सामुदायिक विद्यालयको विजोग
सुर्खेत: झट्ट हेर्दा पुरानो भवन । भत्किएका भित्ता । पानी प¥यो भने सिधै कोठाभित्र जान्छ । यो कुनै घर वा अन्य संरचना होइन, पूर्वी सुर्खेतको लेकवेशी–६ कल्याणको सरस्वती माध्यमिक विद्यालय हो ।
विद्यालयमा बालशिक्षादेखि कक्षा १२ सम्म पढाइ हुन्छ । पाँच सय जना विद्यार्थी छन् । करिब पाँच÷सात वटा भवन छन् । त्यो पनि पुरानो । शिशु कक्षा र कक्षा १, २, ३ का बालबालिका चिसो दिनमा प्रायः खुला चौरमै बसेर पढ्छन् । हुन त कोठाभित्र पढ्ने वा कोठाबाहिर पढ्ने बालबालिकाको सुविधामा कुनै फरक छैन । भवनका कोठामा पानी पर्दा चुहिन्छ । भवनका भित्ता र छाना सुरक्षित छैनन् ।
किताबी शिक्षा मात्रै होइन, व्यावहारिक शिक्षा पनि दिने स्थान हो विद्यालय । त्यहाँको वातावरणले पनि विद्यार्थीलाई सकारात्मक वा नकारात्मक असर पार्छ । त्यसैले यसको व्यवस्थापनमा ध्यान दिइन्छ तर कर्णालीका विद्यालयको अवस्था दयनीय छ ।
यो विद्यालयले वर्षौंदेखि शिक्षक अभाव बेहोर्दै आएको छ । भौतिक पूर्वाधारको पनि उस्तै बिजोग छ । पर्याप्त कक्षा कोठा, सिकाइ सामग्री र खेल मैदानजस्ता शैक्षिक पूर्वाधार छैनन् । दरबन्दीअनुसारको जनशक्ति नहुँदा पठनपाठनमा निकै समस्या भएको छ । माध्यमिक तहसम्म पढाइ सञ्चालन भइरहेको विद्यालयमा स्थायी दरबन्दी अनुरूपका शिक्षक छैनन् । विद्यालयमा अंग्रेजी, विज्ञान र सामाजिक विषयका शिक्षक छैनन् । शिक्षक अभावमा पठनपाठन प्रभावित भएको भन्दै विद्यालयले नगरपालिका गम्भीर बन्नुपर्ने जनाएको छ ।
विद्यालय वि.सं. २०३० सालमा स्थापना भएको हो । २०५७ सालदेखि कक्षा थप गरेर निम्न माध्यमिक तह सञ्चाल गरियो । २०६७ मा कक्षा वृद्धि गरेर माध्यमिक तह सञ्चालन गरिएको सहप्रध्यानाध्यापक पार्वती पोखरेलले बताइन् । माध्यमिक तहमा दरबन्दी अनुसारका शिक्षक नहुँदा समस्या भएको उनले जनाइन् ।
लेकवेशी नगरपालिकाका अन्य कैयन् विद्यालयको हालत पनि यस्तै छ । शिक्षक र शैक्षिक वातावरणको अभावमा सिकाइ उपलब्धीसमेत अपेक्षित हुन नसकेको शिक्षकहरू बताउँछन् । कतिपय विद्यालयमा शिक्षक र विद्यार्थीहरूको नियमितता समेत छैन । विद्यालयहरूमा अपाङ्गमैत्री संरचना छैनन्, सबैजसो विद्यालयमा खानेपानी, शौचालयजस्ता आधारभूत पूर्वाधारको कमी छ । नगरपालिकाले भने शिक्षक दरबन्दी मिलान र विद्यालय समायोजन गर्ने योजनालाई प्राथमिकतामा राखेको जनाएको छ । पालिकामा रहेका विद्यालयहरूमा शिक्षक र भौतिक संरचना नभएको गुनासो बढ्न थालेपछि सुधारका लागि अहिले अनुगमन थालिएको नगरप्रमुख उमेशकुमार पौडेलले बताए । नगरपालिकाका शिक्षा शाखा प्रमुख पहलमान अधिकारीले विद्यालयहरूको समग्र सुधारका लागि अनुगमन भएको र सोही अध्ययनको आधारमा व्यवस्थापन गर्ने तयारी भइहेको बताए । उनले नगरपालिकामा शैक्षिक उपलब्धी हासिल गर्नका लागि काम गर्ने बताए । नयाँ शैक्षिक सत्रदेखि दरबन्दी मिलान, विद्यालय समायोजन र तह घटुवा गर्नेगरी विभिन्न काम भइरहेको उनले जनाए ।
खस्कदो शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न योजना निर्माण गरिएको नगरप्रमुख उमेशकुमार पौडेल बताउँछन् । उनका अनुसार सामुदायिक विद्यालयको सिकाइ गुणस्तर वृद्धिका लागि तालिम, विद्यालयमा डिजिटल सिकाइको वातावरण निर्माण गरिएको छ । कर्णाली प्रदेशका धेरैजसो सामुदायिक विद्यालयमा अझै पनि पर्याप्त विषयगत शिक्षक छैनन् । भौतिक संरचना र शैक्षिक सामग्रीको अभाव कायमै छ । जनशक्तिदेखि भौतिक संरचनाको अभावका कारण सरकारी विद्यालयलाई शैक्षिक गुणस्तर सुधारमा चुनौती भएको छ ।
विभिन्न अध्ययनहरूले अन्य प्रदेशको तुलनामा यहाँको शैक्षिक गुणस्तर र सिकाइ उपलब्धिसमेत कमजोर भएको देखाएका छन् । सार्वजनिक शिक्षामा आवश्यक लगानीसमेत हुन नसकेको सरोकारवालाहरू बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका सहप्रध्यापक ललितजंग शाही भन्छन्, ‘पर्याप्त त परको कुरा कतिपय विद्यालयमा अत्यावश्यक लगानीसमेत भएको पाइँदैन ।’ सार्वजनिक शैक्षिक संस्थाहरूमा राज्यको लगानी कम भएकै कारण गुणस्तरीय शिक्षा दिन समस्या देखिएको उनी बताउँछन् । शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान नदिए विद्यालय नै रित्तो हुने अवस्थामा रहेको बताए । विद्यार्थी र अघिभावकको रोजाइ निजी विद्यालय तिर रहेको भन्दै उनले सरकारले सामुदायिक विद्यालय सुधारको पहल नगरे थप समस्या हुने जनाए ।
प्रकाशित मितिः ९ मंसिर २०८३, बुधबार ११:२१

रजनी याेगी ।