तिहारको रौनकसँगै महँगीको मार
सुर्खेत: यस वर्षको तिहार नजिक आइसकेको छ । तिहारको रौनकले गाउँदेखि सहरसम्म चहलपहल बढाएको छ । केही दिनयता बजारमा किनमेल गर्नेको भिडभाड बाक्लो छ । भर्खरै दसैँलाई बिदाइ गरेका उपभोक्ताहरू फेरि लक्ष्मीपूजा र भाइटीकाका दिनमा आवश्यक पर्ने सामान खरिद गर्न जुटेका छन् । गाउँघर फर्कने र किनमेल गर्नेको घुइँचोले तिहारको रौनकता बढाएको छ । तिहारमा प्रयोग हुने सामग्रीले बजारका पसलहरू झकिझकाउ देखिन्छन् ।
यो समयमा झिलिमिली बत्ति, माला, भाइमसला तथा दैनिक उपभोग्य वस्तुहरूको माग पनि अधिक हुन्छ । यसैबेला हरेक सामानको भाउसमेत बढ्ने गरेको छ । कारोबार बढी हुने चाडपर्वका बेला बजार भाउ पनि आकाशिने गरेको हो । यसपटक पनि उपभोक्ताहरू महँगीको मारमा परेका छन् । तिहारमा चाहिने अत्यावश्यक वस्तुको मूल्य हरेक वर्ष बढ्दै गएको व्यवसायीहरू बताउँछन् ।
कर्णाली प्रदेशकै ठूलो व्यापारिक केन्द्र वीरेन्द्रनगर बजारमा तिहारले चहलपहल थपिएको छ । प्रदेश राजधानीको बजार भएकाले पनि यहाँ किनमेल गर्नेको धेरै भिड लाग्छ । तिहारका लागि लत्ताकपडा, माला, मसला, दुनाटपरी, रंगोलीलगायत सामानले बजार भरिभराउ भएका छन् । वीरेन्द्रनगर बजारमा बाहिरी जिल्लाहरूबाट समेत ग्राहकहरू आउने गरेका छन् । बिहीवार वीरेन्द्रनगर बजारमा भेटिएकी दैलेखकी रामसरा खत्रीले आफू तिहारका लागि चाहिने सामान किन्न आएको बताइन् । उनीसँगै सात÷आठ जना छिमेकी पनि किनमेलका लागि यहाँ आएका छन् । ‘दैलेख बजारभन्दा सस्तो पाइएला भनेर आएका थियौँ,’ खत्रीले भनिन्, ‘यता झन हरेक सामान महँगो रहेछ, गतवर्ष भन्दा हरेक सामानको मूल्य बढेको रहेछ ।’ चाडपर्वमा बजार भाउ ह्वातै बढ्दा निकै समस्या हुने गरेको उनले सुनाइन् ।
दसैंको भन्दा तिहारमा दैनिक उपभोग्य सामानको मूल्य झनै बढेको उपभोक्ताहरूको गुनासो छ । हरेक सामानमा परनिर्भर हुँदा पनि बजार भाउ आकाशिएको हो । तिहारका लागि आवश्यक भाइमसला, दुनाटपरी र मालासमेत भारतबाट बिक्रीका लागि ल्याइने गरिएको छ । आफ्नै गाउँघरमा सजिलै उत्पादन गर्न सकिने यस्ता सामानहरू पनि भारतीय बजारमा निर्भर हुँदा चाडपर्व निकै महँगिएका हुन् । यसले गर्दा चाडबाडको मौलिकतासमेत हराउँदै गएको वीरेन्द्रनगर–६ का ज्येष्ठ नागरिक प्रेम शाहीले बताए । पछिल्लो समय मौलिकता हराउँदै गएको उनको भनाइ छ ।
तिहारका लागि चाहिने सबै सामग्री बजारमै किन्न पाइने भएपछि गाउँमा सजिलै घर–आँगनमा उत्पादन गर्न सकिने फूलसमेत बजारबाटै खरिद गरेर लैजाने गरिएको छ । बजारमा प्लाष्टिकबाट बनाइएका मालाको व्यापार धेरै हुने गरेको हो । वीरेन्द्रनगरस्थित लक्ष्मी गिफ्ट पसलका सञ्चालक मनोजकुमार थापा विगत बाह्र वर्षदेखि यस्तै माला बेच्दै आएका छन् । प्रत्येक वर्ष यस्ता मालाको मूल्य बढ्दै गएको उनी बताउँछन् । ‘मैले सुरुका वर्षहरूमा २० रूपैयाँदेखि एक सय रूपैयाँमा माला बेचेको हो,’ उनले भने, ‘अहिले तिनै मालालाई डेढसयदेखि एक हजारसम्म पर्छ ।’
प्लाष्टिकका(कृत्रिम) माला बजारमा जहाँ त्यही सहजै उपलब्ध हुने भएकाले पनि यसप्रति उपभोक्ताहरूको आकर्षण बढेको हो । पछिल्ला वर्षहरूमा सुर्खेतमा मात्र नभइ कर्णालीका हिमाली जिल्लाका बजारहरूमा पनि यस्ता माला छ्याप्छ्याप्ती पाइने गरेका छन् । कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पासम्म प्लाष्टिकका मालाको प्रयोग बढ्दो छ । पछिल्ला वर्षहरूमा बजारमा हजारी फूलको माला बेच्न राखेपनि बिक्री हुनै मुश्किल हुन्छ ।
रुविना गिफ्ट कर्नरका सञ्चालक लक्ष्मी आचार्यले यो वर्ष बाह्र लाख मूल्य बराबरको प्लाष्टिकका माला खरिद गरेको जनाइन् । उनले भनिन्, ‘विशेष गरेर तिहारमा माला, भाइमसलाको बढी बिक्री हुन्छ । तीमध्ये अधिकांश सामान भारत र चीनबाट आयात हुन्छन्, आवश्यक पर्ने सबै सामान ल्याइसकेको छु ।’ उनका अनुसार अझै पनि मागअनुसारका सामान आपूर्ति भने हुन सकिरहेको छैन । बजारमा मालाको माग अत्यधिक देखिएपछि पछिल्लो समय तिहारलाई लक्षित गरेर सयपत्री फूलको व्यावसायिक खेती गर्न थालिएको छ । वीरेन्द्रनगरका थुप्रै ठाउँमा फूलको व्यावसायिक खेती गरिए पनि बजारको मागअनुसार उत्पादन हुन सकेको छैन ।
प्रकाशित मितिः २० कार्तिक २०८३, शुक्रबार ११:४३




रजनी याेगी ।