‘गौरवको आयोजना’ अघि बढ्ने संकेत

सुर्खेत: कर्णाली करिडोरलाई प्रदेशको गौरवको योजनाको रूपमा हेरिएको छ । विकासका हरेक पक्षबाट पछाडी परेको कर्णाली प्रदेशको उन्नतीका लागि निर्माण सुरु गरिएको कर्णाली करिडोरलाई यहाँका बासिन्दाले आफ्नो भाग्य र भविष्यतसँग जोड्ने गरेका छन् । ‘साउथ एन्ड नर्थ एक्सिस गोर्थ’ को रूपमा लिइएको कर्णाली करिडोरले नेपाल, चीन र भारत जोड्नेछ । करिडोर निर्माणको काम भने सुस्त गतिमा भइरहेको छ ।

सरकारले प्रत्येक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ राख्ने गरेको छ । म्याद थप गर्दै आयोजनालाई लम्बाउँदै गएको भएपनि प्रगति भने न्यून छ । कर्णाली करिडोर बाँकेको जमुनाहदेखि सुर्खेत, दैलेख, कालीकोट, बाजुरा हुँदै हुम्लाको सिमिकोटदेखि चीनको सिमाक्षेत्र हिल्सासम्मको दुरी ६ सय ८२ किलोमिटर छ । प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि हुम्लाको हिल्सासम्म चार सय १० किलोमिटर रहेको छ । कर्णाली करिडोर नामकरण गरी ट्र्याक खोल्न थालेको २५ वर्ष भएको छ । २५ वर्षसम्म मात्र ट्र्याक खोल्ने काम सकिएको छ । अन्य स्तरोन्नतिका काममा ढिलासुस्ती भइरहेको छ ।

भारतको सीमावर्ती जमुनाहदेखि चीनको सीमावर्ती हिल्सासम्म जोड्ने लक्ष्य राखिएको पाँच सय पाँच किलोमिटर लामो कर्णाली करिडोरको ट्र्याक खोल्ने भएको छ । समग्र आयोजना सम्पन्न गर्ने म्याद आर्थिक वर्ष २०८४/०८५ बाट संशोधन गरी २०८९/०९० पुर्‍याइएको छ । खुलालु–सल्लिसल्ला सडक योजनाअन्तर्गत एक सय २३ किलोमिटर सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएको छ । आर्थिक वर्ष २०८२/०८३ देखि निर्माण सुरु गरिएका पिलुचौर–कुवाडी र कुवाडी–तुम्च खण्डको प्रगति न्यून छ । आर्थिक वर्ष २०८३÷०८४ को असोजसम्म पिलुचौर–कुवाडी खण्डको वित्तीय प्रगति ३५ प्रतिशत छ भने कुवाडी–तुम्च खण्डको आठ प्रतिशत मात्रै रहेको छ । दुवै खण्डको निर्माणका लागि तीन अर्ब ८६ करोड रूपैयाँभन्दा बढीका ठेक्का सम्झौता भएका छन् । सम्झौताअनुसार दुवै खण्डको काम २०८५ असार २५ सम्म सम्पन्न हुनुपर्नेछ । तर, समग्र सडक योजनाको सम्पन्न गर्ने म्याद भने थप पाँच वर्ष पछाडि सारिएको छ ।

यस्तै, कर्णाली करिडोर अन्तर्गत खुलालु–सलिसल्ला खण्डको स्तरोन्नति हुने भएको छ । त्यसका लागि तीन अर्ब बढीको ठेक्का सम्झौता भएको छ । संघीय सरकारका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिवद्धता अनुसार कर्णाली करिडोरको स्तरोन्नतिका लागि तीन अर्ब बढीको बहुवर्षीय कार्यक्रम स्वीकृत गरी ठेक्का सम्झौता भएको जानकारी दिए । यो खण्डमा बहुवर्षीय ठेक्का स्वीकृति र बजेट अभावका कारण निर्माण कार्य अघि बढ्न सकेको थिएन । ठेक्का सम्झौता अुनसार करिडोरको दक्षिण खण्डअन्तर्गत खुलालु–सलिसल्ला सडकको ४१ किलोमिटर खण्डमा निर्माण तथा स्तरोन्नतिको काम हुनेछ । करिडोरको तुम्चादेखि सलिसल्लासम्म १३ किलोमिटर, खुलालुदेखि कोटसम्म १३ किलोमिटर र भुक्काखोलादेखि पिलिचौरसम्म १५ किलोमिटर सडक स्तरोन्नति गरिनेछ ।

सरकारले आर्थिक वर्ष २०८२/०८३ मा कर्णाली करिडोरका लागि एक अर्ब २७ करोड रूपैयाँ विनियोजन गरेको थियो । आर्थिक वर्ष २०८३/०८४ को बजेटमा भने कर्णाली, कालीगण्डकी र कोशी गरी तीन वटा उत्तर–दक्षिण करिडोरका लागि कुल ६ अर्ब २५ करोड रूपैयाँ विनियोजन गरेको छ । सरकारले उक्त वर्ष कर्णाली करिडोरमा ३१ किलोमिटर सडक कालोपत्रे तथा ग्राभेल गर्ने लक्ष्यसमेत राखेको छ । कर्णाली करिडोरलाई भविष्यमा भारत र चीनबीचको व्यापारिक मार्गका रूपमा विकास गर्ने चर्चा पनि भइरहेको छ । सडक विभागको प्रस्तावअनुसार खुलालुदेखि हिल्सासम्मको सडक स्तरोन्नति गर्ने योजनाअन्तर्गत दुई सय ४६ किलोमिटर सडक चार लेनको कालोपत्रे बनाउने अवधारणा अघि सारिएको छ । यसका लागि करिब ३६ अर्ब ९० करोड रूपैयाँ लागत अनुमान गरिएको छ । प्रस्ताव कार्यान्वयनमा आए पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, चार लेनको महत्वाकांक्षी योजना अघि बढाइरहँदा अहिले निर्माणाधीन दुई लेन सडककै काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।

 

उत्तर खण्डमा पनि स्तरोन्नतिको चुनौती

कर्णाली करिडोरको उत्तर खण्डअन्तर्गत हिल्सा–सिमिकोट–सल्लिसल्ला सडकको स्तरोन्नतिको काम पनि जारी छ । एक सय ४६ किलोमिटर लामो यस खण्डको ट्र्याक खोल्ने काम पूरा भएको योजना प्रमुख इन्जिनियर बेलबहादुर नेपालीले बताए । उनका अनुसार सल्लिसल्लादेखि खार्पुनाथसम्मको ३८ किलोमिटरमध्ये ३२ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता भएको छ । बाँकी ६ किलोमिटर सडक ग्राभेल गर्न पनि ठेक्का व्यवस्थापन गरिएको छ ।

त्यस्तै, सिमिकोट–हिल्सा खण्डको ९५ किलोमिटरमध्ये ७२ किलोमिटरमा स्तरोन्नतिको काम भइरहेको नेपालीले जानकारी दिए । उत्तर खण्डमा हिमाली भूगोल, प्रतिकूल मौसम र हिमपात निर्माणका प्रमुख चुनौती हुन् । निर्माणका लागि उपलब्ध समय सीमित हुने भएकाले वार्षिक कार्यतालिका, बजेट र निर्माण सामग्रीको आपूर्तिबीच समन्वय आवश्यक हुन्छ ।

प्रकाशित मितिः   ४ मंसिर २०८३, शुक्रबार ०५:०५