‘कक्षा एक मा प्रथम हुँदाको क्षण याद आउँछ’

प्रेमदेव गिरी सुर्खेती कला क्षेत्रका धरोहर हुन् । वि.सं. २०१० फागुन १० गते बुबा हरिलाल गिरी र आमा लिलादेवी गिरीको कोखबाट वीरेन्द्रनगर–३ मा जन्मिए । लोक संस्कृति संरक्षणमा उनको महŒवपूर्ण भूमिका छ । लोकगीत संकलन, बाध्यबाधनदेखि रंगमञ्चमा उनले लामो समय बिताइसकेका छन् । उनै गिरीले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेका छन् ।

मेरो जन्म वीरेन्द्रनगर–३ मा भयो । म घरको जेठो छोरा हुँ । म जन्मिदा हाम्रो घरमा धेरै खुशी छाएको थियो रे । मेरो बुबाको भाईहरूमध्ये बुबा मात्र हुनुहुन्थ्यो । हाम्रो ठूलो परिवार थिएन । त्यसकारण म जन्मिएपछि सबै खुशी हुनुहुन्थ्यो होला । मेरो बाल्यकाल धेरै समय तत्कालीन गढी गाविसको राम्रीकाडाँमा (हाल वीरेन्द्रनगर–१४) मा बित्यो । म तीन वर्षको हुँदा फुपुको घर राम्रीकाँडामा पढ्नको लागि गएको याद आउँछ । पुसाजु शिक्षक हुनुहुन्थ्यो । मैले करिब ६ वर्षसम्म पाठशालामा पढें । त्यसपछि तत्कालीन पब्लिक मेडिल स्कुल गोठीकाँडामा (हालको जन मावि) बसेर पढें । हिउँदमा वीरेन्द्रनगर बस्ने र गृष्मको सिजनको बेलामा हामी बयलकाँडा बस्थ्यौं । मलाई गीत संगीतप्रति धेरै रुचि थियो । घरमा एउटा मादल थियो । मैले सात वर्षको हुँदादेखि नै जानी नजानी बजाउने गर्थें । हजुरबुबा हजुरआमासँगै हामी बस्थ्यौं । उहाँहरू पूजापाठ गर्नुहुन्थ्यो म पनि सँगै पूजापाठ गर्ने गर्थें । चाडपर्व आउँदा मामाको घर जान्थ्यौं । मामाको घरमा पनि एउटा मादल थियो । मामाका छोरीहरूमात्र थिए । मैले नै गएर मादल बजाउने गर्थें । अझ गाउँमा हुने पूजा, विवाह, सांस्कृतिक कार्यक्रमहरूमा मादल बजाउने, गाउँने सबै गर्थें । प्रायः हाम्रो घरमा तिजको नाच्न सबै जम्मा हुने भएकोले मलाई नै सबैले मादल बजाउन भनेर भन्नुहुन्थ्यो ।
घरको जेठो छोरा र म पछि साना भाईबहिनी भएको कारणले घरायसी काम र भाईबहिनी हेर्नेमा आमालाई सघाउने गर्थें । घाँसदाउरा जाने, पँधेरोमा पानी लिन जाने, खाना पकाउने, घर सरसफाइ गर्ने सबै कामहरू गर्थें । उमेर बढ्दै गएपछि साथीसंगीहरूसँग खेल्ने विशेष गरेर मौलिक खेलहरू खेल्ने, काफल, चुत्रो, ऐंसेलु खान गएको सम्झना अझै पनि आउँछ । गाईगोठालो जाँदा साथीहरूसँग डण्डीबियो, कपर्दी खेल्ने गथ्र्यौं । जात्रा हेर्न जाँदा फुपुले पुसाजुले पिठ्यूँमा बोकेर लैजानुहुन्थ्यो । म सानोमा मिलनसार पनि थिएँ । साथीहरूसँग झगडा नगर्ने, यदि साथीहरूले झगडा गरेका छन् भने मिलाउने गर्थें ।
म सानोमा जिज्ञासु स्वभावको पनि थिएँ । पढाइप्रति मेरो लगाव धेरै थियो । कक्षा १ मा प्रथम हुँदाको त्यो खुशीको क्षण अझै पनि सम्झनामा नै छ । मैले पढाइमा लगाव भए पनि घरको कारणले गर्दा राम्रोसँग पढाइलाई अघि बढाउन पाइन् । घरको जिम्मेवारी पढ्दै गयो । मैले एसएलसीसम्म मात्र पढाइलाई लिन सकें ।
९ वर्षदेखि १३ वर्षसम्म मेरो बाल मनस्थितिमा दुःखदायी भयो । मैले यस अवधिमा एक बहिनी, दुई भाईसँगै बुबा र कान्छी आमालाई गुमाएँ । १० वर्षको हुँदा बहिनीलाई गुमाएँ । त्यसबेलामा तिजको दिन थियो । हामी सबै तिजको नाचिरहेको ठाउँमा हेर्न गएका थियौं । बहिनी अलिअलि बिरामी भएकी थिइन् । हामी उता रमाइलोमा गयौं । यता बहिनी मरिसकिछन् । हाम्रो घर पारी डाँडामा थियो । हामी वारी डाँडामा थियौं । घरमा धेरै मान्छेहरू जम्मा भएका थिए । घर जाँदा बहिनी मरिसकेकी रहिछन् । घरमा कहिलेकाहीं धेरै मान्छेहरू देख्दा पनि मन चिसो भएर आउँथ्यो ।
त्यसपछि भाईहरू, अनि कान्छी आमा पनि बित्नुभयो । बुबाको मृत्यु हुँदा म १३ वर्षको थिएँ । त्यस दिन बुबाले बाटो खन्नको लागि जानुछ म जान सक्दैन विद्यालयमा आउँदिन भनेर निवेदन लेख भन्नुभयो । निवेदनमा उहाँले नै हस्ताक्षर गर्नुभयो । म बाटो बनाउन आएँ । बुबाले मेरो लागि खाजा भनेर मकै पालेर राखिदिनुभएको रहेछ । तरकारी टिपेर पकाउनु भएछ । पछि बुबालाई एक्कासी गाह्रो भएछ । साँझ म घर फर्किदा घरभरी मान्छेहरू जम्मा भएको देखें । मन चिसो भयो । घरमा आउँदा बुबाको मृत्यु भइसकेको रहेछ । त्यसको एक वर्षपछि हामी वीरेन्द्रनगर आयौं । मैले रंगमञ्चमा १४ वर्षको उमेरमा प्रवेश गरेको हुँ । ‘सौतेनी आमाको छोरा’ सडक नाटक प्रदर्शन गर्नुपर्ने थियो । मैले त्यसमा भाईको भूमिका खेलेको थिएँ । त्यही सडक नाटकबाट मेरो रंगमञ्चको यात्रा सुरु भयो । मैले भागेका पीडाहरू मैले रंगमञ्चमा जाँदा सबै झुलें । मैले नयाँ जीवन पाएँको जस्तो महसुस भयो । बुबाको मृत्यु भइसकेपछि मलाई टुहुरो महसुस हुन्थ्यो । साथीभाईहरूले पनि त्यस्तै व्यवहार गर्थे । म दुब्लो पातलो र लोसेपनाको भएको थिएँ । साथीहरूको अपमान, घरमा घटेका दुःखदायी घटनाहरूका पीडाले मेरो बालमनस्थितमा परेको असरलाई रंगमञ्चले भुलाइदियो ।
घरको परिस्थितिले गर्दा मैले १६ वर्षको उमेरमा मागी विवाह गरें । अहिलेको जस्तो सबैको अगाडि बोल्न सकिदैन्थ्यो । हामीले विवाह भएको लामो समयपछि मात्र बोल्यौं । ससुराली जाँन पनि अप्ठ्यारो लाग्थ्यो । बाल्यकाल समग्रमा कहिले पीडादायी र कहिले रमाइलोमा बित्यो ।

प्रकाशित मितिः   २६ असार २०७४, सोमबार १५:५७