फूल खेतीमा सम्भावना
तिहार नजिकिँदै गर्दा वीरेन्द्रनगरका पुष्प व्यवसायीले फूलको अग्रिम माग पाउन थालेका छन् । विगतमा बजारको अभावमा बारीमै फूल कुहाउनुपर्ने अवस्था भोगेका किसानले यस वर्ष चाडपर्व आउनुअघि नै फूलको माग बढेपछि उत्साहित हुनु स्वाभाविक हो । यसले स्थानीयस्तरमा व्यावसायिक फूलखेतीको सम्भावना मात्र उजागर गरेको छैन, कृषि क्षेत्रमा नयाँ अवसर र आत्मनिर्भरताको ढोका पनि खोलेको छ । नेपालमा तिहारलगायत विभिन्न चाडपर्व, विवाह, धार्मिक तथा सांस्कृतिक कार्यक्रममा फूलको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा स्थानीय उत्पादनले बजार पाउनु सकारात्मक पक्ष हो । फूलका लागि बाह्य बजार र आयातमा निर्भर हुनुभन्दा आफ्नै ठाउँमा उत्पादन बढाउन सके स्थानीय किसानको आम्दानी वृद्धि हुनुका साथै रोजगारीका अवसरसमेत सिर्जना हुन सक्छन् । विशेषगरी बेरोजगार युवा र वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न फूलखेती प्रभावकारी माध्यम बन्न सक्छ ।
तर फूलखेतीको सम्भावना देखिनु मात्रै पर्याप्त छैन । यसको दिगो विकासका लागि उत्पादनसँगै बजार व्यवस्थापनमा पनि ध्यान दिन आवश्यक छ । विगतमा बजार नपाएर किसानले उत्पादन गरेको फूल बारीमै कुहाउनुपर्ने अवस्था दोहोरिन नदिन स्थानीय, प्रदेश र संघीय सरकारले प्रभावकारी बजार संयन्त्र विकास गर्नुपर्छ । किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्ने, संकलन तथा बिक्री केन्द्र सञ्चालन गर्ने र उत्पादित फूलको उचित मूल्य सुनिश्चित गर्ने व्यवस्था आवश्यक छ । त्यस्तै, फूलखेतीमा संलग्न किसानलाई उन्नत जातका बिरुवा, आधुनिक खेती प्रविधि, प्राविधिक परामर्श, सिँचाइ र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्छ । मौसम परिवर्तन, वर्षा र तीव्र हावाहुरीबाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक प्रविधि तथा बाली बिमाको पहुँच पनि विस्तार गर्नुपर्छ । फूल खेती मौसमी मागमा मात्र सीमित नरही वर्षभरि सञ्चालन गर्न सकिने व्यवसायका रूपमा विकास गर्न उत्पादन विविधीकरण र बजार विस्तारमा जोड दिनुपर्छ । अर्कोतर्फ, भारतबाट आयात हुने फूलको गुणस्तर परीक्षण र क्वारेन्टाइन जाँचलाई प्रभावकारी बनाउनुपर्ने किसानको माग पनि जायज छ ।
आयात नियन्त्रण मात्र समस्याको समाधान होइन, स्वदेशी उत्पादनको गुणस्तर, प्रतिस्पर्धात्मक क्षमता र बजारीकरणमा समेत सुधार आवश्यक छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिने उपभोक्ता संस्कृतिको विकास पनि उत्तिकै महङ्खवपूर्ण छ । वीरेन्द्रनगरका किसानले देखाएको उत्साह र फूलको बढ्दो मागलाई स्थानीय सरकारले अवसरका रूपमा लिनुपर्छ । किसानलाई प्रोत्साहन, उत्पादनको सुनिश्चित बजार र उचित मूल्यको व्यवस्था गर्न सके सुर्खेतलाई व्यावसायिक फूलखेतीको महङ्खवपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिन्छ । फूलखेती केवल चाडपर्वमा सजावटका लागि फूल उत्पादन गर्ने माध्यम होइन, यो स्थानीय अर्थतन्त्र बलियो बनाउने, रोजगारी सिर्जना गर्ने र कृषिमा आत्मनिर्भरता बढाउने सम्भावनायुक्त व्यवसाय हो ।
प्रकाशित मितिः २० कार्तिक २०८३, शुक्रबार ११:३८
सम्पादकीय ।