मैले देखेको जाजरकोट
नेपालको मध्यपश्चिमाञ्चल विकास क्षेत्र, भेरी अञ्चलको सबैभन्दा उत्तरमा अवस्थित जाजरकोट जिल्ला, भौगोलिक क्षेत्रको हिसाबले मध्य पहाडी क्षेत्रमा पर्ने यो जिल्ला सात वटा स्थानीय तहमा विभाजित छ । कूल २२३० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको जाजरकोट जिल्ला नेपालको सबैभन्दा ठूलो क्षेत्रफल भएको डोल्पाभन्दा दक्षिण सीमामा पर्दछ । जाजरकोटको पूर्वमा रुकुम, पश्चिममा दैलेख, जुम्ला र कालिकोट दक्षिणमा सल्यान र सुर्खेत, उत्तरमा डोल्पा र जुम्ला पर्दछन् । भौगोलिक क्षेत्र र बनौटको हिसाबले हेर्दा यस जिल्लालाई उच्च पहाडी क्षेत्र, पहाडी क्षेत्र तथा नदीको बेसी क्षेत्र गरी तीन भागमा बाँडिएको छ । जलस्रोतको आधारमा हेर्दा जाजरकोटमा भेरी, छेडागाड, नलसिंहगाड जस्ता ठूला स्थायी नदी तथा खोलादेखि स्थायी पानीका स्रोत भएका एक सय भन्दा बढी नदी नाला तथा खोलाहरू रहेका छन् । यसमध्ये भेरी नदी प्रमुख नदी मानिन्छ र जुन जिल्लाको पूर्व दक्षिण सीमानाबाट बगेको छ ।
जिल्लाका चर्चित अन्य नदी तथा खोलाहरूमा मुलुसङ्गखोला, समरखोला, छेडागाड, पासागाड, जाजरकोटको छेडागाड र नरसिंह गाड आदि रहेका छन् । यस जिल्लाको प्रमुख व्यापारिक केन्द्र खलङ्गा बजार हो । यहाँका अन्य व्यापारिक स्थानहरूमा खगेनकोटको दल्ली, जगतिपुरको मटेलाबजार, छेडा बजार र मोर्कबजार रहेका छन । प्राकृतिक र मानवीय स्रोतको हिसाबले जाजरकोटमा विकासको प्रशस्त मात्रामा सम्भावना रहेको भएता पनि यसतर्फ सम्बन्धित पक्षहरूको ध्यान जान नसक्दा तथा आवश्यकता र प्राथमिकता अनुसार लगानी हुन नसक्दा समग्र जिल्ला विकासमा पछाडि परेको छ जिल्लामा उपलब्ध अपार प्राकृतिक र मानवीय स्रोतको परिचालन गर्नसके जाजरकोटी जनताको समग्र स्थिति गुणात्मक रूपले फड्को मार्ने मात्र नभइ देश विकासमा पनि ठूलो योगदान गर्नसक्ने सम्भावना रहेको छ ।
समय–समयमा सञ्चार माध्यममा आउने समाचारको स्रोत पनि हो जाजरकोट । सामान्य रूपमा जाजरकोट भन्नासाथ सबैको मनमा अशिक्षा, गरिबी, अज्ञानता तथा विकासका स्रोतहरूमा कमी भएको स्थानको रूप कोरिन थाल्दछन् । जसको कारण पनि सञ्चार माध्यममा आएका समाचारहरू नै हुन् । झाडा पखाला जस्तो रोगलाई विश्व सामान्य रूपमा लिदैंछ । घरेलु उपचार तथा सामान्य सावधानी पश्चात पनि झाडा पखाला न्यूनीकरण गर्न सकिने विज्ञहरूको धारणा छ । तर केही वर्ष पहिले जाजरकोटमा भएको दुर्घटनाले विश्वकै धानाकर्षण गरेको थियो । समाचार थियो, झाडा पखालाका कारण गाउँ नै समस्यामा । यही समाचारले जाजरकोटलाई चिनायो पनि, अहिलेसम्म पनि परिचित बनाउँदैछ ।
तर नमरेसम्म स्वर्ग देखिदैंन भनेझै जाजरकोटलाई चिन्न जाजरकोट नै जानुपर्छ । भौगोलिक स्वरूप तथा विकासका खाकाहरूका लागि जाजरकोट केही वर्ष पहिलेको सुर्खेत भन्न सकिन्छ । जाजरकोट १० वर्ष पहिलेको सुर्खेत हो । भेरी नदीको सालिनता, जाजरकोट बाहेक कही देख्न पाइदैंन । प्रकृतिको अनुपम उदाहरण भएको जाजरकोट । भौगोलिक बनावट बीचबीचमा प्रकृतिले बनाएका हराभरा फाँटहरूले हामीलाई न्यास्रो हुनपक्कै दिने छैनन् । स्थानीयस्तरमा उत्पादित खानाका परिकार तथा स्वादहरूले अड्किएको स्वादलाई पक्कै मेटाइदिन्छ । नागरिकहरू बीचको हाम्रो वार्तालापले हामीलाई परिचित अवश्य गराउँछ । प्रकृतिसँगको अनुपम बसाइँ हो जाजरकोट ।
जाजरकोट, पुनम फाण्डेशनको आयोजना तथा नलगाड सेवा समाजको समन्वयमाआयोजित निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमसहितको टोली सुर्खेतदेखि प्रस्थान गर्दाको समयमा टोलीमा झोला बोकेर सम्भावना र आशाका भावसहित पाइला चाल्ने व्यक्ति यो पंक्तिकार पनि हो । त्यो समाचारको उपचारको लागि जहाँ सामान्य झाडा पखालाका कारण गाउँ नै प्रभावित भएको थियो । त्यो समाचार पच्छाउँदै जहाँ भौगोलिक बनावट मानवीय जीवनमाथी वाधक बन्दै आफ्नो अनुपम उपस्थिति जनाइरहेका थिए । त्यो समाचार खोज्दै जहाँ जिल्ला विकट मानी यता पनि पूर्ण आत्मनिर्भर भन्दा फरक पर्दैन । अज्ञानता तथा अशिक्षा भएका व्यक्तिहरूकोबीच पनि सफा मन भएका नागरिकहरूको समूह । त्यो भाव, त्यो महसुस जाजरकोटबाहेक नेपालका अन्य जिल्लामा विरलै पाइन्छ सायद ।
निःशुल्क स्वास्थ्य शिविरमा एक हजार जनाभन्दा बढी महिला, बालबालिका तथा पुरुषको उपचार भएको थियो । शिविर आयोजनामा सहयोगी भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाहरूमा धेरै–धेरै धन्यवाद । सायदै हामीले नागरिकका भावहरू महसुस गर्ने मौका पाएका थियौं । सिटामोल पनि आवश्यकताभन्दा बढी माग गर्न बानी परेका नागरिकका माझमा सबैलाई खुशी बनाउनु सामान्य कुरा थिएन । रुकुम, डोल्पा र जाजरकोटका सीमा क्षेत्रका नागरिकलाई विशेष प्राथमिकतामा राखी आयोजित कार्यक्रममा नागरिकद्वारा सिटामोल पनि विना आवश्यकता घर लैजान खोजनु नागरिकको आशा हो । त्यो कार्यलाई हामी न कुनै अशिक्षाको किरणबाट हेर्न सक्छौ, न त रुढीबाढी परम्पराको रूपमा नै । त्यो एउटा बाध्यता पनि थियो । बाध्यता अकस्मात आउन सक्ने घटनाको लागि । नागरिकहरू स्वास्थ्य सेवाको बारेमा सहजै जान्छन् र समस्याका समयमा अधिक माग गरिएको सिटामोल नै काम आउनेमा विश्वस्त पनि थिए । शिविरमा आएका नागरिकहरूको अवस्था, सोचाई अनि क्रियाकलापले डिष्कभरी च्यानलमा प्रशारण गरिने ‘म्यान भर्जेज वाइल्ड’ हेर्नु भन्दा जाजरकोटमा बसाइँ गर्दा अझ मानव जीवन बुझ्नलाई सहज नै हुन्छ ।
नेपाल सरकारले लगानी नगरेको पनि छैन । विभिन्न मन्त्रीहरूको गृह जिल्ला हो जाजरकोट । सरकारको ध्यान एकदमै छ । सिँचाइका लागि पानीको व्यवस्था, सम्भावित स्थानहरूमा लघु जलविद्युत आयोजनाको स्थापना, बाटोघाटोको निर्माण कार्य जारी जस्ता प्रशस्तै सह्रानीय कार्य भएको छ जाजरकोटमा । परम्परागत कृषि शैली अपनाइरहेको जिल्लामा व्यवसायिक कृषि स्थापना गर्न सकिएको छैन । नागरिकहरू आफ्नो लागि मात्र उत्पादन गर्ने गरेका छन् । बचेको हल्का मात्र बेच्ने गर्छन् भने केही अपुग सामग्री खरिद । पशुपालमा समेत व्यवसायीकरण रहेको छैन ।
उदाहरणको रूपमा अन्य जिल्लाबाट निर्यात गरिएको ब्रोइलर कुखुरा पाँच सय रूपैयाँप्रति केजी
(काटेको) रहेको छ भने स्थानीय स्तरमा उत्पादित लोकल कुखुरा पनि पाँच सय रूपैयाँ केजी (नकाटेको) नै छ । यसले प्रष्ट पार्दछ कि उत्पादनमा आत्मनिर्भर घोषित जिल्ला विस्तारै परनिर्भर पनि बन्दैछ । अर्को समस्या हो यातायातको, विस्तारै यातायातले जोड्दै गरेको जाजरकोटमा भाडादर भने चर्कोरहेको छ । समग्रमा प्रतिकिलो मिटर १५ रूपैयाँसम्म पर्न आउँछ । आत्मनिर्भर जाजरकोटीका लागि प्रतिकिलोमिटर १५ रूपैयाँ धेरै नै हो ।
साझा बिसौनी ।