‘नगरपालिका बनेको अनुभूति नै भएन’

चन्द्रा विक, वीरेन्द्रनगर–१२

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर १२ खोरियामा पहिलो समस्या भनेको बाटोको हो । राम्रो सडक नहुँदा सहज रूपमा यातायात सञ्चालन हुनसकेको छैन । यातायात नहुँदा गाउँमा सहज रूपमा बिरामी हुँदा अस्पताल लैजान समस्या छ । गाउँमा एउटा पनि स्वास्थ्यचौकी नहुँदा सामान्य बिरामी हुँदा पनि वीरेन्द्रनगर बजारमा नै जानुपर्ने अवस्था छ । सामान्य रूपमा हाम्रो गाउँमा सडक बाटो आएको सात वर्षभन्दा बढी भइसक्यो तर, अहिलेसम्म बाटो सुधार हुनसकेको छैन । पानी पर्दा एम्बुलेन्स आउन मान्दैन बाटोमा सहज रूपमा गाडी आउने बनाउनको लागि सडक मर्मत तथा सम्भार गर्न जरुरी छ ।

 

सुनिता विक, वीरेन्द्रनगर–१२
भौगोलिक हिसाबले हेर्दा खोरियाको गाउँ वीरेन्द्रनगरभित्र राखेको छ । अहिले वीरेन्द्रनगर बनाएको होइन पहिलेदेखि नै वीरेन्द्रनगर भए पनि हाम्रो गाउँ विकासमा धेरै पछाडी परेको छ । यहाँको अवस्थालाई हेर्ने हो भने सडक छ तर, गाडी आउँदैन । सडक खनेको सात वर्ष भइसक्दा पनि अहिलेसम्म बाटो ग्राभिलसम्म हुन सकेको छैन । अर्काे समस्या भनेको यहा खानेपानीको समस्या रहेको छ । खानेपानीको मुहान नजिक छैन । सिँचाइको समस्या पनि यस्तै छ । गाउँमा बालविकासको पढाइ नहुँदा बालबालिकालाई समस्या छ । टेलिफोन लाइनको समस्या पनि रहेको छ ।

 

 

गंगा विक, वीरेन्द्रनगर–१२
यहाँको समस्या भनेको बिजुलीको पावर हुँदैन त्यसको समाधान गर्न जरुरी छ । भन्दा वीरेन्द्रनगर भन्छन् तर, सेवा सुविधाबाट हामी सधै वञ्चित हुनुपरिरहेको छ । नगरपालिकाले पनि वीरेन्द्रनगर–१२ को लागि विकास गरेको छैन । बजेट आउँछ तर वीरेन्द्रनगर–१२ नेवारेमा नै जान्छ खोरियामा थोरै बजेट आउँछ त्यो बजेटले हाम्रो गाउँको विकास कसरी हुनसक्छ ? नेवारेको विकास धेरै भइसकेको छ अब खोरियाको विकास पहिलो प्राथमिकतामा राखिनुपर्छ । यो मेरो नवनिवार्चित जनप्रतिनिधिहरूलाई हो । गाउँमा एउटासम्म स्वास्थ्यचौकी नहुँदा रातीको समयमा बिरामी हुँदा अस्पताल लैजान समस्या छ ।

 

खगीसरा खड्का, वीरेन्द्रनगर–१२
यो गाउँको विकासको लागि विभिन्न समुदायबीचमा असमझदारीका कारण निकास हुन नसकेकोले छलफलको माध्यमबाट विभिन्न समस्याहरू पहिचान गरी त्यसको समाधानको लागि समन्वयात्मक भूमिका खेल्नुपर्दछ । हाम्रो गाउँको विकास गर्नको लागि अन्य विभिन्न यससँग सम्बन्धित पक्षहरूले त्यसको समन्वय गराएर विकासका लागि निकास अर्थात् विकासको मेरुदण्डको रूपमा रहेको सडकको विकास गर्नसकेमा अन्य पूर्वाधारको विकास स्वतह हुने कुरामा म विश्वस्त छु । यसैगरी कसैले पनि विकासमा अवरोध नगरी सहयोग गरेमा मात्र यस्ता विभिन्न अल्पविकसित तथा अविकसित क्षेत्रहरूको विकास हुनेछ ।

 

निर्मला न्यौपाने, वीरेन्द्रनगर–१२
नवनिर्वाचित जनप्रतिनिधिहरूलाई मेरो प्रश्न यो छ की हाम्रो समुदाय गरिबीको रेखामुनी रहेको कारण यहाँको स्थानीय स्रोत र साधनको पहिचान गरी सोही अनुसार परिचालन गर्नका लागि विभिन्न नीति नियम निर्माण गरी त्यसको कार्यान्वयन गर्नुपर्दछ । अझै भन्नुपर्दा हाम्रो देश कृषि प्रधान देश हो । जहाँका ७० प्रतिशतभन्दा बढी मानिसहरू प्रत्येक्ष तथा अप्रत्येक्ष कृषि क्षेत्रमा छन् । तर, हाम्रो गाउँमा ९९ प्रतिशत मानिसहरू कृषिमा आवद्ध भए पनि त्यो निर्वाहमुखी मात्र भएको कारणले आर्थिक, सामाजिक, राजनीतिक जीवनस्तर माथी उठ्नसकेको छैन । तसर्थ आधुनिक कृषि प्रणालीको विकास गरी जीवनस्तर सुधार गर्नको लागि पहल गर्नुपर्दछ ।

 

जानकी आचार्य, वीरेन्द्रनगर–१२
नेपालको संविधान २०७२ मा व्यवस्था भएका संवैधानिक अधिकारको प्रयोग गरी आफ्नो स्थानीय क्षेत्रको विकासको लागि क्रियाशील भएर लागि पर्नुपर्छ । यसले गर्दा केन्द्रिकृत शासन प्रणाली हुँदै संघीयतामा आएको हाम्रो मुलुक नेपालको स्थानीय सरकारबाट जनताले स्थानीय सरकारको अपनत्व महसुस गर्ने गरी कार्य गर्नुपर्दछ । भ्रष्टाचार, नातावात, क्रिपावातको अन्त्य गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै हाम्रो सहुदायमा रहेको प्रमुख बेरोजगारीको समस्याको अन्त्य गर्न मेरो जनप्रतिनिधिहरूलाई सुझाव छ ।

 

शीला थापा, वीरेन्द्रनगर–१२
वीरेन्द्रनगर–१२ खोरिया वीरेन्द्रनगर बजारको मुखमा भए पनि विकासमा हाम्रो गाउँलाई छुट्याइएको छ । एउटै वडामा कुनै ठाउँमा कच्ची सडकसम्म नपुग्ने तर, कुनै ठाउँमा विकासको न्यूनतम पूर्वाधारहरू पुग्दासमेत एकलौटी विकास गरिरहनाले समानुपातिक विकास हुनसकेको छैन । जसले गर्दा संघीयताको मर्म अनुसार अविकसित ठाउँलाई न्यूनतम विकासको अवस्थासम्म पु¥याउन र सबैक्षेत्रको समान विकास गर्नुपर्दछ । जसले कुनै ठाउँ पछाडी पर्नुपर्ने अवस्थाबाट मुक्त हुनेछ । तत्काल गाउँमा एउटा स्वास्थ्यचौकी निर्माण गर्न स्थानीय सरकारका प्रनितिधिहरूलाई अनुरोध छ ।

रत्नादेवी कँडेल, वीरेन्द्रनगर–१२
एउटा सामान्य स्वास्थ्यचौकी नहुँदा हामीले स्वास्थ्य समस्या भोग्नुपरेको छ । यस कारणले गर्दा यहाँ विभिन्न रुघा खोकी ज्वरो, झाडापखला जस्ता सामान्य रोगहरूको उपचारको लागि स्वास्थ्यचौकीको व्यवस्था गरी स्वास्थ्य समस्याबाट यहाँका जनतालाई मुक्त गराउन जनप्रतिनिधिलाई अनुरोध छ । सामान्य स्वास्थ्य समस्याका कारण एक डेढ घण्टाको बाटो हिँडेर वीरेन्द्रनगर जानुपर्ने र उक्त स्थानमा पनि उचित स्वास्थ्य सेवाको व्यवस्था नहुनु साथै सरकारले निःशुल्क रूपमा उपलब्ध गराउने न्यूनतम औषधि नपाउँदा निजी स्वास्थ्यहरूमा चर्काे मूल्य तिर्न बाध्य भएका छौं ।

पञ्चप्रसाद आचार्य, वीरेन्द्रनगर–१२
यहाँको तत्काल समस्या भन्नुपर्दा थ्रिपेज लाइन जडान गर्नुपर्छ । बिजुलीको पर्याप्त व्यवस्था नहुँदा विभिन्न सामान्य विद्युतीय यन्त्र सञ्चालन गर्न समेत समस्या रहेको छ । अर्काेतर्फ यहाँका जनता गरिबीको रेखामुनी परेको हुँदा यहाँ विभिन्न किसिमका नगदे बाली, उन्नत जातका फलफूलका लागि नर्सरी बनाएर बगैंचा विस्तार गर्नुपर्ने र वन जंगललाई व्यवस्थित ढङ्गले वन नियम अनुसार संरक्षण गर्ने, सही रूपमा कानुनको व्यवस्था गरी पशुपालन व्यवसायलाई तीव्र रूपमा अगाडि बढाउनका लागि जनप्रतिनिधिहरूले त्यसका लागि पहल तथा कार्यक्रमका लागि पहल गरिदिनुपर्ने मेरो सुझाव छ ।

 

प्रकाशित मितिः   १८ असार २०७४, आईतवार १४:४९