गाउँका आमाहरू
ढुंगा र माटाको गारो लगाएर खरले छाएको घरको माथितिर १६/१७ वर्षकी जस्तो देखिने एक महिला आफ्नो काखे शिशु च्यापेर पाखोमा पत्कर सोहोरीरहेकी थिइन् । त्यस्तै उमेरकी लाग्ने अर्की एक गर्भवती महिला दाउराको भारी बोकेर उकालो चढिरहेकी थिइन् । पश्चिम जाजरकोटको यो ग्रामीण बिम्ब एक उदाहरण मात्र हो । यस्ता ‘टिनएज’ मै बच्चा जन्माउनेहरूको फेहरिस्त भने लामो छ । जाजरकोटमा लामो प्रसव व्यथाले आमा र शिशु दुवैको ज्यान गएका उदाहरणहरू पनि छन् । कलिलो उमेरमा विवाह गर्दा र बच्चा जन्माउँदा आमा र शिशुको दुवैको अकालमा ज्यान जाने खतरा हुँदाहँदै पनि मन पराएका केटाहरूसँग कम उमेरमै विहे गर्ने ‘फेसन’ विद्यमान छ ।
विद्यालय शिक्षा पूरा नगर्दै ‘पढाईलाई लथालिंग पारेर’ छिटो विवाह गरेर छिट्टै आमा बन्नाले उनीहरूको शिक्षा तथा रोजगारीमा प्रतिकूल अपर परेको छ । पहिले जस्तो विवाहको लागि घरमा करकाप नभए पनि आफ्नै मर्जीले विवाह गरेका थुप्रै किशोरीहरू कलिलो उमेरमै आमा बनेका छन् । प्रजनन् स्वास्थ्य शिक्षा र चेतनाको कमीले बच्चा कुन समयमा जन्माउने या नजन्माउने अथवा ढिलो जन्माउने वा छिटो जन्माउने, कति वटा जन्माउने भन्ने कुराको निर्णयसम्म गर्न नसक्नुले कतिले वर्षेनी छोराछोरी जन्माउनु परेको छ । जसले गर्दा उनीहरू कम उमेरमै प्रौढजस्ता देखिन थालेका छन् । यहाँ गर्भवती महिलाको हेरचाह र साधनले प्रयोग कमै गरिनु, बच्चा जन्मनु अघि, बच्चा जन्मदा र जन्मिसकेपछिको हेरचाह नपाउनुले आमा र बच्चाको ज्यान जाने उच्च जोखिम रहेको छ ।
अचेल गाउँमा प्रायः किशोर किशोरीहरूसँग हातहातमा मोबाइल छ । मोबाइललाई सही ढंगले प्रयोग गर्न नसक्दा कलिलो उमेरमा पढाइ छोडेर भागेर विवाह गर्नेको संख्या बढेको छ । एकछिनको उठबसमै एक अर्काको मन मिलेमा मोबाइल नम्बर आदानप्रदान गरिहाल्ने प्रवृत्तिले बालविवाह बढ्दोक्रममा छ । नेपाल टेलिकमले दिएको ‘मन्थली नाइट कल’ प्याकेज लिएर राती घण्टौंसम्म फोनमा गफिने मात्रै होइन समूह बनाएर दोहरी गीतसम्म गाउदा पनि त्यसप्रति अभिभावकहरूको सचेतना देखिएको छैन । पँधेरोमा जम्मा भएकी किशोरीहरूनिर पुग्दा कुनै न कुनै मोबाइलमा रिङटोन बजेकै हुन्छ । कोही अलि परतिर गएर कुरा गर्छन् त कोही दौंतरीनिरै जिस्किएर । विवाह गरेर सन्तान जन्माउने प्रतिस्प्रधाको भावनाले पनि कलिलो उमेरमै भाग्ने मात्र हैन बच्चा जन्माउने चलन बढी देखिन्छ । आफ्नो साथीको विहे भइहाल्ने मेरो किन नहुने ? आफ्नो साथीले बच्चा जन्माइहाल्ने मैले किन नजन्माउने? यसबाट ग्रसित कतिपय किशोरीहरू ऊ भन्दा म के कम भन्दै साथीले जे ग¥यो त्यही गर्ने प्रयत्न गर्दछन् ।
आफ्नो साथी श्रीमान् सँगै नानीबाबु बोकेर माइतीघर आएको देख्दा काल्पनिक संसारमा रमाउने अधिकांश किशोरीहरूले अन्ततः साथीहरूले रोजेको बाटो नै रोज्छन् । यहाँ जीवनसाथीको छनौट आफूले हैन अर्कैले गरिदिन्छन् । वनजंगलमा फलफूल खान जाँदा, गहुँ, मकै पिस्न घट्ट जाँदा, गोठालो जाँदा, मेला पर्व जाँदा एकै क्षणको बसाइँमा जीवनसाथी छनौट गरिन्छन् । मोबाइलमा कुराकानी भएकै भरमा जीवनसाथी छनौट हुन्छ । यसले उपयुक्त जीवनसाथीको छनौट हुननसक्दा घर सञ्चालनमा विभिन्न समस्याहरू पैदा हुनुका साथै पारिवारिक जीवन पीडित भएको छ । आफूले सोचजस्तो जीवनसाथी नभेट्दा एक आपसमा पारस्परिक सहयोग, समझदारी, समन्वय, सद्भाव, शान्ति र मेलमिलाप कायम नहुँदा वैवाहिक जीवन थप कष्टकर बनेको छ । जुँघाको रेखी स्पष्टसँग नबसेको केटो पनि जीवनसाथी बन्छ, कसरी सम्हाल्न सकोस् उसले आफ्नो महत्वपूर्ण जिम्मेवारी । यसरी किशोरीहरूको अस्पष्ट भविष्यको बाटो अप्रष्ट निर्णयले कलिलो अन्यौल उनीहरूको आँखामा पढ्न सकिन्छ ।
आङ खस्ने समस्या : नेपालमा आङ खस्ने समस्या महिलाहरूको एक प्रमुख र डरलाग्दो समस्या हो । असुरक्षित गर्भपतन, स्तनक्यान्सर, बाँझोपन, पाठेघर क्यान्सर, मातृशिशु मृत्यु जस्ता महिलाको प्रजनन् स्वास्थ्य समस्याहरू जस्तै यो पनि एक हो । पश्चिम जाजरकोटका किशोर किशोरीहरूमासमेत यस्तो समस्या देखिएको छ । यसको प्रमुख कारण हो गर्भवती र सुत्केरी भएको अवस्थामा गह्रौं भारी उठाउनु, बोक्नु र अत्याधिक काम गर्नु । कलिलो उमेरमा विवाह गर्नु र गर्भवती हुनु, बच्चाको जन्मान्तर कम हुनु, मातृस्वास्थ्य सेवामा कमी हुनु, तालिमविहीन सुढेनीबाट प्रसूती गराउनु, खानपिनमा पोषणतत्वको कमी हुन आदिले आङ खस्ने समस्या भयावह बन्दै गइरहेको छ । गरिबीका कारण ग्रामीण भेगका अधिकांश महिलाहरू सुत्केरी भएलगत्तै आरामै नगरी कडा परिश्रम गर्न विवश हुन्छन् यसले गर्दा पनि आङ खस्ने समस्या सिर्जना हुने गर्दछ । टाढाको स्वास्थ्यचौकी र स्वास्थ्यकर्मीहरूको अभाव एकातिर छ भने अर्कोतिर निर्णय, क्षमता र उपयुक्त परिवार नियोजन सम्बन्धी ज्ञानको अभाव छ । विकट वस्तीमा निम्न वर्ग र ग्रामीण महिलाहरू यस समस्याबाट आफ्नो कष्टकर जीवन व्यतित गर्न बाध्य छन् । कलिलो उमेरमै विवाह गरी जाने महिलाहरूले पनि पेटमा बच्चा भएका बेला धेरै बल पर्ने कामहरू गर्नुपरेको छ ।
चिकित्साशास्त्रमा पाठेघर सर्ने रोगले चिनीले आङ खस्ने रोगबाट महिलाहरू जति शारीरिक रूपमा कमजोर छन् त्यो भन्दा बढी मानसिक रूपले कमजोर छन् । आङ खस्ने रोगको समयमै उपचार नपाउँदा महिलाले चुप–चाप यसको पीडा लुकाइरहेका छन् र व्यापक शारीरिक र मानसिक पीडा निरन्तर झेलिरहेका छन् । समाजमा बढ्दै गइरहेको विभिन्न विकृतिहरूले बालविवह नरोकिदा शारीरिक परिपक्वता नभइ किशोरीले बच्चा जन्माउनाले पाठेघर खस्ने मात्रै होइन कुपोषण हुने र एनिमियाको संक्रमणसमेत देखापर्ने हुन्छ । गाउँमा गरीब र निम्न वर्गका, स्वास्थ्य केन्द्रको अभावमा रहेका र न्यूनस्तरको जीवनयापन गरिरहेका महिलाहरू हुनु र त्यसमा पनि बालविवाह गरी सानै उमेरमा गर्भवती बन्नु, सुत्केरी गराउँदा वा साल निकाल्दा जोड–जोड सँग पेट थिच्नु, धेरै सन्तान जन्माउनु, पेट बोकेको बेला वा सुत्केरी भए लगत्तै गह्रौं भारी बोक्नु र सुत्केरी अवस्थामा राम्रो खाना र स्याहार नपाउनुकै उपज हो आङ खस्ने समस्या ।
छैन पहल : कम उमेरमै विवाह गर्ने केटाकेटीहरूको संख्या बढ्दो छ । समाजमा बालविावाहले प्रश्रय पाएको देखिन्छ । कलिलो उमेरमा विवाह गरी गर्भधारण गर्दा स्त्रीको स्वास्थ्यमा हानी हुन्छ भन्ने कुरा थाहा पाउँदा पाउँदै पनि सानैमा विवाह गरिदिने चलन छ । समुदायमा विवाह गर्नुको मुख्य उद्देश्य सन्तान जन्माउनुसँग रहेको हुन्छ । त्यसैले महिलाहरू विवाह भएकै बेलादेखि सन्तान जन्माउने कार्यमा संलग्न रहन्छन् । यसले गर्दा महिलाहरूको वास्तविक प्रजनन् अवधि लम्बिन गइ धेरै बच्चाबच्चीहरू जन्मिने सम्भावना रहनुको साथै प्रजनन् अङ्गहरू पूर्णरूपमा परिपक्क नहुँदा सन्तान जन्माउने प्रक्रियामा संलग्न हुँदा महिला र शिशु दुवै जनाको स्वास्थ्यमा प्रतिकुल असर पर्न गएको छ । बालविवाह जस्तो सामाजिक विकृतिलाई नियन्त्रण गर्न जनचेतनामूलक कार्यक्रम चलाउने सरोकार निकायहरू निश्क्रिय छन् । कलिलो उमेरमै विवाह गरेकाहरू चाहेर पनि पुनः विद्यालय जान सकिरहेका छैनन् किनकी उनीहरूलाई घर व्यवहारले च्यापिसकेको छ । विद्यालयमा पढेको कुरा व्यवहारमा लागू नगर्दा कामको अत्याधिक बोझ र पौष्टिक खानाको अभाव सँगसँगै वर्षेनी बच्चा जन्माउनु परेको छ । गुणस्तरीय शिक्षा प्राप्त गरेर सजिलै अत्मनिर्भर भइ स्वाभिमानपूर्ण जीवन बिताउने बेला परिश्रमको अत्याधिक भाग आफ्नै परिवारलाई टेवा दिन र घरेलु कामकाजमै बित्ने गरेको छ । पहिलेको जस्तो विवाहको लागि करकाप नगरिदिनुले मात्रै पुग्दैन । आफ्ना छोरीहरूको लागि उपयुक्त जीवनसाथीको छनौटमा समेत सहयोग गरिदिएर उपयुक्त उमेरमा विवाह गरिदिने जिम्मेवारी वहन गर्नु आमा बाबुको हो ।
ग्रामीण भेगमा प्रजनन् स्वास्थ्य प्राप्तीका लागि पनि विवाहित किशोरीहरू, गर्भवती महिला र किशोरी आमाहरूलाई शैक्षिक अवसरहरू प्रदान गरिदिनुपर्दछ । आङ खस्ने समस्याबाट ग्रसित महिलाहरूको संख्या गाउँमा बढ्दो क्रममा छ । यस रोगको रोकथाम र उपचारको लागि समयमै अभियान सञ्चालन गर्न जरुरी छ । यस रोगबारे गाउँ–गाउँमा चेतना बढाएर तथा उपचार सेवा उपलब्ध गराएर उनीहरूका पीडालाई सम्बोधन गर्नतर्फ सरोकारवालाहरूको ध्यान जाओस् । स्वास्थ्यकेन्द्रको अभाव भएका ग्रामीण क्षेत्रका महिलाहरूलाई आङ खस्ने रोगको उपचारको खाँचो छ । प्रजनन् सम्बन्धी स्वास्थ्य शिविर बसालियोस् गाउँमा आमाहरू प्रतिक्षारत छन् ।
प्रकाशित मितिः २१ असार २०७४, बुधबार १२:३०
साझा बिसौनी ।