मानव बेचबिखन रोक्न कार्ययोजना

सुर्खेत, १८ असार ।
पूर्वी सुर्खेतको मेहेलकुनामा मानव बेचबिखन रोक्न कार्ययोजना बनाइएको छ । मानव बेचबिखन बढी हुने क्षेत्रको रूपमा रहेको मेहेलकुनामा मानव बेचबिखन अन्त्यका लागि दुई दिने सामाजिक परामर्श कार्यशाला तथा योजना तर्जुमा गोष्ठी आयोजना गरी कार्य योजना बनाइएको हो ।
गुर्भाकोट–८ मा रहेको सूर्यज्योति मावि मेहेलकुना सुर्खेतमा गोष्ठी सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा कृष्ण बचत तथा ऋण सहकारी संस्था मेहेलकुना सुर्खेतको आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको थियोे ।
मानव बेचबिखन अन्त्यका लागि स्थानीयस्तरमा जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको महिला तथा बालबालिकाको कार्यालय सुर्खेतका सहजकर्ता धना नगालले जानकारी दिइन् । मानव बेचबिखन तथा ओसार–पसार सञ्जाल बेचबिखन गर्न लैजाने तरिका, मानव बेचबिखन तथा ओसार–पसारको उद्देश्य, कारकतŒव, लगायतका विषयमा छलफल गरिएको थियो ।
मानव बेचबिखन गर्ने सञ्जाल पत्ता लगाउने, वादी समुदायको बस्तीस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्कुलमा आधारित विभिन्न जनचेतनामूलक कार्यक्रम गर्ने, मोबाइलको कम प्रयोग गर्ने लगायतका कार्ययोजनाहरू निर्माण गरिएको छ ।
कार्यक्रममा किशोरी समूह, मानव बेचबिखन समिति, महिला सहकारी, महिला सञ्चालन लगायतका गरी ३५ जनाको सहभागिता रहेको छ । महिला तथा बालबालिका कार्यालय सुर्खेतका अधिवक्ता गीता कोईरालाको प्रमुख आतिथ्यता, सोही कार्यालयका प्रतिनिधि यशोदा शर्माको विशेष आतिथ्यता तथा कृष्णा बचत तथा ऋण सहकारी संस्था लि. मेहेलकुनाका अध्यक्ष धनसरा रानाको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १८ असार २०७४, आईतवार १४:४९