कुपोषणविरुद्ध आमा समूह
सुर्खेत: सुर्खेतका महिलाले करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको मुख्य आधार बनाएर पोषण सुधारमा उदाहरणीय काम गर्दै आएका छन् । ‘सुनौलो हजार दिन’ मा जोडिएका पाँच पालिकाका आमाहरूले स्वास्थ्य आमा समूह गठन गरी विषादीरहित प्राङ्गारिक तरकारी उत्पादन सुरु गरेपछि उनीहरूको दैनिकी मात्र होइन, सोच र जीवनशैलीसमेत परिवर्तन हुन थालेको छ ।
वीरेन्द्रनगर नगरपालिका ९ की लक्ष्मी कुमाल केही वर्षअघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा तरकारी उत्पादन गर्थिन् । अहिले भने आफ्नै बारीमा फलाएका तरकारी बजारसम्म पु¥याएर आम्दानी गर्दै आएकी छन् । उनी चाँदनी चौकी स्वास्थ्य आमा समूहमा आवद्ध छिन् । घरपरिवारलाई ताजा र पोषणयुक्त खाना उपलब्ध गराउनुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी गर्न थालेपछि आत्मविश्वास पनि बढेको उनले सुनाइन् । उनको पहिलो बच्चामा कुपोषित भएको थियो । ज्ञानको कमी हुँदा पहिलो बच्चामा कुपोषण देखिएको भन्दै उनले घरमै उत्पादन गरेको फलफूल तरकारी खाँदा अहिले भने सुधार भएको उनले बताइन् । ‘अहिले मेरा दुईवटै बच्चा स्वस्थ छन् उनले भनिन्, ‘आफैले तरकारी उत्पादन गर्छु, बालबच्चा पनि स्वस्थ छन्, तरकारी फलफूल बिक्री गरेर आम्दानी पनि गर्ने गरेको छु ।’
सोही वडाकी कृष्ण चौधरीको बारी पनि अहिले हराभरा छ । उनी महिला जागरण स्वास्थ्य आमा समूहमा आवद्ध छन् । कृष्णका अनुसार समूहले पोषण, महिला स्वास्थ्य र सरसफाइसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । विशेष गरी पोषण मेलाले महिलालाई आफ्नै उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गरेको उनको अनुभव छ । उनको बारीमा आवश्यक पर्ने सम्पूर्ण तरकारी र फलफूल लटरम्म फलेको छ । उनले उत्पादन गरेको तरकारी बजारसम्म पुग्छ भने घरमा पनि पोषिलो खानेकुरा मात्र पाक्ने गरेको छ । अहिले आम्दानीको स्रोत बढ्नुका साथै स्वस्थ जीवनशैली बाचिरहेको उनले सुनाइन् । बजारमा पनि अर्गानिक उत्पादनको अत्याधिक माग बढेको छ ।
स्थानीय तह, प्रदेश सरकार तथा विभिन्न संघ संस्थाले विभिन्न समयमा मेलाको आयोजना गर्ने गर्छन् । मेलामा स्थानीय महिला स्वास्थ्य आमा समूहले उत्पादन गरेका तरकारी, फलफूल, गेडागुडी, पोषणयुक्त खाद्य सामग्री तथा घरायसी बगैँचाका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिन्छ । विशेष गरी विषादीरहित र स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिइने मेलामा बजार मूल्यभन्दा केही सस्तो दरमा सामग्री बिक्री हुने भएकाले उपभोक्ताको आकर्षण पनि बढ्दो छ । सुन्दर नेपाल संस्था अन्तर्गत कियर नेपाल र आइडिई नेपालको प्राविधिक सहयोगमा सुर्खेतका पाँच वटा पालिकाका स्वास्थ्य आमा समूहले पोषणा सुधारका लागि अर्गानिक कृषि उत्पादन गर्ने गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन, पोषण सुधार र अर्गानिक खेती विस्तारमा जोड दिइएको पोषण परियोजनाका कार्यक्रम संयोजक चन्द्रबहादुर थापाले बताए ।
सुर्खेतका पाँच वटा पालिकामा परियोजना लागु गरिएको छ । वीरेन्द्रनगर नगरपालिका, बराहताल गाउँपालिका, भेरीगङ्गा नगरपालिका, लेकवेशी नगरपालिका र गुर्भाकोट नगरपालिकामा पोषण परियोजना लागु भएको छ । विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र बालबालिकामा पोषणको कमी नहोस् भन्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको हो । सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भूपेन्द्र कँडेलले पोषणयुक्त भोजनको महŒव घर घरमा पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी बनेको बताए । लेकवेशी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख महेश गिरीले कुपोषणका विरुद्ध सतचेतना फैलिएकाले सबै आमाहरू जागरुक बनेको बताए । पालिकाले समेत आफ्नो नीति तथा कार्यक्रम र बजेटमा उक्त विषय समेटेको भन्दै कुपोषणको दरलाई न्यूनिकरण गर्न आमा समूहलाई परिचालन गर्ने गरिएको जानकारी दिए ।
यसैबीच सुन्दर नेपाल संस्थाले सामाजिक परीक्षण गरेको छ । आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका कार्यक्रमहरूको सामाजिक परीक्षण गरेको हो । संस्थामा सात वटा परियोजना कार्यान्वयनमा छन् । पोषण सुधारदेखि विपद् व्यवस्थापनसम्मका क्षेत्रमा काम भइरहेको छ । पछिल्लो समय संस्थाले गरेका काम बढीभन्दा बढी जनमूखि भएको पाइएको जिल्ला समन्वयन समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले बताए । जनजीविकाका सवालमा काम गरिरहेको पाइएको भन्दै उनले आगामी दिनमा प्रविधिमा आधारित योजना कार्यान्वयन गर्न सुझाव दिए ।
प्रकाशित मितिः ३० आश्विन २०८३, शुक्रबार ०९:५३

रजनी याेगी ।