सरकारद्वारा सुर्खेतका तीन विद्यालय नमुना घोषित
सुर्खेत, २५ असार ।
सुर्खेतका ३ वटा सामुदायिक विद्यालयहरूलाई शिक्षा मन्त्रालयले नमुना घोषणा गरेको छ । जिल्ला शिक्षा कार्यालयको प्रारम्भिक मूल्यांकन तथा शिक्षा विभागको स्थलगत अवलोकनसहितको मल्यांकन प्रमाणीकरणका आधारमा तीन वटा विद्यालयलाई नमुना घोषणा गरिएको हो ।
सुर्खेतको निर्वाचन क्षेत्र नं. १ बाट नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, गुर्भाकोट–६ बडाखोली, निर्वाचन क्षेत्र नं. २ बाट जन माध्यमिक विद्यालय वीरेन्द्रनगर–६ र क्षेत्र नं. ३ बाट जनज्योति माध्यमिक विद्यालय कुनाथरी, बड्डीचौर नमुना विद्यालय घोषित भएका हुन् । आइतवार बसेको शिक्षा मन्त्रालयको सचिवस्तरको बैठकको निर्णय अनुसार नमुना विद्यालय विकास तथा सञ्चालनका लागि विद्यालयहरू छनौट भएका हुन् ।
नमुना छनौट भएका विद्यालयहरूले सरकारबाट थप अनुदान प्राप्त गर्नेछन् । शिक्षा विभागले आइतवार नै सार्वजनिक गर्दै सम्बधित जिल्ला शिक्षा कार्यालयहरूलाई नमुना विद्यालयका रूपमा छनौट भएका विद्यालयहरूलाई आर्थिक वर्ष २०७३÷०७४ को विद्यालय क्षेत्र विकास कार्यक्रममा व्यवस्था भए अनुसारको अनुदान निकास गरिदिन अनुरोध समेत गरेको छ । विद्यालय नमुना घोषणा भएपछि शिक्षक, विद्यार्थी र अभिभावक समेत खुशी भएका छन् । वीरेन्द्रनगरमा रहेको जन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोविन्द कोइरालले थप प्रेरणा, हौसला र जिम्मेवारी बढेको प्रतिक्रिया दिए । उनले विद्यालयको नतिजा, विद्यार्थीको उपस्थिति, पूर्वाधार विकास, विद्यालय व्यवस्थापन समितिको गतिविधि लगायतका पक्षहरूको मूल्यांकन गरेर नमुना छनौट गरिएको बताए । उनले विद्यालयको शैक्षिक र प्रशासनिक कामलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै जान हौसला मिलेको जनाए ।
विद्यालय नमुना घोषणा हुनुमा सबै पक्षको महŒवपूर्ण भूमिका रहेको उनले बताए । विद्यार्थी र अभिभावकसँग परामर्श गर्न हेल्पडेस्क स्थापना गरिएको, विद्यार्थीको समस्याका बारेमा निरन्तर निगरानी गर्ने, उनीहरूको मनोविज्ञान बुझेर अध्यापन गराउने, प्रशासनिक कामलाई व्यवस्थित र शैक्षिक कामलाई गुणस्तरीय बनाउन विद्यालय लागि परेको कोइरालाले बताए । देशैभरबाट यस पटक एक सय ६७ वटा सामुदायिक विद्यालयहरू नमुना विद्यालयका रूपमा छनौट भएको शिक्षा विभागले जानकारी दिएको छ ।
साझा बिसौनी ।