मध्यपश्चिममा चुनौती बन्दै कुष्ठरोग, नयाँ ७१ बिरामी भेटिए
सुर्खेत, १८ असार । (साबिस)
मध्यपश्चिमका जिल्लाहरूमा कुष्ठरोगका नयाँ बिरामीहरूको संख्या बृद्धि भएको पाइएको छ । पछिल्लो ११ महिनामा मात्रै यस क्षेत्रमा कुष्ठरोगका ७१ जना नयाँ बिरामीहरू फेला परेका छन् ।
अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा १६ प्रतिशत कुष्ठरोगका नयाँ बिरामीहरू फेला परेका छन् । सुर्खेतमा कुष्ठरोग सम्बन्धी उपचार दिँदै आइरहेको साइनिङ अस्पताल आईएनएफ सुर्खेतले चालु आर्थिक वर्षको ११ महिनामा ७१ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेको जानकारी दिएको छ । यो अघिल्लो वर्षको भन्दा १० जनाले बढी हो । जबकी अघिल्लो आर्थिक वर्षमा ६१ जना मात्रै नयाँ बिरामी पत्ता लागेका थिए ।
सरकारले नेपालबाट कुष्ठरोग निवारण गरे पनि नयाँ बिरामी फेला पर्ने क्रम रोकिएको छैन । सुर्खेत लगायत मध्यपश्चिमका पहाडी जिल्लामा कुष्ठरोगका नयाँ बिरामीहरू फेला पर्दै गइरहेका छन् । अस्पतालका इन्चार्ज मंगलबहादुर थारुले अघिल्लो वर्षको तुलनामा यसवर्ष १० जना नयाँ बिरामी फेला परेको जानकारी दिए । यो तथ्यांकले कुष्ठरोग निवारण नभएको देखाउँछ ।
कुष्ठरोग दुई प्रकारको हुन्छ । मध्यपश्चिमका अधिकांश जिल्लाहरूमा भेटिएका बिरामीहरूमा कडा खालको कुष्ठरोगको संक्रमण भएको पाइएको छ । सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालिकोट, जुम्ला, रुकुम, सल्यान जिल्लामा कडाखाले कुष्ठरोगको संक्रमण बढेको पाइएको अस्पतालले जनाएको छ । सामान्य कुष्ठरोगको उपचार ६ महिना गर्दा पुग्छ भने कडाखाले कुष्ठरोगको उपचार कम्तीमा एक वर्ष लाग्ने जानकारी इन्चार्ज थारुले दिए ।
मध्यपश्चिममा सबैभन्दा बढी सुर्खेतमा कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । अस्पतालका अनुसार सुर्खेतमा चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ जना कुष्ठरोगका बिरामी भेटिएका छन् । यसैगरी सुर्खेतकै छिमेकी जिल्ला जाजकोटमा २० जना र दैलेखमा ११ जना बिरामी फेला परेका छन् भनेका लिकोटमा तीन जना नयाँ कुष्ठरोगी फेलापरेका छन् । यो उपचारका लागि अस्पतालमा आएका बिरामीहरूको तथ्यांक हो । तर अझै पनि ग्रामीण क्षेत्रहरूमा कुष्ठरोग लुकाएर बस्ने गरेकाले यो यस क्षेत्रमा कुष्ठरोगका बिरामीहरुको संख्या अझ बढी भएको हुनसक्ने जनाइएको छ ।
कुष्ठ रोग मध्यपश्चिममा चुनौतीको रुपमा रहेको चिकित्सकहरू बताउँछन् । जनचेतनाको कमी, सामाजिक अवहेलना, रुढिवादी परम्पराका कारण कुष्ठरोगीहरू घर समाजबाट परित्याग हुनुपरेकोले बिरामीहरूको उपचारको पहुँच सहज हुन नसकेको बताइएको छ । विभिन्न कारणले गर्दा कुष्ठरोगका बिरामीहरू उपचारमा नआइ रोग पालेर बस्ने गरेको अस्पतालका इन्चार्ज थारुले बताए । उनका अनुसार यसवर्ष फेला परेका १० नयाँ कुष्ठरोगीहरू पनि आफै अस्पतालको सम्पर्कमा आएका होइनन् । गाउँबस्तीमै शिविर सञ्चालन गर्दा फेला परेका इन्चार्ज थारुले जानकारी दिए । ‘गाउँघरमा खोजी गर्ने हो भने अझै पनि कुष्ठरोगीहरू फेला पर्न सक्दछन्’ उनले भने, ‘सामाजिक अवहेलना हुने तथा रुढिवादी परम्पराका कारण उनीहरू खुलेर आउन सकिरहेका छैनन् ।’
हरेक वर्ष नयाँ–नयाँ कुष्ठरोगका बिरामीहरू फेला पर्न थालेपछि सुर्खेतमा कुष्ठरोग सम्बन्धी सचेतना अभियान पनि सञ्चालन गर्न थालिएको छ । अहिले विद्यालय, गाउँबस्तीमा दिन थालिएको छ । यसवर्ष सुर्खेतस्थित साइनिङ अस्पतालले जिल्लाका मैनतडा, गुटु, राकम र जाजकोटको दहजस्ता ग्रामीण र दुर्गम स्थानमा शिविर सञ्चालन गरेको छ ।
साझा बिसौनी ।