पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट

सुर्खेत, २२ असार ।

सार्वजनिक धारामा पानी छोएको निहुँमा दलित महिलामाथि निर्घात कुटपिट भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका अन्तर्गत साटाखानीमा पानी छोएको आरोपमा दलित महिलामाथि कुटपिट गरिएको हो । गैरदलितकोे कुटपिटबाट २७ वर्षीया टीकाकुमारी मिजार गम्भीर घाइते भएकी छिन् ।

साटाखानीस्थित गंगटे निवासी टीकाको वीरेन्द्रनगरमा रहेको मध्यपश्चिम क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । स्थानीय रामजाली डाँडामा रहेको सार्वजनिक धारामा नुहाउँदै गर्दा टीकामाथि कुटपिट भएको आफन्तले बताए । स्थानीय मनकुमारी राई र उनका छोरा मनबहादुर राईले टीकामाथि कुटपिट गरेका हुन् । कुटपिटका कारण टीकाको टाउको, छाती र शरीरका अन्य भागमासमेत चोट लागेको छ ।

कुटपिटपछि बेहोस अवस्थामा टीकालाई आफन्तले स्थानीय मेडिकलमा पु¥याएका थिए । तर नाक र मुखबाट रगत बगेको र होस पनि नखुलेपछि थप उपचारका लागि उनलाई क्षेत्रीय अस्पतालमा भर्ना गरिएको हो । अस्पतालमा पु¥याएपछि मात्र टीकाको होस खुलेको थियो । आफूले धारामा नुहाउँदै गरेको र पानी भर्ने क्रममा गाग्री छोइदिएको भन्दै मनकुमारीका आमाछोरा मिलेर आफूमाथि कुटपिट गरेको पीडित टीकाले बताइन् । ‘म धारामा नुहाउँदै थिएँ, उनीहरू पनि पानी भर्न आए’ टीकाले भने, ‘त्यहीबेलामा पानी छोइदिएको भन्दै मलाई लछारपछार गरे, आमाछोरा नै मिलेर कुटेछन् । अस्पतालमा पुगेपछि मात्र मेरो होस खुल्यो, मैले उनीहरूको पानी छोएकै थिइन ।’

‘हामी पनि मान्छे नै हौं, पानी छोएकै आरोपमा छोरीलाई मरणासन्न हुने गरी कुटे’ टिकाकी आमा दरिशा सुनारले भनिन्, ‘छिमेकीको पनि विश्वास छैन, धारामा नुहाउँदा कुटिनुपर्ने अवस्था आयो । दलित भनेरै हामीमाथि दुव्र्यवहार गरियो, हामीलाई अब न्याय चाहिन्छ ।’ उनले आफ्नी छोरी मृत्युबाट बचेको भन्दै अब स्थानीय प्रशासनले आफूहरूलाई न्याय र दोषीलाई सजाय दिनुपर्ने माग गरिन् । कुटपिटको घटनापछि स्थानीय दलितहरू उक्त धारामा जान छोडेका छन् । गैरदलितहरूको त्रासका कारण आफूहरू धारामा जान छोडेको उनीहरूले बताए ।

दलित अधिकारकर्मी बसन्त विकले सार्वजनिक धारामा पानी छोएकै निहुँमा मान्छे कुटिनु दुःखद् भएको बताए । कानुनले नै छुवाछुतलाई अपराध मानेको अवस्थामा पानी छोएको आरोपमा दलितमाथि कुटपिट हुनुले थप चुनौती थपिएको उनको भनाइ छ । पछिल्लो समय जिल्लामा जातीय छुवाछुतका घटनाहरू बढ्न थालेका छन् । केही महिना अघिमात्र जिल्लाकै पश्चिममा भान्सा छोएको आरोपमा एक दलित बालकमाथि निर्मम कुटपिट भएको थियो । बराहताल गाउँपालिकाको कुनाथरीमा दलित बालक भान्सा छोएको निहुँमा गैरदलितबाट मरणासन्न हुनेगरी कुटिएका थिए । बालक कुटिएको घटना सेलाउन नपाउँदै दलित महिलामाथि पानी छोएको निहुँमा कुटपिट भएको हो ।

प्रहरीले जाहेरी दर्ता गरेन
यसैबीच प्रहरीले पीडितको जाहेरी दर्ता गर्न आनाकानी गरेको छ । पीडितले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा पीडकविरुद्ध जाहेरी दिन खोजे पनि प्रहरीले दर्ता गरेको छैन । जाहेरी दर्ताका लागि बुधवार दिनभर प्रहरी कार्यालयमा कुर्दासमेत दर्ता नभएको पीडितले बताए । न्यायका लागि जाहेरी दिन खोज्दा प्रहरीले आनाकानी गरेको पीडित टीकाकी आमा दरिशाले दुखेसो पोखिन् । घटनाको मिलापत्र गर्न खोजिएको भन्दै उनले दोषीलाई कानुनी कारबाही हुनुपर्ने उल्लेख गरिन् । दलित अधिकारकर्मीहरूले जाहेरी दर्ताका लागि स्थानीय प्रशासनसँग हारगुहार नै गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी निशान थापाले दोषीलाई कानुन अनुसार कारबाही हुने जानकारी दिए । पीडित र पीडकसँग घटनाको बारेमा विस्तृत जानकारी लिएर मात्र कानुनी प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । पीडकसँग छलफल गरेर मात्र जाहेरी दर्ता गरिने उनको भनाइ छ । जातिय भेद्भाव र छुवाछुत गर्नेलाई २५ हजारसम्म नगद जरिवाना तथा एक वर्षदेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । यस्तै पीडकबाट असुल गरेर पीडितलाई २५ हजारदेखि एक लाख रूपैयाँसम्म क्षतिपूर्ति दिने कानुनी व्यवस्था छ ।

प्रकाशित मितिः   २२ असार २०७४, बिहीबार १०:३१