विश्वविद्यालयको दीक्षान्त समारोह आज

सुर्खेत, १८ असार ।
स्थापना भएको सात वर्षपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह आयोजना गरिएको छ । विश्वविद्यालयको प्रथम दीक्षान्त समारोह आज (सोमवार) सम्पन्न हुँदैछ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको उपस्थितिमा दीक्षान्त समारोह आयोजना हुँदैछ ।


विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन प्रधानमन्त्री देउवा, विश्वविद्यालयका सहकुलपतिसमेत रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ सुर्खेत आउँदैछन् । विश्वविद्यालयको केन्द्रीय कार्यालय निर्माणस्थल कुइनेपानीमा दिउँसो २ बजे प्रधानमन्त्रीले विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १ बजे सुर्खेत आउने भए पनि प्रधानमन्त्रीले दीक्षान्त समारोह भन्दा पहिला विश्वविद्यालय सभा
(सिनेट) को अध्यक्षता गर्नेछन् । सिनेट सम्पन्न भएपछि मात्र दीक्षान्त समारोह सुरु हुनेछ ।
२०६७ सालमा स्थापना भएको यो विश्वविद्यालयले पहिलो पटक आज दीक्षान्त समारोह सम्पन्न गर्दैछ । यहाँका नागरिकले लामो संघर्ष र त्याग गरेर स्थापना भएको विश्व–विद्यालयको प्रथम दीक्षान्त समारोहलाई महŒवका साथ हेरिएको छ । विश्वविद्यालयका अनुसार आज चार सय ५१ जना विद्यार्थी दीक्षित हुनेछन् । विभिन्न संकायमा स्नातक र स्नातकोत्तर तह उत्तीर्ण भएका विद्यार्थीहरू दीक्षित हुन लागेका हुन् । दीक्षान्त समारोहका लागि सबै तयारी पूरा भएको विश्वविद्यालयले जनाएको छ । दीक्षान्त समारोहमा प्रधानमन्त्री र शिक्षामन्त्री आउने भएकाले पनि यो ऐतिहासिक हुने विश्वविद्यालयका रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लले बताए ।
दीक्षान्त समारोह भन्दा पहिला विश्वविद्यालयको सातौं सभा (सिनेट) आयोजना हुनेछ । यो सिनेटले विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रमहरू स्वीकृत गर्नेछ । स्रोतका अनुसार आगामी वर्षका लागि विश्वविद्यालयले ५५ करोड ८१ लाख बजेट प्रस्ताव गर्न लागेको छ । यस्तै अन्य वार्षिक कार्यक्रमहरूमा पनि सिनेटमा छलफल हुनेछ । यसअघि छैठौं सभा काठमाडौंमा सम्पन्न भएको थियो । जसको जिल्लामा निकै आलोचना र विरोध भएको थियो । यसपटक प्रधानमन्त्री जिल्लामा आएको मौका छोपेर सिनेट आयोजना गरिएको हो । रजिस्ट्रार मल्ले भने, ‘विश्वविद्यालय स्थापना भएको सात वर्षपछि पहिलो दीक्षान्त समारोह हो, ब्याच आउट भएको दुई वर्षपछि यो सम्भव भयो । हामीले आजै सिनेटको पनि तयारी गरेका छौं, विश्वविद्यालयका लागि यो ऐतिहासिक दिन हुनेछ ।’
विश्वविद्यालयका अनुसार व्यवस्थापन संकायतर्फ एक सय ३८, मानविकी तथा सामाजिक शास्त्रतर्फ एक सय ९४, शिक्षाशास्त्र संकायतर्फ ९२ र विज्ञान तथा प्रविधि संकायतर्फ उत्तीर्ण भएका २७ जना विद्यार्थी दीक्षित हुनेछन् । समारोहमा विश्वविद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई कुलपति पदक, सुर्खेत उद्योग वाणिज्य संघ पदक र उपकुलपति पदक पनि वितरण गरिनेछ । यसैबीच विश्वविद्यालयको प्राज्ञिक परिषद्को बैठक आइतवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । विश्वविद्यालयका
उपकुलपति तथा परिषद्का अध्यक्ष प्रा.डा. उपेन्द्रकुमार कोइरालाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो । बैठकले विभिन्न निर्णयहरू पनि गरेको छ । बैठकले डीन लिस्ट र ग्रेस लिस्ट स्वीकृत गरेको छ । विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काका अनुसार प्राज्ञिक परिषद्को बैठकले स्नातक तहको क्रेडिट आवरमा एकरूपता कायम गर्न पाठ्यक्रम एक सय २० क्रेडिट आवर राख्ने, इन्जिनियरिङ्ग संकायको स्नातक तहको पाठ्यक्रम स्वीकृत गर्ने र हरेक ब्याजमा विश्वविद्यालयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पदक प्रदान गर्ने निर्णय गरेको छ । यस्तै विश्वविद्यालयको परीक्षा मूल्यांकन विधि र स्नातक तहमा अंगे्रजी र पत्रकारिता तथा आमसञ्चारमा अनिवार्य विषयको पाठ्यक्रम थप्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रकाशित मितिः   १९ असार २०७४, सोमबार १५:२२