आगलागी र समुदायको भूमिका
-मिति २०७४।०२।१४ गते बिहान ०९ः१० बजेको समयमा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ स्थित धम्बोजी चौकमा रहेको श्रेया इम्पोरियमा बिजुलीको तार सर्ट हुन गई आगलागी हुँदा उक्त फर्निसिङ्गमा रहेका सम्पूर्ण सामानहरू जलेर नष्ट भएको र आगलागी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले १२ः४५ मा ४ वटा दमकलको सहायतामा नियन्त्रणमा आएको तथा २ करोड ८० लाख बराबरको अनुमानित क्षति भएको ।
-मिति २०७४।०२।१८ गते बिहान ०५ः०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. १० खजुरामा रहेको कोटेश्वर टायर रिसोलिङ्ग सेन्टरमा बिजुलीको तार सर्ट हुन गइ आगलागी हुँदा उक्त रिसोलिङ्ग सेन्टरमा रहेका सरसामान जलेर नष्ट भइ करिब १ करोड ५० लाख बराबरको नोक्सान भएको र आगलागी बिहान ०७ः३० बजे नियन्त्रणमा आएको ।
यी त जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रबाट प्राप्त भएका प्रतिनिधि घटनामात्र हुन । असार र श्रावण महिनामा न्यून मात्रामा हुने आगलागीका घटनाहरू बाँकी १० महिनामा धेरै मात्रामा हुने गर्दछन् । त्यसमा पनि अझ फागुण, चैत, वैशाख र जेठ महिनामा अत्याधिक मात्रामा हुने विपद् अन्तर्गत पर्दछ । मानवीय क्षति न्यून मात्रामा भएता पनि उच्च भौतिक क्षति निम्त्याउने आगलागी नेपालको अधिकांश भू–भागमा हुने विपद् अन्तर्गत पर्दछ । घरमा आगलागी हुँदा अन्न–पात, लत्ता–कपडा र धनमालको ठूलो क्षति भइ मानिसहरू घरवारविहीन हुने अवस्थाको सिर्जना हुने साथै गोठमा आगलागी हुँदा पशु चौपायाको जलेर मृत्यु हुँदा आयआर्जन तथा जीविकोपार्जनमा ठूलो समस्या ल्याएको हुन्छ । वन तथा पाखापखेरामा हुने आगलागीले वन्यजन्तु चराचुरुङ्गी, किरा, पट्याङ्ग्रा, वनस्पति तथा बहुमूल्य वनजन्य श्रोतमा ठूलो नोक्सानी गराउनुका साथै वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पारेको हुन्छ र उक्त आगलागी मानव बस्तीमा प्रवेश गरी ठूलो भौतिक क्षति पु¥याएको पाइन्छ ।
मूख्यतया बिजुलीको तार सर्ट भइ हुने आगलागीले ठूला–ठूला घर व्यापारिक केन्द्रहरूमा निकै ठूलो धन मालको क्षति पु¥याएको पाइएको छ । साथै खाना पकाउन प्रयोग गरिने एलपीजी ग्यास चुहावट भएर सहर बजारका घरमा आगलागी हुने गरेको हामी सबैलाई थाहा नै छ । त्यस्तै काठले बनाएका घर तथा फुस, खर आदिले छाएका घरहरूमा खाना पकाउने क्रममा तथा बच्चाबच्चीको असावधानीका कारण आगलागी हुन गइ जनधनको क्षति हुने साथै परिवार समेत बे–घरर विस्थापित भएको घटना प्रकाशमा आउने गरेका छन् । वन जङ्गलमा लागेको डढेलो मानव बस्तीमा पसि क्षति पु¥याएको भन्ने समेत सञ्चार माध्यमहरूमा आउने गरेको पाइन्छ । स–साना मानवीय त्रुटी र लापरबाहीका कारण हुने आगलागीलाई हुन नदिने तथा भइ हालेको अवस्थामा क्षतिलाई न्यून गर्न समुदायस्तरबाट के कस्ता प्रयास तथा सावधानीका उपायहरू अवलम्बन गर्न सकिन्छ त !
राज्यले सबै नगरपालिकाहरूलाई एक एक वटा दमकल उपलब्ध गराउने भनिसकेको छ यद्यपि सबै नगरपालिकाले दमकल पाएका भने छैनन् । हामीसँग दमकल नभएर के भो र ? पानीको ट्याङ्कर भरेर राख्यौं भने आवश्यक परेको बेला दमकलको काम गर्न सक्दछ । सामाजिक संघ–संस्था, युवा क्लब, आमा समूह आदिले तिहारमा देउसी भैलो खेली संकलित रकमले एम्बुलेन्स किन्ने गर्दछन् । अब हामीले त्यसलाई अझ फराकिलो बनाएर लग्नुपर्ने देखिएको छ । अब एम्बुलेन्स मात्र होइन दमकल किन्यौ भने आगलागीबाट हुने ठूलो जनधनको क्षतिलाई न्यूनीकरण गर्न सक्दछौं । दमकल किन्ने श्रोत जुट्न सकेन भने पनि हामीले पानीको ट्याङ्कर किनेर राख्न सक्छौं र आवश्यकता अनुसार प्रयोग गरी आगलागी नियन्त्रणमा प्रयोग गर्न सक्छौं । हामीले आफू र आफ्नो समुदायसँग भएको श्रोत र साधन जुटाई उच्चतम ढङ्गबाट सदुपयोग ग¥यौं भने मात्र यी र यस्ता विपद्बाट समुदायलाई सुरक्षित राख्न सक्छौं । विशेष गरी सहर बजारमा आगलागीबाट ठूलो धन मालको क्षति हुने भएकाले उद्योग वाणिज्य संघले श्रोत जुटाउन विशेष पहल गर्नुपर्ने देखिन्छ । आगलागी भएको बेलामा तत्काल नियन्त्रण गर्नका लागि कार्यालयहरूमा कम्तीमा पनि एउटा फायर एक्सटिङग्यूसर व्यवस्था गरिनुपर्ने आवश्यकता देखिएको छ । यस्ता उपकरणहरू केही कार्यालय तथा भवनहरूमा देखिएता पनि धेरैमा देखिदैनन् । जसबाट ठूलो क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ ।
घरको छतमा राखिएको पानी ट्याङ्कीमा सधैं पानी हुन्छ भन्न सकिदैन । अझ सुख्खा मौसममा त प्रायः घरका पानी ट्याङ्की रित्तै देखिन्छन् । अब हामीले घरमा ट्याङ्की जडान गर्दा ट्याङ्कीको फेदमा कम्तीमा पनि १०० लिटर पानी मौज्दात रहने गरी ट्याङ्की प्वाल पारी पाइप जडान गरी पानी निकाल्नु लाभकारी हुन्छ । यसो गर्दा आफ्नो तथा समुदायमा आगलागी हुँदा तत्काल नियन्त्रण गर्न ठूलो मद्दत पुग्दछ । घरमा जडान गरिने बिजुलीका सामग्री तथा उपकरणहरू छनौटमा निकै ध्यान दिनुपर्ने हुन्छ सकभर राम्रा र गुणस्तरीय सामग्री तथा उपकरण खरिद गरी प्रयोग गर्नाले आगलागी नियन्त्रणमा ठूलो मद्दत पु¥याउँछ । यसरी प्रयोग गरिएका सामग्री तथा उपकरणहरूको समय–समयमा निगरानी गरिनुपर्ने हुन्छ र फेरबदल गर्नुपर्ने अवस्था भए तत्काल फेर्नुपर्छ । घर बाहिर जाने बेलामा सकभर बिजुलीको मुख्य स्वीच (एमसी) बन्द गरेर जाँदा आगलागीबाट सुरक्षित रहन सकिन्छ त्यस्तै पसल बन्द गरेर घर जाने बेलामा पनि मुख्य स्वीच (एमसी) बन्द गरेर जानु उपयुक्त हुन्छ ।
फुसले तथा खरले छाएका कच्ची घरहरूमा भान्साबाट आगलागी हुने हुँदा भान्सामा काम गर्दा निकै चनाखो भएर काम गर्नुपर्ने हुन्छ साथै भान्सामा आगो बालेर बाहिरको काम गर्न जानु हुँदैन र जानै परेमा आगो निभाएर मात्र जानु सुरक्षित हुन्छ । दिउँसोको समयमा हावा चल्ने हुँदा भान्साको काम सकभर बिहान र साँझ मात्र गरेमा सम्भावित क्षतिलाई न्यून गर्न सकिन्छ । बालबालिकालाई एक्लै भान्साको काम लगाउनु सुरक्षित हुँदैन साथै प्रज्वलनशील पदार्थ बालबालिकालाई बाल्न दिनु हुँदैन र सकभर बालबालिकाबाट टाढै राख्नु पर्दछ । घर आँगन वरीपरी सुकेका झारपात तथा काठ राख्दा अन्य स्थानबाट फैलिएको आगो आइ आगलागी हुने हुँदा घर आँगन सफा राख्नु पर्दछ । माटोले आगो निभाउन मद्दत गर्ने हुँदा ओसिलो माटो बोरामा भरी घर वरीपरी राख्नाले आगलागी नियन्त्रणमा ठूलो सहयोग पु¥याउँछ । यी र यस्ता क्रियाकलापबाट आगलागी नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सकिन्छ । आगलागी नियन्त्रण गर्ने सामग्रीहरू जस्तैः वाल्टिन, पाइप, पानी ट्याङ्की आदिको सुरक्षित भण्डारण गरी आवश्यकता परेको बेलामा तुरुन्त ल्याउने वातावरण मिलाउनु पर्दछ । यी सामग्रीहरू समुदाय आफूले सम्भावित सुरक्षित स्थानको पहिचान गरी भण्डारण गर्ने र वार्षिक रूपमा अद्यावधिक गरी सामग्रीहरू चुस्त दुरुस्त रहेको सुनिश्चितता गर्नुपर्ने हुन्छ ।
आफू, आफ्नो परिवार र आफ्नो समुदायलाई चनाखो बनाई आगलागी हुन नदिने र अचानक भएमा यसबाट हुने क्षतिलाई न्यून गर्न समुदायले एक–आपसमा ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्दै हातेमालो गर्नु आवश्यक हुन्छ । यस्ता विपद्मा समुदाय नै पहिलो पूर्वतयारी र प्रतिकार्य गर्ने माध्यम हो भन्ने कुरा बुझ्नु जरुरी छ । समुदायले आफ्नो स्रोत साधन जुटाइ, क्षमता पहिचान गरी त्यसको परिचालन गर्दै आगलागी नियन्त्रणमा ठूलो सफलता प्राप्त गर्न सक्दछ । तसर्थ समुदायलाई सशक्तीकरण गराई विपद्सँग सामना गर्न सक्ने क्षमताको विकास भएमा मात्र समुदाय विपद्बाट सुरक्षित रहन सक्दछ ।
प्रकाशित मितिः २३ असार २०७४, शुक्रबार १३:२२
साझा बिसौनी ।