नालामा फोहोर, सडकमा बग्छ ढल
सुर्खेत, २३ असार । वीरेन्द्रनगर–८ का विवेक शाही बुधवार बिहान सडकमा थुप्रिएको फोहोर नालामा बगाउन प्रयास गरिररहेको अवस्थामा भेटिए । उनी छाता ओढेरै सडकमा जम्मा भएको फोहोर पानीसँगै नालामा बगाउन प्रयासरत थिए । यद्यपि फोहोर र अन्य वस्तुले बुजिएका नालाको ढल नै सडकबाट बगिरहेको थियो । विवेक शाहीजस्तै बुधवार वीरेन्द्रनगर बजार क्षेत्रमा थुप्रै व्यक्तिहरू भेटिए जो अविरल वर्षात्को समयमा पनि सडकबाट बगिरहेको ढल र ढलले थुपारेको फोहोर नालामा बगाउन प्रयास गरिरहेका थिए ।
अव्यवस्थित नालाका कारण वीरेन्द्रनगरवासीले हरेक पटकको वर्षात्मा यस्तो समस्या झेल्नु परिरहेको छ । पानी पर्ने बित्तिकै नालामा बग्नुपर्ने ढल सडकबाट बग्न थाल्छ । नालामा जम्मा भएको फोहोर पनि सडकमा थुप्रिन्छ । यसले एकातर्फ पैदल यात्रुलाई सास्ती दिइरहेको छ भने अर्कोतर्फ सडकलाई कुरूप र दुर्गन्धित बनाउने गरेको छ । तर आजसम्म पनि सम्बन्धित निकायले बजार क्षेत्रभित्रकै नाला व्यवस्थित गर्न सकेको छैन ।वीरेन्द्रनगर नगरपालिकाको मुख्य बजार क्षेत्रमा नै ढल व्यवस्थापन नहुँदा नागरिकले सास्ती व्यहोर्नु परेको हो । वर्षात्को समयमा सडकबाटै ढल बग्दा यहाँका नागरिकलाई सास्ती भएको हो ।
वर्षा हुने बित्तिकै वीरेन्द्रनगरका बजार आसपासका क्षेत्रका मुख्य सडकबाटै ढल बग्ने गरेको छ । ढल व्यवस्थापनका लागि भनेर सडकको दुवैतर्फ बनाइएका नाला भने लामो समयदेखि अव्यवस्थित छन् । जसले गर्दा नालाबाट बग्नुपर्ने सडकमा जाने गरेको छ । सामान्य वर्षात् हुँदा यहाँका सडकले नै नालाको रूप धारण गर्ने गरेका छन् ।मंगलवार रातीबाट पानी पर्दा बुधवार बिहानैदेखि वीरेन्द्रनगरका सडकमा भने ढल बगिरहेको थियो । वीरेन्द्रनगर–८ का विवेक शाही यस्तो समस्या हुनुमा सकडको छेउमा बनेका नाला अव्यवस्थित नाला नै प्रमुख कारण रहेको बताउँछन् । उनी भन्छन्, ‘नालाहरू त बनाइए तर त्यो नालामा कति पानी बग्छ त्यो आँकलन नगरिकिनै बनाइए । सडक नै यति चौडा छ, धेरै माथिबाट पानी बगेर आउँछ, नाला निकै सानो छ । अनि कहाँबाट अटाउँछ नालामा पानी ?’ शाहीले सम्बन्धित निकाय जिम्मेवार भएर नाला व्यवस्थित गर्नुपर्ने बताए । उनले स्थानीयवासी पनि सचेत हुनुुपर्ने जनाए ‘नाला बनाउने काम त स्थानीयको होइन तर नालामा फोहोर फाल्ने त उनै हुन । त्यो रोक्नुप¥यो’ शाहीले भने ।
वीरेन्द्रनगरको बुद्धपथलाइनमा अलिक ठूलो पानी प¥यो भने मानिसहरू सडकमा हिँड्न त के मोटरसाइकल, साइकल जस्ता सवारीहरू चलाउन पनि सकिँदैन । वीरेन्द्रनगरको प्रमुख चौकमध्ये एक वीरेन्द्रचौकमा पानी पर्नासाथ सबै फोहोर जति चोक वरपर आएर थुप्रिन्छ । यो समस्या वीरेन्द्रनगरको मुख्य बजारमा मात्रै छैन, मुख्य बजार क्षेत्रका आसपासका क्षेत्रहरू कालुङ्गचोक, खजुरा, यरीचौक, मंगलगढी लगायतका स्थानमा पनि उस्तै समस्या छ । रत्न राजमार्ग छेउमै रहेको खजुरास्थित ईत्राम खोलाको पुल नजिक त अलि ठूलो वर्षा भयो कि सडक भन्दा माथिल्लो क्षेत्रमा डुवान पर्ने डर हुन्छ । यस्तै वीरेन्द्रनगर वडा नम्बर–८ मा कालुङ्गचौकदेखि रत्नमार्ग जोड्ने सडकमा नालाको सबै पानी सडकबाट बग्छ । पानी मात्र बग्ने होइन, नालामा फालिएका फोहोर पनि सबै सडकमा आएर थुप्रिन्छन् । एक त सबै पानी सडकबाट बगेको हुनाले हिँड्न कठिन हुन्छ, अर्काे सडकमा सबै फोहोर थुप्रिने हुनाले त्यसले प्रदूषण बढाँउछ । फोहोरले सबै सडकलाई कुरूप र दुर्गन्धित बनाउने गरेको स्थानीयवासी बताउँछन् ।वीरेन्द्रनगर नगरपालिकाले समय समयमा फोहोर उठाँउछ । तर स्थानीयहरू फोहोर बोक्न आएको गाडीलाई फोहोर दिनुभन्दा पनि नालामै फाल्नाले पनि समस्या हुने गरेको हो ।
वर्षामा नाला भरिएर सबै फोहोर सडकमा आउँछ । कोही पनि त्यो फोहोर टिपेर फाल्दैनन् । फोहोर सडकमै रहन्छ । नाला सहज रूपले सञ्चालन हुन नसक्ने अर्काे कारण हो, निर्माणको काम । वीरेन्द्रनगरमा जे जति संरचनाहरू निर्माण भएका छन, त्यसको लागि आवश्यक गिट्टी, बालुवा सडकमै फालिन्छन् । त्यसले गर्दा नाला पूरै पुरिन्छ । वर्षामा पानी बग्न सक्दैन र सडकबाट बग्न थाल्छ । निर्माण सम्पन्न भइसकेपछि पनि उनीहरू त्यो नाला सफा राख्दैनन्, त्यस्तै छाड्छन् ।वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र र आसपासका क्षेत्रमा सडकबाटै पानी बग्ने स्थितिको अन्त्य गर्न सम्बन्धित निकायको ध्यान दिन आवश्यक रहेको यहाँका नागरिकहरू बताउँछन् । सफा र सुन्दर वीरेन्द्रनगरको कल्पना गरिरहँदा जताततै फोहोरको थुप्रो र अव्यवस्थित ढल निकासले वीरेन्द्रनगरको सुन्दरतामा ह्रास आउने उनीहरूको भनाइ छ । नगरपालिकाले फोहोर उठाउने काममा हेलचेक्र्याइँ नगर्ने तथा सडक डिभिजनले पानीको वहाव समेत आँकलन गरेर नाला बनाउने हो भने यस्तो समस्या व्यहोर्नुपर्ने स्थानीयहरूको बुझाइ छ ।
यता वीरेन्द्रनगर नगरपालिकाले पनि चाँडै नाला व्यवस्थित गरिने जनाएको छ । नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बजार क्षेत्रका बन्द भएका नाला खोल्न निर्देशन दिइसकिएको बताए । उनले यो आर्थिक वर्ष सकिन लागेकाले अर्को वर्ष सबै नाला मर्मत सुधार हुने बताए । ‘उपत्यकाको लगभग ठाउँमा यो समस्या देखिएकाले सबै ठाउँमा नाला खोल्न केही समय त लाग्ला तर जरुर खोलिन्छ’ सुवेदीले भने ।
प्रकाशित मितिः २३ असार २०७४, शुक्रबार १०:३४
साझा बिसौनी ।