आज राष्ट्रिय धान दिवस

सुर्खेत, १४ असार ।
आज (बिहीवार) १४ औं राष्ट्रिय धान दिवस देशभर मनाइदैंछ । हरेक वर्षको असार १५ गतेलाई नेपालमा राष्ट्रिय धान दिवसको रूपमा मनाइन्छ । यस पटक पनि रोपाईं महोत्सव गरी सुर्खेतसहित देशभर यो दिवस मनाइदैंछ ।
धान दिवसको अवसरमा जिल्ला कृषि विकास कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा रोपाईं महोत्सवको आयोजना गरेको छ । ‘दुई वाली धानको विस्तार, आर्थिक समृद्धिको आधार’ भन्ने नाराका साथ महोत्सव आयोजना गरी धान दिवस मनाउन लागिएको हो ।
कार्यालयले वीरेन्द्रनगर–१० को वडा कार्यालय नजिक रोपाईं महोत्सव गर्दैछ । जिल्ला कृषि विकास कार्यालयले पछिल्लो वर्षहरूमा हरेक वर्ष रोपाईं महोत्सव आयोजना गर्दै आएको छ ।
किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरी असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको हो । कृषि कार्यालयका साथै कृषि क्षेत्रसँग सम्बन्धित अन्य संघ–संस्थाले पनि विभिन्न कार्यक्रम गरी मनाउँदैछन् ।
मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिन अधिकांश स्थानमा रोपार्इं गरी धान दिवस मनाउने
गरिन्छ । खेतमा रोपाईं गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही चिउरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।

प्रकाशित मितिः   १५ असार २०७४, बिहीबार १५:१७