प्रेमपत्र

प्रेम पूजारी मधु मालतिको कसम यो जन्ममा म तिम्रो, तिमी मेरी हुन सकेनौं तर अरु लाखौं जुनिमा तिमी मेरै हुन्छौं । यद्यपि मलाई भाग्यले ठगेको होला सायद आज अन्तिम क्षणमा आएर मदेखि विछोडको पत्रहरू माग्यौ । यसको पछाडि कुन रहस्य छ । मैले बुझ्नै सकिन प्रिया । रानी सल्लाको वनमा लागेको डढेलो भइ जलाइदियौं, मेरो मुटुभित्रका प्रेमका दरबारहरू । म एउटा प्रश्न सोध्दैछु तिमीलाई, मेरो प्रेमका दरबारहरू जलाएर कुन साम्राज्यको महारानी भएर बस्छौं प्रिया ? तिम्रा लागि औंसीको रातमा राँको बालेकै थिए, प्रेम सागरमा पौडिन विशाल नौका बनाएकै थिए । तर डबायौं नौका सिंगो जिन्दगीको अब सागरमा भौतिक स्वरूप मर्ने गरी यहाँ ।
तिमीसँगको सिंगो जिन्दगीमा हजारौं सपना बुनेको थिए, तिमीसँगै म लाखौं जन्म जन्मान्तर हुने अनन्त सपना देखेको थिए । भएछन् सबै सपना टुक्रा बिजेछन् मलाई बिसालु काँडा, मबाट तिमी हुँदा टाढा । तिमीसँग बिताएका रातहरू र कैयौं अविस्मरणीय पलहरू सम्झिदै एक्लै बिछिप्त निराशामै तिम्रो यादमा म यहाँ, कसरी बिस्यौं प्रिया मलाई छलेर तिमी जान्छौं कहाँ । मेरै आँखा अघि तिमीले पराइको अँगालो बेरेपछि बिछिप्त बनेका मेरा मनहरू भक्कानो गरी रुदैछन् यहाँ । तिमी त हाँस्दै गयौ–गयौ, तर मलाई बगरमा फ्याकिदियौ, किन हो । तिमी नै हुनु भव्य दरबारकी महारानी मेरा यादहरू सक्छौ भने लैजानु तिम्रा दरबारमा र दरबारकै सुलीमा चढाइदिनु मेरा यादहरू, ताकी सुलीमा चढेका मेरा यादहरू तिमीलाई हेरि–हेरि जुनी काटुन । कुनै दिन याद आयो भने प्रिया, मेरो सुलीमा चढेका यादहरूलाई सुमसुम्याई दिनु ताकी मेरा अवशेषहरू ब्यूजिएर तिमीलाई उमंगले साथ दिनेछन् ।
तिमीसँग बिताएका केही तस्विरहरू म सँग छन् र त तिम्रा सुन्दर तस्विरहरू कोरिदिन्छन् मेरा पवित्र औंलाहरूले । जलाए पनि मुटुहरू, जलाए पनि मनहरू तर नजलाउनु यी तस्विरहरू । किनकी, मेरो प्रेम प्रकट भएको रूप नै यही हो । यही भित्र तिमीले पाउनेछौं मधुमालतिका प्रसंगमय प्रेम गाथाहरू । वा मैले तितो बोलेका यादहरू एउटा बगरमा लिएर बगाइदिनु किनकी मेरा अवशेषहरू त्यही बगरमा हुनेछन् । जबसम्म तिमी आउने छैनौं तबसम्म मेरा अस्तु सेलाउने छैन ताकी तिनै तिता पलहरू म स्वयम् स्वीकार गर्न सकुँ र मेरा मिठा पल, याद, प्रेम, माया सम्झाना, भावनाहरू लैजानु तिम्रो दरबारमा कुनै बेला काम लाग्नेछन् । म तिमीलाई फोन गरेर यो, त्यो भन्न सक्दैन, तर म स्वयम् खाली पानामा रंगीएर बनेको भरिपूर्ण कालो अक्षर
हो । यसैलाई मेरा बोली हो भनेर सम्झिदिनु जलाए पनि मेरा प्रेमहरू तर नजलाउनु यी तस्विरहरू र मेरा अक्षरहरू ।
बाँकी तिम्रो पत्रको प्रतिक्षामा
सिताराम भट्टराइ

प्रकाशित मितिः   १७ असार २०७४, शनिबार १५:२३