मोडलिङमा सुर्खेतका नविनको उदय

उनी पेसाले नेपाल सशस्त्र प्रहरी हुन् । देश र जनताको सुरक्षाको जिम्मेवारी उनको काँधमा छ । हाल सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय दांङमा कार्यरत उनी सीमा सुरक्षाका लागि चनाखो भइ अहोरात्र ड्युटीमा खटिन्छन् । तर देश र जनताको सुरक्षाको जिम्मेवारी सँगसँगै आफ्नो कला र प्रतिभामार्फत् जनताको मन जित्न पनि उनी उत्तिकै खटिएका छन् ।

उनी अर्थात् बराहतला गाउँपालिका वडा नम्बर ८ सुर्खेत निवासी नविन वली । उनी नेपाली मोडलिङमा स्थापित हुन लागिपरेका छन् । र, सफलता पनि प्राप्त गर्दैगइरहेका छन् । मोडलिङमा लागेको धेरै समय भएको छैन । छोटो समयमा नै उनले आफूलाई अब्बल बनाउँदै लगेका छन् । आजभन्दा पाँच महिनाअघि सुर्खेतकै सञ्चारकर्मी एवम् गीतकार नवराज शर्माको ‘आउनु है माया’ बोलको लोकदोहोरी गीतबाट म्युजिक भिडियोमा मोडलिङ करिअर सुरु गरेका वलीले पाँच महिनामा करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
यी सुर्खेती मोडलका एकपछि अर्को गर्दै धमाधम म्युजिक भिडियो सार्वजनिक भइरहेका छन् । छोटो समयमै करिब एक दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका वलीले पछिल्लो पटक तीज गीतमा अभिनय गरेका छन् भने उनले नै अभिनय गरेको खेमराज वलीको लोकदोहोरी गीत ‘सुटुक्कै आउनु है माया’को म्युजिक भिडियो यसै साता सार्वजनिक भएको छ । यसभन्दा अघिल्लो साता उनकै मोडलिङ रहेको अर्को लोकदोहोरी गीत ‘थला परेको…’ सार्वजनिक भएको थियो । हालै अभिनय गरेको तीजको गीत पनि यसै साता सार्वजनिक हुने तयारीमा रहेको छ ।


यसरी लगातार एकपछि अर्को म्युजिक भिडियोमा अभिनय गरिरहेका वली मोडलिङमा जम्दै गएका छन् । वलीले नवराज शर्माको ‘आउनु है मायालु’, र खेमराज वलीको ‘सुटुक्क आउनु है माया’, सँगसँगै पुष्कल शर्माको ‘मलाई धोका दिएर’ लगायतका चर्चित गीतको म्यजिक भिडियोमा अभियन गरिसकेका छन् । सानैदेखि अभिनयमा रुचि भएका उनी जागिर सँगसँगै अभिनयको क्षेत्रमा पनि अघि बढ्ने योजनामा रहेको बताउँछन् । अभिनयमार्फत् नेपाली गीत संगीतको क्षेत्रमा सुर्खेतको परिचयलाई अझै उचाईमा पु¥याउन आफू लागिपर्ने उनले बताए ।

प्रकाशित मितिः   २४ असार २०७४, शनिबार १३:३७