ऊ को थिइ ?

कक्षामा सरले ठूलो स्वरले बोलिदिँदा रातभर छट्पटीमा बिताउने बेचैनी हो ऊ । वर्षमा एकपटक मात्र कलेज थोरै ढिलो पुग्दा पालेदाइले हाँसेर आज किन ढिला ? भनि सोध्दा आँखाभरी आँसु बनाइ मौन रहने सन्नाटा हो ऊ । कसैले मेरो साथी बन्छौं भनि प्रश्न गर्दा विना जवाफ मुस्कुराइ हिँड्ने खुशी हो ऊ ।
मेरो गलफ्रेन्ड बन्छौं ? भनि सोध्ने प्रश्नमा जिन्दगीभर कहिल्यै नबोल्ने गरी चुप बस्ने अप्रिय हो ऊ ।
कसैलाई एक पटक दुखाउँदा आफू बार–बार दुख्ने आँसु हो ऊ ।
बेचैन आँखाले ऊ कसैलाई खाज्दै–खोज्दै हिँड्दा कसैको हेराइलाई बेवास्ता गर्दैै गर्दा पुगेको उसको त्यही कक्षा कोठा थियो । जहाँ पुग्नुभन्दा अगाडि सय वा त्यसैको कल्पना गरेकी थिइ, जहाँ पुगेर म यो बन्ने छु । त्यो बन्ने छु भन्दै आँखा हजार बार चल्मलाएकी थिइ । यो सब घटना घटेको आज भन्दा ठ्याक्कै तीन वर्षअघि थियो । उसले आजसम्म त आफ्नो उपलब्धी, सन्तुष्टि, असन्तुष्टि सबको आंकलन गर्ने पक्कै अबेर गरेकी छैन ।
र आजसम्म पनि उसलाइ बेचैनीले साथ छोडेकै छैन । आज भन्दा करिब २० वर्ष अघि यदि उसकी आमाले आफूसँगै उसको श्वास पनि बहनबाट बन्द गरिदिएकी हुँदी हुन् त…के हुँदो हो ?
न ऊ नै यहाँसम्म पुग्ने थिइ न त उसको बेचैनी नै न त आमा नै ।
जिन्दगीका साना ठूला धेरै उतार चढाव भइरहँदा एक बिहान उसले ठूलो बेचैनी उपहार पाइ । उसले ऐनामा आफूलाई एकोहोरो यसरी पहिलो पटक हेरेकी थिइ । आफ्नो कपाललाई हातले सुस्तरी स्पर्श गरी झ्यालमा आएको हावाले विस्तारै कपाल उडाइदियो । उसको ओठमा एकाएक अतृप्त मुस्कुराहट देखियो । जो मुस्कुराहटबाट ऊ आफै अचम्मित बनी ।
छिटो–छिटो कलेज पुग्ने बाटोतिर हिँड्न थाली उसका आँखामा कालो गाजल थिएन न त ओठमा कुनै कलरको लाली नै न त कहिल्यै ऊ आफूलाई सिंघारेरनै हिँड्थी न जान्थी नै । उसमा कहिल्यै नआएको उत्साह उमंग त्यही बिहान थियो । त्यही दिन उसले कसैको हेराइमा नयन झुकाएकी थिइ ।
करिब २ बज्दै थियो उसको धड्कन जोड जोडले धड्कदै थियो । उसका प्रतिक्षाले सीमा नाघी सकेको थियो । ठ्याकै २ बजे ठूलो भीडमा उसको नाम स्टेजबाट बोलाइयो हो त्यही दिन उसको उमंगको दोस्रो पटक चरम शिखरमा पुगेको थियो उसको एक लक्ष्य पूरा भएको थियो । त्यो त्यही कलेज थियो जहाँ उसले देखेको एक सपना पूरा गरेकी थिइ ।
हिँउदको चिसो साँझ आमा अगेना नजिक रोटी पोल्दै
गर्दा उसले एकाएक एक जिज्ञासा देखाइ, ‘आमा हजुरको बिहे कसरी भयो ?’
उसकी आमाले पनि अनौठो आँखाले उसलाई नियाल्दै हाँसिदिइन्, ‘दुई रूपैयाँको रातो टिकाले मेरो बिहे भयो ।’
अब आश्चर्य त झन् बढ्यो । त्यसै त गुम्सिएको उसको मन अब आमाको यस्तोे जवाफले झन् अलमल प¥यो । ‘अँ त्यस्तो बिहे हुन्छ र मण्डप अनि पण्डित के के चाहिन्न र ?’
‘हामीसँग त्यति धेरै केही थिएन प्रेम मात्र थियो । आफूसँग भएको त्यही रातो टिका अनि बरपिपलको सात फन्को र एउटा मदन भण्डारीको फोटो यतिमा हाम्रो बिहे भयो ।’
अहो कति आश्चर्य ?
वि.सं. २०५० सालमा मदन भण्डारीको मृत्यु भएको थियो । त्यो कुराको सम्बन्ध त उहाँहरूको विवाहसँग थिएन तर त्यस्तै सम्झना बनेछ । त्यसैको ठ्याक्कै १ वर्षपछि प्रिय घटना भने घटेको रहेछ ।
ऊ आफैसँग सशंकीत बनेर बाहिर परिरहेको झरीसँग एक्लै बोल्न थाली । अघि भर्खर आमाले बालेका शब्दहरूले उसलाइ बार बार झस्काइरहे । यो सब हुनुमा जो कारण होस् तर ऊ बेचैन बनिरही ।
को थिइ त ऊ किन बेचैनीले बारबार उसलाई सताइरहयो ? ऊ आफैलाई यति विस्तारमा पढ्न खोज्नुको यथार्थ के हुनसक्छ ?

प्रकाशित मितिः   १७ असार २०७४, शनिबार १५:१८