालन तथा पर्यटनलाई मुख्य प्राथमिकता दिनुपर्दछ । त्यति मात्र होइन, साधन स्रोतहरूको समुचित प्रयोगको लागि छिमेकी गाउँपालिकाहरू पश्चिममा चौकुने र पूर्वको बराहताल गाउँपालिकासँग अन्तरसम्बन्ध राख्दै प्राकृतिक तथा भौतिक साधन र स्रोतको परिचालनलाई सहज बनाउनु पर्दछ । यसको प्रमुख जिम्मेवारी नागरिकको नेतृत्व गरिरहेको जनप्रतिनिधिको हो ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:००