समृद्ध चिङ्गाडको आधार कृषि र पर्यटनमा लगानी

सुर्खेतको सबैभन्दा सानो चिङ्गाड गाउँपालिकामा जम्मा ६ वटा वडाहरू छन् । साविकको रजेना गाविसलाई हाल वडा नम्बर १, रानीवासलाई २, मटेलाको वडा नम्वर ६ देखि ९ लाई वडा नम्वर ३ र साविकको मटेलाका वडा नम्वर १ देखि ५ लाई ४ नम्बर, अवलचिङ्गलाई ५ र पाम्कालाई ६ नम्बर वडा बनाइएको छ ।
‘चिङ्ग’ को मतलब गुरुङ्ग भाषामा ‘ज्योतिष’ भन्ने हुन्छ । यस्तै ‘गाड’ को अर्थ ‘खोला’ हुन्छ त्यसबाटै त्यो बेलाका प्रसिद्ध ज्योतिष र अनवरत रूपमा एकनासले बगिरहने खोलाको संयुक्त नाम ‘चिङ्गाड’ भएको हो । चिङ्गाड गाउँपालिका वडा नम्बर ५ अवलचिङ्गका समाजसेवी तथा पूर्वशिक्षक तुलसिं रानाका अनुसार ‘बुरुसे’ को छहरादेखि ‘भेरी’ नदीको छालको टुँडेसम्मलाई चिङ्गाड भनिएको हो । ‘पहिला त दैलेखको डुङ्गेश्वरदेखि सुर्खेतको रानीवाससम्मकै क्षेत्रलाई चिङ्गाड भनिन्थ्यो’ राना भन्छन्, ‘पछि मात्रै सीमांकन गर्दा आधा चिङ्गाड सुर्खेत र बाँकी चिङ्गाड दैलेखमा परेका हुन् । अहिले पनि सुर्खेत र दैलेखमा गरी दुई छुट्टाछुट्टै चिङ्गाड छन् ।’
चिङ्गाडमा समृद्धिका आधार
यहाँको कला, संस्कृति, भाषा, प्राकृतिक र धार्मिक पर्यटन तथा जडिबुटीलाई समृद्धिका लागि मुख्य आधारको रूपमा लिन सकिन्छ । यस्तै कृषिलाई व्यवसायिक र प्रविधिमैत्री बनाउनसके चिङ्गाडको समृद्धिका लागि धेरै समय लाग्ने अवस्था छैन । समुद्री सतहदेखि दुई हजार ६ सय ७० मिटर उचाईमा रहेको बुरुसेडाँडा (मालिका) पनि यही चिङ्गाड गाउँपालिकामा पर्दछ । कला, संस्कृति, रहनसहन र भाषाको धनी यहाँ पर्यटन विकासको पूर्वाधार पहिलो शर्त हो । ट्याम्को, मादल, बाँसुरी, खैंचडी, मजुरा र कट्ताल बजाएर सिंगारु गीत गाउँदा पुरुषलाई महिलाको भेसमा सिगारेर नाचिने सिङ्गारु नाचले पर्यटकलाई लोभ्याउने छ ।
चिङ्गाडमा चिङ्गाडी संस्कृतिमा कतै बौजु र कतै जन्ते खेल भनेर चिनिने रतेउली खेल र मयुर अथवा गर्रा नाच पनि रहेका छन् । स्थानीय पुराना संस्कृतिकर्मी उदय राना भन्छन्, ‘चिङ्गाडमा जुनसुकै जातजातिका र धर्म मान्नेहरू भए पनि सांस्कृतिक रूपमा भने नागरिकहरू बीच लोभलाग्दो एकता छ ।’ सांस्कृतिक संरक्षणमा लागेकै कारण यस क्षेत्रका नाागरिकमा भाइचारा र भ्रातृत्वको भावना गाढा बन्दै गएको छ । यही एकता नै समुन्नत चिङ्गाडको आधार बन्नसक्छ ।
प्राकृतिक तथा धार्मिक पर्यटन
चिङ्गाड समृद्धिका लागि प्राकृतिक तथा धार्मिक पर्यटनलाई मुख्य आधार बनाउन सकिन्छ । चिङ्गाडमा अग्लो डाँडा बुरुसे (मालिका डाँडा) छ, जुन डाँडा सुर्खेत, दैलेख र जाजरकोटको संयुक्त डाँडा हो । जहाँ पुगेपछि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम र बाँके लगायतका अधिकांश क्षेत्र दृश्यावलोकन गर्न सकिन्छ । यस्तै ‘सिस्ने’ लगायत धेरै हिमालहरू प्रष्टै देख्न सकिन्छ । यो बुरुसे डाँडामा एउटा पुरानो रुख छ, जसमा तीनवटा मात्रै हाँगाहरू छन् । एउटा हाँगाले सुर्खेततर्फ देखाएको छ भने अरु दुईवटाले दैलेख र जाजरकोट जिल्लातर्फ देखाएका छन् । यही रुखलाई नै आधार बनाएर तीन जिल्लाको सीमाना छुट्याइएको बुढापाकाहरू बताउँछन् ।
यहाँसम्म पुग्नका लागि पूर्वाधार निर्माण र लगानीको योजनालाई गाउँपालिकाको नेतृत्वले प्राथमिकता दिनुपर्दछ । अर्कोतर्फ ‘भैरव’ को पवित्र धार्मिकस्थलको रूपमा चिङ्गाडलाई लिइन्छ । वडा नम्बर ४ मा पर्ने टोडनाउलामा मालिका देवीको मौलो पुज्ने र मेला लाग्ने गर्छ । त्यसै दिन वडा नम्बर ६ पाम्कामा समेत ठूलो मेला लाग्ने गरेको छ । चिङ्गाडको ठाँटीमा प्रत्येक वर्ष ठाँटी मेलासमेत परापूर्वकालदेखि लाग्दै आएको छ । प्राकृतिक तथा धार्मिक पर्यटनको विकासका यहाँ धेरै सम्भावना छन् । यसका लागि पूर्वाधार निर्माण र प्रचार–प्रसारमा ध्यान दिनुपर्छ । यसो भएको खण्डमा आर्थिक आम्दानी र रोजगारी सिर्जना हुनेछ ।
व्यवसायिक जडिबुटी र कृषि
चिङ्गाडमा खासगरी लोक्ता (नेपाली कागज बनाउन प्रयोग हुने कच्चापदार्थ), टिमुर, पखानवेद (समयो), सिल्फू, रिठा, अल्लो लगायत जडिबुटीहरू प्रशस्तै मात्रामा पाइन्छ । चिङ्गाडको माथिल्लो लेकाली भेगमा पाइने लोक्ताको उपयोग गर्न जरुरी छ । राज्यकै अनुदानमा लोक्ता प्रशोधन तथा कागज उत्पादन उद्योग स्थापना गर्न जरुरी छ । यसो भएमा रोजगारी सिर्जना हुनेछ । यस्तै टिमुर, अल्लो, रिठा, पखानवेद, सिल्फू लगायतका जडिबुटीलाई पनि व्यवसायिक उत्पादन गर्न सकिन्छ । यसका लागि गाउँपालिकाले नै किसानलाई उत्प्रेरित गर्न आवश्यक छ ।
अर्कोतर्फ यहाँ अदुवा, आलु, ममफली (बदम) जस्ता नगदेवालीका लागि छुट्टाछुट्टै पकेट क्षेत्र बन्न सक्छन् । प्रायः वडाहरूमा अहिले पनि अदुवा राम्रो उत्पादन हुन्छ । तर यहाँ प्रशोधन नहुँदा सस्तो मूल्यमा बाहिर निर्यात गर्नुपर्ने बाध्यता छ । गाउँपालिका भित्रका रानीबास, मटेला र अवलचिङ्गमा ममफली (बदाम) राम्रो उत्पादन हुन्छ । यसलाई अझै व्यवसायीकरण गर्न जरुरी छ । यस्तै गाउँपालिकाको वडा नम्बर ६ पाम्काको माथिल्लो भेगलाई आलु उत्पादनको पकेट क्षेत्र बनाउँदा उपयुक्त हुन्छ । योजना नै बनाएर गाउँपालिकाले लगानी गर्दै अगाडि बढेमा समृद्धिका लागि अरुको भर पर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्नछ ।
सडक र बिजुलीलाई प्राथमिकता
चिङ्गाड गाउँपालिकामा धेरै सम्भावना र अवसरहरू छन् । स्थानीयस्तरमा स्रोत र साधनको खानी भए पनि केही भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने देखिन्छ । सडक र बिजुलीमा गाउँपालिकाको नेतृत्वले प्राथमिकता दिएर योजना निर्माण गर्न आवश्यक छ । बिजुलीको सुविधा अहिलेसम्म यो गाउँपालिकाका कसैले जनताले उपभोग गर्न पाएका छैनन् । सामान्य उपभोग मात्रै होइन चिङ्गाड गाउँपालिकामा बिजुलीको सुविधा सहज हुनासाथ यहाँ उद्योगधन्दा खुल्न सक्छन्
अर्को चुनौती हो सडक सुविधाको अभाव । यस गाउँपालिकाका सवै वडासम्म सडकको पहुँच विस्तार भए पनि कच्ची सडक भएकाले प्रायः वर्षाको समयमा समस्या छ । जसले गर्दा चिङ्गाडमा उत्पादन भएका कृषि उपजलाई बजारीकरण गर्न सकिएको छैन भने बाहिरबाट यहाँ केही साधनस्रोत पु¥याउन पनि सजिलो छैन । यस्तै उच्च शिक्षाका लागि तत्काल क्याम्पस र अस्पताल पनि अनिवार्य छ ।
निश्कर्ष
माथि उल्लेख गरिएका विषयवस्तु मात्रै पर्याप्त होइनन् । यी र यस्ता विषयलाई मात्रै ध्यान दिएर स्थानीय तहमा नागरिक र जनप्रतिनिधिहरूको साझेदारी अनुसार काम गर्नसकेमा सुर्खेत जिल्लाकै फरक पहिचान बोकेको चिङ्गाडले फरक प्रकारकै विकासको फड्को मार्छ । प्रमुख दुई वटा समस्या विद्युतीकरण र सडकको स्तरउन्नति भएमा चिङ्गाडलाई सबैको सपनाको गाउँपालिका बनाउन सकिन्छ । नवनिर्वाचित गाउँपालिकाका जनप्रतिनिधिले विकासका लागि अब सदरमुकाम वा राजधानीलाई गुहार्नुपर्ने बाध्यता छैन । स्थानीय सम्भावनाहरूको पहिचान गर्दै योजना कार्यान्वयन गर्नसकेमा यहाँका नागरिकको विकासको भोक मेटाउन सम्भव छ । मात्र नेतृत्वको भिजन र गतिशिलता आवश्यक छ ।

प्रकाशित मितिः   २९ असार २०७४, बिहीबार ११:०२