कृषिमा प्रविधिको प्रयोग बढ्दै

सुर्खेत, १६ असार ।
असार १५ अर्थात् धान दिवसको अवसर पारेर बिहीवार वीरेन्द्रनगर–१० स्थित बलबहादुर बिसीको खेतमा रोपाइँ महोत्सव आयोजना गरियो । महोत्सवमा निम्त्याइएका अतिथिहरू त्यहाँ पुग्दा कृषकहरू हाते ट्रयाक्टरले खेतलाई हिलाम्मे बनाउँदै थिए । त्यति मात्र होइन खेतमा मल छर्न पनि उनीहरूले आधुनिक मेसिनको प्रयोग गरिरहेका थिए । पछिल्लो समय कृषकहरूले खेती गर्दा आधुनिक प्रविधिलाई आत्मसात् गर्न थालेका छन् । यसैको एक उदाहरण हो, रोपाइँ महोत्सवमा देखिएको दृष्य ।


सुर्खेतमा पनि पछिल्लो समय कृषिमा प्रविधिको प्रयोग विस्तार हुँदै गएको छ । परम्परागत घरेलु प्रविधिहरूको प्रयोग गरेर गरिने कृषि क्षेत्रमा विस्तारै आधुनिकीकरण हुन थालेको छ । खेतबारी जोत्नका लागि प्रयोग हुने गोरु र राँगालाई प्रविधिले विस्थापित गर्दै लगेका
छन् । गोरु र रागाको सट्टा आजभोलि आधुनिक मेसिनको प्रयोग गर्न थालिएको छ । यस्ता मेसिनको प्रयोगले कृषकलाई सहज बनाएको छ । मेसिनको प्रयोगले एकातर्फ कम समयमै काम सम्पन्न हुने गरेको र अर्कोतर्फ कम मानव जनशक्ति भए पनि पुग्ने कृषकहरू बताउँछन् ।
सुर्खेतमा हाते ट्रयाक्टर, पावर ट्रेलर, बीऊ छर्ने मेसिन लगायतका प्रविधिको प्रयोग बढ्दै गएको छ । त्यति मात्र नभइ नयाँ–नयाँ बीऊको प्रयोग, थोपा सिचाइँ निर्माण र उपयोग, प्लाष्टिक घरको निर्माण पनि आधुनिक प्रविधि भएको बताउँछन् जिल्ला कृषि विकास कार्यालय सुर्खेतका प्रमुख कालिकाप्रसाद कोइराला । उनले यस्ता प्रविधिको प्रयोग बढेको जनाए ।
प्रविधिको प्रयोगले कृषि प्रणालीलाई व्यवस्थित बनाउनुका साथै बढी आम्दानी दिन पनि सघाउने उनले बताए । ग्रामीण क्षेत्रमा पनि यस्ता प्रविधिको प्रयोग बढिरहेको कोइरालाले जानकारी दिए । विशेष गरी तरकारी खेतीमा नयाँ प्रविधिको प्रयोग सुर्खेतमा बढ्दो छ ।

प्रकाशित मितिः   १७ असार २०७४, शनिबार १५:२५