बीच बाटोमै छाडिन्छन् यात्रु

जुम्ला, २४ असार ।
कर्णाली राजमार्गमा यातायात व्यवसायीको दादागिरीका कारण यात्रुले सधैं सास्ती खेप्नुपरेको छ । समयमा गन्तव्यमा नपु¥याउने र कर्मचारीको अभद्र व्यवहारले यात्रु हैरान बनेका हुन् । नेपालगन्ज र सुर्खेतदेखि कालिकोट, जुम्ला र मुगुसम्म यात्रा गर्ने यात्रुले सास्ती भोग्दै आएका छन् ।

सडकको अवस्थामा केही सुधार भए पनि गाडीवालाहरूको व्यवहारमा सुधार नहुँदा कर्णाली राजमार्गमा यात्रा गर्ने सर्वसाधारणले सकस महसुस गर्ने गरेका छन् । अधिकांश सवारीले यात्रुलाई आधा बाटोमै अलपत्र छाड्ने गरेका छन् । पैसा कमाउने लोभका कारण यात्रुलाई गन्तव्यमा पु¥याउने बाचा गरेर आधा बाटोबाटै सवारी साधन फर्किने गरेको यात्रुहरूले गुनासो गरेका छन् । जसका कारण सर्वसाधारणले आफ्नो सामान हराउनुका साथै बाटोमा अन्य समस्या पनि झेल्नुपरेको छ ।
यातायात व्यवसायीको अस्वस्थ प्रतिस्पर्धाका कारण कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुलाई सास्ती भएको हो । राजमार्गको गुणस्तर विस्तारै सुधार हुँदै गए पनि यातायात व्यवसायी र कर्मचारीको मनपरीका कारण अझैं पनि कर्णाली राजमार्गमा यात्रा गर्ने यात्रुले सहजताको आभास गर्न नपाएको मुगुका लागि हिँडेका यात्रु रणवीर बलमे बताए । आफूहरूलाई जुम्ला हुँदै मुगु जाने भन्दै ल्याए पनि बाटोमा अलपत्र पारेको उनको गुनासो छ । ‘जहिले पनि आधा गन्त्यव्यमै छोड्छन् गाडीवालाले’ उनले भने, ‘यातायात व्यवसायीको मनपरीले कहिल्यै सहज यात्रा गर्न पाइदैंन । कहिलेसम्म हामीले सास्ती भोग्ने ?’
यातायात व्यवसायीहरू फरक समितिसँग हिसाब नमिल्ने भन्दै यात्रुलाई आफू सम्बद्ध समितिको गाडी नआएसम्म यात्रुलाई पठाउन मान्दैनन् । बीच बाटोमा अलपत्र पार्दा पैसा फिर्ता मागेर अर्को गाडीमा जान्छु भन्दा पनि उल्टै व्यवसायीले झपार्ने गरेको कालिकोटका टंक शाहीले बताए । मनलाग्दी बाटोमा गाडी रोक्ने र यात्रुहरूको समयलाई ध्यान नदिने गरेको उनको गुनासो छ । कुनै औपचारिक कामकाजको लागि सार्वजनिक सवारीको यात्रा गर्ने यात्रुले कहिले पनि समयमा गन्तव्यमा पुग्न सकेका छैनन् । यस विषयमा प्रशासनले हालसम्म कुनै कडा कदम उठाउन सकेको छैन ।
यातायात व्यवसायीको एकछत्र राजका कारण प्रशासनले कुनै कदम उठाउना साथ यातायात बन्द गर्ने गरेका कारण नियमनकारी निकायले कुनै कडा कदम चाल्न नसकेको हो । यस्तै अहिले पनि सार्वजनिक सवारीमा लक्षित वर्गका नागरिकले सहजताका साथ यात्रा गर्न पाउन सकेका छैनन् । महिला, किशोरी, ज्येष्ठ नागरिक लगायत चढे पनि यातायात कर्मचारीको असभ्य भाषाका कारण अप्ठ्यारो महसुस हुने गरेको जुम्ला सिंजाका ६१ वर्षीया बलीराज रोकायाले बताए । लाखौं लगानी गरेर गाडी किन्ने तर त्यसको व्यवसायमा एउटा सभ्य कर्मचारी राख्न नसकेको उनको भनाइ छ ।

लक्षित वर्गलाई छुट छैन
यस्तै कर्णाली राजमार्गमा चल्ने सार्वजनिक सवारी साधानमा लक्षित वर्गलाई राज्यले दिएको छुट कार्यान्वयन हुन सकेको छैन । ज्येष्ठ नागरिक, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति लगायतलाई राज्यले सवारीमा छुट दिए पनि आफूहरूले नपाएको सर्वसाधारणको गुनासो छ ।
‘हामीले यो बाटोमा यात्रा गर्न लागेको सात वर्ष भयो,’ जुम्ला रारालिहीका रामबहादुर बुढाले भने, ‘तर आजसम्म विद्यार्थी परिचय पत्रमा छुट दिइएको छैन । छुट माग्दा सीट नपाइने भन्दै हपार्छन् ।’ यात्रामा ज्येष्ठ नागरिकलाई पनि छुटको व्यवस्था भए पनि यातायात व्यवसायीको मनपरीका कारण लागू हुन नसकेको ज्येष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तीर्थराज भारतीको भनाइ छ । ‘हामीलाई गाडीमा चढ्दा पनि हपारेर साइडमा लगाउँछन्, उनले भने, ‘अनि छुटको त कुरै नगरम् ।’ केही दिन पहिला जुम्लामा विद्यार्थी संगठनहरूले आन्दोलन गरेपछि यातायात व्यवसायीबीचमा विद्यार्थीलाई छुट दिइने सहमति भएको छ ।
ठूला बसमा लामो यात्रामा दुई जना र छोटो यात्रामा सबै विद्यार्थीलाई २० प्रतिशत छुट दिइने सहमति भएको छ । तर यातायात व्यवसायीले सबैलाई छुट दिन नसकिने भन्दै अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई छुट दिन इन्कार गरेका छन् । सबैलाई छुट दिँदै जाँदा राज्यको सम्पत्ति नभइ व्यक्तिगत सम्पत्ति नाश हुने भन्दै व्यवसायीले अन्य वर्गलाई राज्यले गरेको व्यवस्था अनुसार छुट दिन मानेका छैनन् । यता अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरूले भने आफूहरूले आन्दोलन र दर्धा दिन नसक्ने भएका कारण हेला गरिएको गुनासो गरेका छन् ।

प्रकाशित मितिः   २५ असार २०७४, आईतवार १४:३१