बजेट सक्न यस्तो लापरबाही, एक हप्ता टिकेन कालोपत्रे

सुर्खेत, २६ असार ।
आर्थिक वर्ष सकिनै लाग्दा बजेट सक्न गुणस्तरहीन काम गरेको पाइएको छ । वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रका साथै सुर्खेत–कोहलपुर सडकमा गुणस्तरहीन कालोपत्रे गरिएको पाइएको हो ।


सडक मर्मतका लागि विनियोजित बजेट सक्नका लागि हतारमा गुणस्तरहीन काम गरेर ठेकेदारहरूले रकम भुक्तानी लिने गरेका हुन् । यसले बजेट खर्च भए पनि काम भने गुणस्तरीय हुन सकेको छैन । गत वैशाख अन्तिम सातायता वीरेन्द्रनगरको बजार क्षेत्रभित्रकै विभिन्न सडकहरू कालोपत्रे गरिएको छ । तर कालोपत्रे गुणस्तरहीन भएको पुष्टि त्यसको एक दुई दिनमै भइसकेको थियो । कालोपत्र गरिएको दोस्रो र तेस्रो दिनमा नै कालोपत्रे उप्किएपछि स्थानीयबासीले विरोध समेत जनाएका थिए । ती सडकहरूमा महिना दिन नबित्दै खाल्डा परिसकेका छन् ।
यस्तै सुर्खेत–कोहलपुर रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरदेखि छिन्चु खण्डमा पनि यस्तै बेथिति देखिएको छ । उक्त सडक खण्डमा पनि असार लागिसकेपछि मर्मतको काम सुरु भयो । सडक छेउछाउमा पुन कालोपत्रे गरिएको छ । तर उक्त कालोपत्रे हप्तादिन पनि टिकेन । सवारी चाप भइरहेन उक्त राजमार्गमा गरिएको कालोपत्रे एक साता नबित्दै उक्किसकेको छ । यो सडक अन्तर्गत छिन्चुदेखि पैंसठ्ठीसम्मको सडक खण्डमा गरिएको कालोपत्रे हप्ता दिनमै उप्किएको हो । सडक खण्डको दायाँ बायाँ छेउमा गरिएको कालेपत्रेमा उक्किएको मात्र छैन पानी जमेको र खाल्डाखुल्डी समेत परेको छ ।
सडक कार्यालयका कर्मचारी र ठेकेदारको मिलेमतोमा बजेट सक्नको लागि हतार–हतारमा कालो पत्रे गरिएकोले हप्तादिनमै कालेपत्रे उप्किएको स्थानीयल आरोप लगाएका छन । सडक चौडा बनाने नाममा गरिएको कालोपत्रेको काम हाँस्यास्पद भएको उनीहरूले गुनासो गरेका छन् । सडक चौडा पार्ने नाममा जनताको आँखामा छारो हाल्ने काम भएको स्थानीयले बताएका छन् ।
यस्तै वीरेन्द्रनगरमा निर्माणाधीन चारलेन सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती व्यहोर्नु परेको छ । आधा निर्माण गरेर छोडिएको उक्त सडकमा वर्षातसँगै पानी जमेर ताल बनेका छन् । यसले पैदल यात्रुहरूलाई सास्ती भोग्नु परिरहेको छ ।

प्रकाशित मितिः   २७ असार २०७४, मंगलवार १४:५२