उद्यमशीलता प्रवर्द्धन गर्न सहकार्य

सुर्खेत: सुर्खेत उद्योग वाणिज्य संघ र समाज जागरण केन्द्र (स्याक नेपाल) बीच उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ । किशोरकिशोरी, युवा, नवउद्यमी तथा साना व्यवसायीहरूको उद्यमशीलता विकास, सीप अभिवृद्धि, रोजगारी सिर्जना, व्यवसाय प्रवद्र्धन तथा दिगो आर्थिक विकासमा योगदान पु¥याउने उद्देश्यले दुईवर्षे सम्झौता गरिएको हो ।

सम्झौतामार्फत दुवै संस्थाबीच समन्वय, सहकार्य र साझेदारीलाई सुदृढ बनाउँदै युवालाई बजारको मागअनुसारको सीप, रोजगारी तथा उद्यमशीलताका अवसरसँग जोड्ने लक्ष्य लिइएको छ । सम्झौता हस्ताक्षर कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक छत्र केसीले सम्झौताका उद्देश्य, आगामी दुई वर्षमा सञ्चालन गरिने क्रियाकलाप तथा अपेक्षित उपलब्धिबारे विस्तृत जानकारी गराए ।

सेभ द चिल्ड्रेनका प्रतिनिधि जीवनाथ शर्माले बजारको माग र आवश्यकताअनुसार किशोरकिशोरी तथा युवाको सीप विकास गरी उनीहरूलाई रोजगारीमा आबद्ध गराउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको बताए । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष हर्षविक्रम खड्काले युवाहरू रोजगारीमा आवद्ध हुन चाहने हुन् वा आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने, उनीहरूको क्षमता र बजारको आवश्यकताबीच तालमेल स्थापित गर्नु आवश्यक रहेको बताए ।

समाज जागरण केन्द्र (स्याक नेपाल) का अध्यक्ष मीना कुमारी तिवारी शर्माले यस अभियानले युवालाई रोजगारी तथा उद्यमशीलतामा आबद्ध हुन प्रेरित गर्दै उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्न सहयोग गर्ने विश्वास व्यक्त गरिन् । यो सम्झौताबाट युवाको क्षमता र बजारको आवश्यकताबीचको दूरी कम गर्दै सीपयुक्त जनशक्ति उत्पादन, रोजगारी सिर्जना, नवप्रवर्तनमा आधारित उद्यमशीलता विकास तथा निजी क्षेत्रको प्रवद्र्धनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ । साथै, स्थानीय स्रोतसाधनको उपयोग, नयाँ व्यवसायको विकास र निजी क्षेत्रको विस्तारमार्फत सुर्खेत तथा समग्र कर्णाली प्रदेशको आर्थिक विकासमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रकाशित मितिः   ३० आश्विन २०८३, शुक्रबार ०९:५४