दलित महिलामाथि कुटपिट गर्ने दुई जना पक्राउ

सार्वजनिक धारामा पानी छोएको भन्दै दलित महिलामाथि निर्घात कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । सुर्खेतको लेकवेशी नगरपालिकास्थित साटाखानीका मनकुमारी राई र उनका छोरा मनबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो । पीडितको जाहेरीपछि बिहीवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय राम्जालीडाँडामा रहेको धारामा नुहाउँदै गर्दा पानी छोइदिएको भन्दै उनीहरूले स्थानीय टीकाकुमारी मिजारमाथि कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते टीकाको टाउको, छाती र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ । गत शुक्रवारको घटना भए पनि पीडितहरू प्रहरीमा उजुरी दिन आएपछि बुधवार मात्र यो घटना सार्वजनिक भएको हो ।

यसअघि पीडितको जाहेरी दर्ता गर्न आनाकानी गरेको प्रहरीले चौतर्फी दबाबपछि बिहीवार मात्र जाहेरी दर्ता गरेको हो । पीडित टीकाले आफूमाथि सार्वजनिक स्थलमा जातीय विभेद भएको र
कुटपिट भएको भन्दै राईका आमाछोराविरुद्ध जाहेरी दिएका हुन् । जातीय छुवाछुत र विभेदविरुद्धको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पीडकलाई नियन्त्रणमा लिइएको र मुद्दा पनि दर्ता भएको भन्दै प्रहरीले अब कानुन अनुसार प्रक्रिया अगाडि बढ्ने जानकारी दिएको छ । सुर्खेतका एसपी मोहन आचार्यले कानुन अनुसार दोषीलाई कारबाही र पीडितलाई न्याय दिलाउन आफूहरू तयार रहेको बताए ।

यस्तै राष्ट्रिय मानवअधिकार आयोगले घटनाबारे चासो लिएको छ । आयोगको क्षेत्रीय कार्यालय नेपालगन्जले घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । आयोगको क्षेत्रीय कार्यालयका प्रमुख मुरारी खरेलले पानी छोएकै आरोपमा कुटपिट हुनु जातीय विभेद भएको बताए । साथै उनले पीडितको जाहेरी दर्ता नहुनुको कारण र पीडितको न्यायबारे सुर्खेत प्रहरीसँग सोधपुछ गरिएको जानकारी दिए । यो घटना गम्भीर भन्दै उनले मिलापत्रको वहानामा पीडकलाई उन्मुक्ति दिने खतरा रहेकाले आयोगले निगरानी गरिरहेको उल्लेख गरे । पीडितलाई न्याय दिलाउनका लागि आफूहरू प्रयासरत रहेको दलित सेवा संघ सुर्खेतका उपाध्यक्ष टेकेन्द्र विश्वकर्माले बताए ।

लामो प्रयासपछि जाहेरी दर्ता गराउन सफल भएको दलित सेवा संघका केन्द्रीय महासचिव सञ्जुसिं विश्वकर्माको भनाइ छ । सार्वजनिक स्थलमा दलित भएकै कारण महिलामाथि कुटपिट भएको भन्दै उनले दोषीलाई कानुनी कारबाही हुनुपर्ने माग गरे । साथै उनले मुद्दालाई कमजोर बनाउने र पीडितलाई विभिन्न आश्वासन दिने खतरा रहेको भन्दै स्थानीय प्रशासनले पीडितको सुरक्षाको जिम्मा लिनुपर्ने बताए । जातीय भेदभाव र छुवाछुत गर्नेलाई २५ हजारसम्म नगद जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ । यस्तै पीडकबाट असुल गरेर पीडितलाई २५ हजारदेखि एक लाख रूपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था पनि रहेको छ ।

प्रकाशित मितिः   २३ असार २०७४, शुक्रबार १०:११