कर्तव्य नभूल

कर्णाली राजमार्ग सञ्चारमाध्यममा सधैं चर्चामा रहने सडक हो । कहिले सवारी साधन दुर्घटना भएर, कहिले पहिरोले सडक अवरुद्ध भएर त कहिले यात्रु ठगिएर कर्णाली राजमार्ग चर्चाको विषय भइरहन्छ । पछिल्लो पटक कर्णाली राजमार्गमा यातायात व्यवसायीको दादागिरीका कारण यात्रुले सधैं सास्ती खेप्नुपरेको समाचार सार्वजनिक भएको छ । उक्त राजगर्मामा सञ्चालन हुने सवारी साधनले समयमा गन्तव्यमा नपु¥याउने र कर्मचारीको अभद्र व्यवहारले यात्रु हैरान बनेका छन् । नेपालगन्ज र सुर्खेतदेखि कालिकोट, जुम्ला र मुगुसम्म यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।सडकको अवस्थामा केही सुधार भए पनि गाडीवालाहरूको व्यवहारमा सुधार नहुँदा कर्णाली राजमार्गमा यात्रा गर्ने सर्वसाधारणले सकस महसुस गर्ने गरेका छन् । अधिकांश सवारीले यात्रुलाई आधा बाटोमै अलपत्र छाड्ने गरेका छन् । पैसा कमाउने लोभका कारण यात्रुलाई गन्तव्यमा पु¥याउने बाचा गरेर आधा बाटोबाटै सवारी साधन फर्किने गरेको यात्रुहरूले गुनासो गरेका छन् । जसका कारण सर्वसाधारणले आफ्नो सामान हराउनुका साथै बाटोमा अन्य समस्या पनि झेल्नुपरेको छ । यातायात व्यवसायीहरूको गैरजिम्मेवारीपूर्ण कार्य हो यो ।
यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुलाई सास्ती भएको हो । राजमार्गको गुणस्तर विस्तारै सुधार हुँदै गएएको छ । तर पनि यातायात व्यवसायी र कर्मचारीको मनपरीका कारण अझैं पनि कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सहजताको आभास गर्न नपाएको गुनासो यात्रुहरूले गरेका छन् । गन्तव्यसम्म नपु¥याइदिँदा यात्रुहरू बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । आफूहरूलाई जुम्ला हुँदै मुगु जाने भन्दै ल्याए पनि बाटोमा अलपत्र पारेको यात्रुले बताए । ‘जहिले पनि आधा गन्त्यव्यमै छोड्छन् गाडीवालाले’ उनीहरूको गुनासो छ, ‘यातायात व्यवसायीको मनपरीले कहिल्यै सहज यात्रा गर्न पाइदैंन । कहिलेसम्म हामीले सास्ती भोग्ने ?’ यातायात व्यवसायीहरू फरक समितिसँग हिसाब नमिल्ने भन्दै यात्रुलाई आफू सम्बद्ध समितिको गाडी नआएसम्म यात्रुलाई पठाउन मान्दैनन् । बीच बाटोमा अलपत्र पार्दा पैसा फिर्ता मागेर अर्को गाडीमा जान्छु भन्दा पनि उल्टै व्यवसायीले झपार्ने गरेको पाइएको छ । मनलाग्दी बाटोमा गाडी रोक्ने र यात्रुहरूको समयलाई ध्यान नदिने गरेका छन् । कुनै औपचारिक कामकाजको लागि सार्वजनिक सवारीको यात्रा गर्ने यात्रुले कहिले पनि समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । यस विषयमा प्रशासनले हालसम्म कुनै कडा कदम उठाउन सकेको छैन । यात्रुलाई तोकिएको निश्चित गन्तव्यसम्म पुर्याउनु सवारी साधनको कर्तव्य हो । तर आफ्नो कर्तव्य भुलेर सवारी साधन सञ्चालकहरूले यात्रुहरूलाई ठगी गरिरहेका छन् । यस्तो ठगि रोक्न स्थानीय प्रशासनले बेलैमा ध्यान पु¥याउन जरुरी छ ।
यातायात व्यवसायीको एकछत्र राजका कारण प्रशासनले कुनै कदम उठाउना साथ यातायात बन्द गर्ने गरेका कारण नियमनकारी निकायले कुनै कडा कदम चाल्न नसकेको हो । यस्तै अहिले पनि सार्वजनिक सवारीमा लक्षित वर्गका नागरिकले सहजताका साथ यात्रा गर्न पाउन सकेका छैनन् । यस्तै कर्णाली राजमार्गमा चल्ने सार्वजनिक सवारी साधानमा लक्षित वर्गलाई राज्यले दिएको छुट कार्यान्वयन हुन सकेको छैन । ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई राज्यले सवारीमा छुट दिए पनि आफूहरूले नपाएको सर्वसाधारणको गुनासो छ । छुट माग्दा सीट नपाइने भन्दै हपार्ने गरेको विद्यार्थीहरूले बताएका छन् । यात्रामा ज्येष्ठ नागरिकलाई पनि छुटको व्यवस्था भए पनि यातायात व्यवसायीको मनपरीका कारण लागू हुन सकेको छैन । यातायात व्यवसायीहरूको यस्तो लापरबाही र दादागिरी चल्दा पनि प्रशासनले यसतर्फ ध्यान दिएको पाइँदैन । यसतर्फ प्रशासनले जतिसक्दो चाँडो उचित कदम चाल्न आवश्यक छ ।

प्रकाशित मितिः   २६ असार २०७४, सोमबार १५:५४