दुई सय घार मौरी वितरण

सुर्खेत, २६ असार ।
वीरेन्द्रनगर–१३ मा रहेको नलखोला सामुदायिक वन उपभोक्ता समूहमा आवद्ध सदस्यहरूलाई मौरी वितरण गरिएको छ । समूहमा आवद्ध २० जना सदस्यलाई दुई सय घार मौरी वितरण गरिएको हो । प्रति सदस्य १० घार उपलब्ध गराइएको छ ।

रातानागंलामा एक समारोहकाबीच जिल्ला वन अधिकृत हेमराज विष्टले मौरीघार वितरण गरेका हुन् । स्थानीय बासिन्दाको आय–आर्जनमा वृद्धि गर्न उद्देश्यले मौरी वितरण गरिएको हो । व्यवसायिक कीट निर्देशनालयले निःशुल्क रूपमा मौरीघार उपलब्ध गराएको हो । जिल्लामा रहेका सामुदायिक वनहरू मध्ये यो वन उपभोक्ता समूहलाई मौरीघार वितरणका लागि छनौट गरिएको जिल्ला वन कार्यालयले जनाएको छ ।
स्थानीय किसानहरूलाई मौरी वितरण गर्दै जिल्ला वन अधिकृत विष्टले यसलाई व्यवसायिक रूप दिन आग्रह गरे । मौरीका लागि धेरै जग्गा र गोठालो पनि आवश्यक नपर्ने भएकाले सहज भएको उनको भनाइ छ । मौरीले उत्पादन गर्ने महबाटै जीवन निर्वाह गर्न सहज हुने उनको विश्वास छ । यस्तै सहायक जिल्ला वन अधिकृत शेरबहादुर रोकायाले अब स्थानीयस्तरमा खेतीमा विषादी प्रयोग नगर्न सुझाव दिए । यसले मौरीका लागि फाइदा हुने उनको भनाइ छ ।
सामुदायिक वनका सल्लाहकार जनकलाल रोकायाको अध्यक्षमा भएको कार्यक्रममा वडा सदस्य भोजप्रसाद ढकालले मौरीपालनका लागि आफूहरूले पनि सहयोग गर्ने बताए । सामुदायिक वनका सल्लाहकार सदस्य भीमबहादुर गुर्तालले मौरीका लागि करिब २२ लाख सहयोग प्राप्त भएको जानकारी दिए । उनका अनुसार अर्को वर्ष उत्पादन भएका मौरी अन्य सदस्यहरूलाई पनि वितरण गरिनेछ । मौरीघार पाएपछि खुशी भएका स्थानीयले अब आफूहरूको आयआर्जनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः   २७ असार २०७४, मंगलवार १४:४९