उद्घाटनअघि नै खेल सञ्चालन

सुर्खेत: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका खेलहरू मंगलवारदेखि सुरु भएका छन् । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते हुने भएपनि केही खेल उद्घाटनअघिदेखि नै सञ्चालन गरिएको छ ।

मंगलवार महिला बास्केटबलतर्फ चार वटा खेल सम्पन्न भएका छन् । जसमा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र वागमती प्रदेशले विजयी सुरुवात गरेका छन् ।

यस्तै पुरुष फुटबलमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । आयोजक कर्णाली प्रदेशलाई २–० गोल अन्तरले पराजित गर्दै पुलिसले प्रतियोगितामा सुखद सुरुवात गरेको हो । पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश पनि विजयी भएको छ । सुदूरपश्चिमलाई शून्यकाविरुद्ध एक गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको हो ।

महिला क्रिकेटतर्फ सशस्त्र प्रहरी बलको एपीएफले जीत निकालेको छ । वीरेन्द्रनगर क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको एपीएफ क्लबले एक विकेटको क्षतिमा एक सय ९७ रन जोडेको थियो । जवाफी ब्याटिङ गरेको लुम्बिनी १५.४ ओभरमा अलआउट हुँदै ३९ रन मात्रै बनाउन सक्यो । अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेर महिला क्रिकेटमा सुखद सुरुवात गरिसकेको छ ।

प्रकाशित मितिः   ९ मंसिर २०८३, बुधबार ११:१८