वधशाला व्यवस्थित गर्ने योजना

 

सुर्खेत: वीरेन्द्रनगर नगरपालिको वधशालालाई व्यवस्थित गर्न लागेको छ । मापदण्डअनुसार सञ्चालन गरेर व्यवस्थित गर्न लागिएको हो । अहिले सञ्चालन भइरहेको हटियाको वधशाला मापदण्ड अनुरूपको छैन । आवश्यक पूर्वाधार निर्माण गरेर वधशाला सञ्चालन गर्न लागिएको नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।

वीरेन्द्रनगर नगरपालिका–७ मा पशु वधशाला सञ्चालनका पूर्वाधार निर्माण गरिएको नगरप्रमुख ढकालको भनाइ छ । पशु वधशाला र मासु जाँच ऐन, २०५५ को दफा १ को उपदफा (२) को मापदण्ड पूरा गरी पूर्वाधार निर्माण गरिएको उनले बताइन् । पशु वधशाला र मासु जाँच ऐन, २०५५ अनुसार पशु वध गर्नु अघि त्यस्ता पशुको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । परीक्षणमा पशु रोगी देखिए वध गर्न रोक लगाउने, वध गरिएको पशुको मासु जाँच गर्ने, मासुमा छाप वा चिह्न लगाउनु पर्ने, मिसावट गरी मासु बिक्री गर्न नहुने लगायतका प्रावधान सो ऐनमा समेटिएको छ ।

यस्तै, रोग लागेर वा नलागी मरेको पशुको मासु बिक्री गर्न नपाइने, छालासहितको मासु बिक्री गर्न नपाइने तर पंक्षी, सुंगुर, बंगुर वा बँदेलको मासु र पशुको जात चिनाउन आवश्यक पर्नेजति हिस्साको मासु वा पशुको टाउको वा खुट्टा छालासहित बिक्री गर्न पाइने सो ऐनमा उल्लेख छ । सो ऐन अनुसार गुणस्तरीय मासु उत्पादनका लागि वीरेन्द्रनगरमा पशु वधशाला निर्माण गरिएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख ढकालले भनिन्, ‘अब यहाँ उत्पादित मासु ग्यारेन्टेड हुन्छ । जथाभाबी मासुको उपभोग गर्दा मानव स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ । यहाँ उत्पादन भएको मासु उपभोग गर्दा मानव स्वास्थ्यमा कुनै समस्या हुँदैन, त्यो ग्यारेन्टी हुन्छ ।’ नगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा वधशाला सञ्चालन गर्न लागेको जनाएको छ ।

नगरपालिकाले गत वर्ष मात्र वधशाला स्थापना कार्यक्रम, मर्मत तथा मासु बिक्री कक्ष निर्माण गरेको छ । दुई करोड ३५ लाखमा मासु बिक्री कक्ष निर्माण गरिएको नगरपालिकाका पशु शाखा प्रमुख यज्ञप्रसाद पाण्डेले बताए । २०८२ जेठ २५ गते ठेक्का सम्झौता गरेर काम अघि बढाइएको थियो । २०८२ फागुन ३० गते निर्माण कम्पनीले काम सम्पन्न गरेको थियो । कृष्ण निर्माण सेवा कालीकोटले संरचना निर्माण गरेको हो । यो वर्ष सूचना प्रकाशित गरेर वधशाला सञ्चालन गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए । वीरेन्द्रनगर मासु व्यवसाय संघसँग समन्वय गरेर वधशाला सञ्चालन गर्न लागिएको उनको भनाइ छ । अहिले वीरेन्द्रनगरस्थित हटिया (पुरानो बजार क्षेत्र) पशु वधशाला सञ्चालन भइरहेको छ । नगरपालिकाले सीमित स्थानमा व्यवस्थित गरेर वधशाला निर्माण गर्न लागेको हो । राजधानीसमेत रहेको नगरपालिकामा व्यवस्थित वधशाला नभएको भन्दै सरोकारवालाहरूले नगरपालिकालाई विभिन्न समयमा ध्यानाकर्षण गराउँदै आएका छन् । सरकारले यो वर्षदेखि व्यवस्थित रूपमा सञ्चालनको योजना बनाएको छ ।

सरकारले मासुको स्वच्छता कायम गर्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा सक्रियता देखाएको छ । ऐन जारी भएको २८ वर्षपछि सरकारले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट यसको कार्यान्वयन प्रक्रिया अघि बढाएको हो । यसक्रममा गत मंगलवारदेखि मासु निरीक्षक परिचालन गरी उपत्यकाका वधशाला तथा मासु पसलको नियमित अनुगमन र निरीक्षण गर्न थालिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ एवम् सूचना अधिकारी डा. मणिरत्न अर्यालले मासु निरीक्षक खटाएर वधशाला तथा मासु पसलको अनुगमन सुरु गरिएको बताए । उनका अनुसार अनुगमनसँगै वधशालामा आवश्यक सुधारका उपाय र मासुको स्वच्छतासम्बन्धी मापदण्डबारे व्यवसायीलाई सचेत गराउने काम भइरहेको छ । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले २८ वर्षपछि सरकारले ऐन कार्यान्वयनमा चासो देखाउनु सकारात्मक भएको बताए । उनले अधिकांश वधशाला तथा मासु पसल ऐनले तोकेका मापदण्डअनुसार सञ्चालनमा नरहेको उल्लेख गर्दै वधशाला व्यवस्थित गरी उपभोक्तालाई स्वच्छ मासु उपलब्ध गराउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।

ऐनअनुसार मासु निरीक्षकले पशुको मासु परीक्षण गरी बिक्रीका लागि योग्य ठहर गरेपछि तोकिएबमोजिमको छाप वा चिन्ह स्पष्ट देखिने गरी लगाउनुपर्छ । त्यस्तो छाप वा चिन्ह नलगाइएको मासु बिक्री गर्न नपाइने व्यवस्था ऐनमा छ । यसले परीक्षण नभएको वा उपभोगका लागि अयोग्य मासुको बिक्री नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । ऐनमा नेपाल सरकार वा प्रदेश सरकारले पशु तथा मासु जाँचका लागि पशु चिकित्सा विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिलाई मासु निरीक्षकका रूपमा नियुक्त वा तोक्न सक्ने व्यवस्था छ । सरकारले पहिलो चरणमा उपत्यकाबाट सुरु गरेको अनुगमनलाई प्रभावकारी बनाउँदै प्रदेशभर विस्तार गर्न सके उपभोक्ताले स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अपेक्षा गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले पनि सरकारले थालेको यस अभियानलाई साकार पार्नका लागि व्यवस्थित वधशाला निर्माणको योजनालाई अघि बढाएको छ ।

प्रकाशित मितिः   ६ मंसिर २०८३, आईतवार १०:१७