‘बाख्रा चराउन जाँदा माया बस्यो’
वारिपारिको गाउँ तर घाँस–दाउरा काट्ने वन भने एउटै थियो । गाइ–बाख्रा चराउनसँगै जाने गर्थे । मेलापात गर्दा भेट भइरहन्थ्यो । यिनै भेटहरूले दुवैको मनमा एकअर्काप्रति प्रेमको अंकुरण गराइसकेको रहेछ । त्यही प्रेम विस्तारै हुर्कियो, फूल्यो र फक्रियो । उनीहरू अर्थात् वीरेन्द्रनगर–१२ खोरियाका डम्मर केसी र वीरेन्द्रनगर–१३ दाहालडाँडाकी कुन्ती श्रेष्ठ ।
कुन्तीले डम्मरलाई राम्रोसँग चिन्दा उनी १४ वर्षकी थिइन् । त्यो भन्दा अगाडि नाम सुने पनि कुन्तीले डम्मरलाई राम्रोसँग चिनेकी भने थिइनन् । तर, डम्मरले भने कुन्तीलाई बाल्यकालदेखि नै चिनेका थिए । उनलाई कुन्ती मन परेकी थिइन् । त्यसैले घुम्ने निहुँमा कुन्तीलाई हेर्न उनको गाउँ धाइरहन्थे । त्यो कुरा कुन्तीलाई भने थाहा थिएन ।
जब कुन्तीले पनि डम्मरलाई राम्रोसँग चिनिन् तब डम्मरले उनलाई प्रेम प्रस्ताव राखे । डम्मरको प्रेम प्रस्ताव कुन्तीले सहजै स्वीकार भने गरिनन् । प्रेम प्रस्ताव राखेको केही महिनापछि मात्र सोच विचार गरेर उनले हुन्छ भन्ने उत्तर फकाइन् । गाई बाख्रा चराउने एउटै वन थियो । त्यही गाई बाख्रा चराउने निहुँमा उनीहरू भेट्ने गर्थे ।
क्षेत्रीको छोरा नेवारको छोरी माग्न जाने त्यतिबेलाको समाजले दिदैंनथ्यो । तर, उनीहरू एकअर्काेलाई माया गर्थे । डम्मरकोे घरपरिवारले पनि नेवारको छोरी माग्न जान मान्दैनथें । त्यही सोचेर उनीहरूले २०५२ सालमा भागी विवाह गरे । विवाह पछि कुन्तीको माइतीले छोरीलाई भागेर विवाह गरी भनेर रिसाएनन् कि उल्टै छोरीलाई बिहेपछि घरमा गर्नुपर्ने काम र संस्कारका बारेमा सिकाएर गए ।
विवाह पछि कुन्तीले घरमा बुहारी र माइतीमा छोरी हुनुको अनुभव धेरै फरक पाइन् । एक त उनीहरूले अन्तर जातीय विवाह गरेका थिए त्यसैमा विरानो घरमा कुन्तीलाई सुरु–सुरुमा अलि गाह्रो नै भयो । कुन्ती बाल्यकालदेखि नै मिलनसार र शान्त स्वभावकी भएका कारण उनी घरमा सबैसँग छिट्टो नै घुलमिल हुन सकिन् ।
पीता टोपबहादुर केसी र माता नरिसरा केसीको कोखबाट २०३१ सालमा वीरेन्द्रनगर–१२ खोरियामा जन्मिएका डम्मर केसीको बाल्यकाल केही रमाइलो पल र केही दुःखसँगै बित्यो । बाल्यकालमा अलि चञ्चले स्वभावका केसीको बाल्यकाल गाई बाख्रा चराउने र पढाइमा नै बित्यो । घरमा गाई बाख्रा भएकाले उनी बिहान घास काट्ने दिउँसो स्कुल पढ्न जाने गर्थे । उनी बाल्यकालदेखि नै अलि हक्की स्वभावका थिए । जस्तो सुकै काम पनि गर्नसक्ने, बोल्न नडराउने स्वभाव उनमा थियो । उनी कक्षा एकमा पढ्दा ६ वर्षका थिए । स्कुल टाढा भएकाले अलि ठूलो भएपछि मात्र उनी नेवारे स्कुलमा एक घण्टाको बाटो हिँडेर पढ्न जाने गर्थे ।
कक्षा एकदेखि कक्षा ८ सम्म नेवारे स्कुलमा पढेका केसीले २०५१ सालमा एसएलसी ईत्राम स्कुलदेखि गरे । सुर्खेत शिक्षा क्यापसबाट १२ कक्षा पास गरेका उनी त्यसपछि पढाइ छोडेर कृषि पेशालाई अंगाले । उनको बाल्यकालदेखिको रुची कृषि पेसा नै थियो । त्यतिबेलाको समयमा १२ कक्षा पढेको युवाले कृषि पेसा अंगाल्नु चुनौती नै थियो । बाऊ बाजेले गर्दै आएको कामलाई उनले व्यवसायी रूपमा नै भैंसी पालन सुरु गर्नु उनका लागि धेरै चुनौतीहरू थिए । उनी बाल्यकालदेखि नै बोट बिरुवालाई माया गर्थे । बोटबिरुवा रोप्ने उनको बाल्यकालदेखि कै रुची थियो । २०५५ सालदेखि एउटा भैंसीबाट व्यवसायिक रूपमा भैंसीपालन सुरु गरेका केसीको गोठमा अहिले भैंसी, गाई, गोरु गरेर १६ वटा छन् ।
अन्तर जातीय विवाह गरेका कारण केसी घरबाट विवाह गरेको केही वर्षमा नै घरपरिवारबाट छुटिनुप¥यो । उनको कृषि पेसामा नै लागे पनि अझै धेरै पढ्ने इच्छा थियो । तर, घरव्यवहारमा परेपछि उनी पढाइ छोड्न बाध्य भए । घरपरिवारले छुट्याइ दिएपछि उनका संघर्षका दिन सुरु भए । कृषि पेसामा नै रमाउने उनी एउटा भैंसीबाट भैंसी व्यवसाय सुरु गरे । विवाहपछि नै व्यवसाय सुरु गरेका यो जोडीले एकअर्काेको हरेक सुख दुःखमा साथ दिए । जसले जे काम देख्यो त्यही काम गर्छन् । कामको भागवण्डा छैन । साथका रहेका दुई छोरा र एक बुहारी गरी पाँच जनाको परिवार कृषि पेसामा नै निर्भर छन् । त्यति मात्र होइन आफ्नै घरमा उच्च कोटी दुग्ध संकलन सहकारी राखेर गाउँ भरीको दुध संकलन गरी बजार पठाउने काम पनि गर्छन् । जनता प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र ढापदमारी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षसमेत भएर काम गरिरहेका छन् उनले । गाउँमा केही काम गर्दा उनकै नेतृत्वमा हुने गर्छ । अहिले कृषि पेसा व्यवसायबाट नै उनले गाउँमा तीन विगाह जग्गा किनिसकेका छन् । बजारमा घरेडी, खेत, आफ्नै दुई वटा बाइक किनिसकेका छन् । उनीहरू भन्छन्, ‘दुःख र मेहेनत गर्नसकेमा असफल भन्ने कुरा केही छैन जुन हामीले संघर्ष ग¥यौं त्यसको फल आज पाएका छौं ।’ अहिले पनि उनीहरू दुध बेचेरै मासिक रूपमा खर्च कटाएर ५० हजार आम्दानी गर्ने गर्छन् । त्यति मात्र होइन दुई जनालाई रोजगारी समेत दिएका छन् ।
विवाह गरेको केही वर्षसम्म त केसीलाई कुन्तीले जागिर खुवाउने धेरै प्रयास पनि गरिन् । तर, केसीको रुची भने कृषिमा थियो । पछि दुवैको सल्लाहमा उनीहरूले भैंसी पालनलाई व्यवसायी रूपमा अगाडि बढाए । धेरै संघर्षपछि अहिले सफल कृषक जोडीसमेत बनेका छन् । गाउँमा उदाहणीय जोडीको रूपमा चिनिएका छन् ।
पिता लालबहादुर श्रेष्ठ र माता सीता श्रेष्ठको कोखबाट २०३७ सालमा जन्मिएकी कुन्ती बाल्यकालमा लजालु र शान्त स्वभावकी थिइन् । गाउँमा भएकाले घरको सबै काम गर्नुपथ्र्यो । घरको काम सकेर मात्र स्कुल पढ्न जाने गर्थिन् । स्कुल टाढा भएकाले उनले कक्षा सातसम्म मात्र पढिन् । घरको सबै काम गर्नुपर्ने भएकाले पढाइ भन्दा पनि त्यतिबेलाको समयमा काम ठूलो हुन्थ्यो । छोरीलाई धेरै पढाउनु हुँदैन भन्ने हाम्रो समाजमा कुन्तीले पनि त्यो समस्या भोगिन् ।
१५ वर्षको उमेरमा विवाह गरेकी कुन्तीले घरपरिवारमा विवाहपछि कसैले केही भने पनि केही नभनेरै बस्थिन् । कसैले केही पकाए भने नदिएसम्म खादैंन थिइन् । उनले भनिन्, ‘माइतीमा बाबु आमालाई थर्काएर खाए जस्तो विवाहपछि घरमा नहुने रै’छ ।’ माइतीमा सबैभन्दा अगाडि खाने छोरी विवाह पछि सबैलाई पकाएर खुवाउनुपर्ने, बोल्दा विचार पु¥याएर बोल्नुपर्ने यो चुनौतीहरू पार गर्दै एउटा असल बुहारी मात्र नभइ असल पत्नीसमेत बन्न सफल भइन् ।
यो जोडीको एक आपसमा कहिलेकाहीं सामान्य झगडा भए पनि झगडाले ठूलो रूप भने लिएको छैन । उनीहरू भन्छन्, ‘एउटा आगो भए अर्काे पानी हुनुपर्छ सम्बन्धमा चिसोपन कहिल्यै आउँदैन ।’ केसी अलि बढी रिसाउने भए पनि कुन्ती नबोलेरै बस्ने भएकाले यो जोडीको झगडा भएको छैन । यो जोडी एकअर्काेको प्रशंसा खुलेरै गर्छन् । केसीलाई कुन्तीको सबैभन्दा मन पर्ने बानी सबैसँग मिल्ने, कसैलाई केही नभन्ने, मिजासिलो बानी छ । त्यस्तै कुन्तीलाई पनि केसीको सबै बानी मनपर्छ तर, कहिलेकाहीं झनक्कै रिसाउने बानी छोड्दिएको भए हुन्थ्यो जस्तो लाग्ने गर्छ । केसीले कुन्तीलाई काठमाडौं, पोखरा, पूर्णागिरी, स्वर्गद्वारी, ठाकुरद्वार, सौराहा घुमाएका छन् । कुन्तीलाई भने सहरभन्दा बढी गाउँ, पहाड, पानी छहारा जस्ता ठाउँहरूमा घुम्न रहर लाग्ने गर्छ ।
साझा बिसौनी संवाददाता ।