‘महिलालाई आत्मनिर्भर बनाउन लाग्नेछु’

वि.सं. २०२२ सालमा सिम्ता गाउँपालिकाको आग्रीगाउँमा जन्मिएकी चन्द्राकला शाहीको राजनीतिक यात्रा पञ्चायतकालदेखि सुरु भयो । वि.सं. २०४४ सालदेखि राजनीति यात्रा सुरु गरेकी शाहीले पञ्चायकालमा महिला सभापति भएर काम गरिसकेकी छिन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकोतर्फबाट उम्मेदवार बनेर सिम्ता गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन् । उनीसँग हाम्रा सहकर्मी गीता थापाले गरेको कुराकानीः

सिम्ता गाउँपालिकाको उपाध्यक्षमा विजयी हुनुभएको छ, जित्नुको आधार के थियो ?
मैले जित्नुको थुप्रै आधार थिए । उम्मेदवारी दिने बित्तिकै जित्छु भन्ने विश्वास थियो । किनकी मैले पार्टीमा धेरै योगदान गरेको छु । वि.सं. २०४४ सालदेखि अहिलेसम्म पार्टीमा निरन्तर रूपमा लागि रहेको छु । अर्कोे सबैसँग म मिलनसार छु । अरुलाई केही समस्या परेको समयमा तुरुन्त सहयोग गरिहाल्ने मेरो बानी छ । आफ्नो अमूल्य भोट सिम्ता गाउँपालिका बासीले मलाई दिनु हुन्छ भन्ने पूर्ण विश्वास पनि थियो र जिताउनु पनि भयो एकदमै सुखी छु र जनताले मलाई गरेको यो विश्वास सधैं टिकाइ पनि राख्ने छु ।
तपाईंप्रति जनताले गरेको विश्वासलाई आगामी दिनमा कसरी टिकाउनु हुन्छ ?
विश्वास गरेर मलाई मतदाताले जिताउनु भएको छ । यो विश्वासलाई अवश्य टिकाइ राख्नेछु । यहाँका मतदातासँग म हरेक समय सम्पर्कमा रहनेछु । जति पनि वडामा जितेर जानुभएको छ उहाँहरूसँग समन्वय गरेर वडाका समस्या समाधान गर्नेछु । यहाँका जनताले अहिले के चाहन्छन् त्यो बुझेर म पूरा गर्नेछु । सिम्ता गाउँपालिका जनताले खोज्ने भनेको खानेपानी, वडा वडामा विद्यालय, वडा वडामा सडक बाटो यही नै हो । यसको लागि हामी निरन्तरता लागि रहने छौं ।
तपाईंको पाँच वर्षे कार्यकालमा के–के गर्ने योजना बनाउनु भएको छ ?
अहिले नै यो गर्छु भनेर हुँदैन । गर्नुपर्ने काम र जिम्मेवारी धेरै छ । ती सबै कामहरू गर्दै र नयाँ योजना बनाउँदै अगाडि बढ्ने हो । काम गर्दै जाउँ, योजनहरू बन्दै जान्छन् । वडाबासी, मतदाताहरूबाट योजना पनि आउँछ । हामीले विकास गर्ने काममा रोक्ने छैनौं । सिम्ता गाउँपालिकामा मुख्य समस्या भनेको घर घरमा खानेपानी नहुनु, सडक सहज रूपमा गाउँमा नपुग्नु, विद्यालय नहुनु हो ती समस्यालाई पाँच वर्षको अन्तरालमा मैले पूरा गर्नेछु । मेरो दिमाखमा अहिले सेट भएको योजना यही हो । अर्काे पार्टीले निर्वाचनका क्रममा अगाडि सारेका घोषणापत्रलाई प्रमुखसँग सहकार्य गरेर अगाडि बढ्नेछु । मेरो तेरो पार्टी भनेर छुट्याउने छैन ।
महिलाका क्षेत्रमा कस्ता कामहरू गर्नुहुन्छ ?
म आफै महिलावादी हुँ । मैले वि.सं. २०४४ सालमा पञ्चायकालदेखि राजनीति गरको हुँ । महिलाको क्षेत्रमा मैले विशेष ध्यान दिनुपर्ने समय आएको छ । २० वर्षपछि भएको स्थानीय चुनावमा महिला र दलित महिला भनेर कोटा नै छुट्याएको अवस्था छ । हरेक वडा वडामा आएका महिलाहरूसँग समन्वय गरेर काम गर्नेछु । महिलालाई शिक्षामा अग्रसर गर्ने, कसरी रोजगारमूलक कार्यक्रम ल्याउने भनेर वडामा निर्वाचित हुनुभएका महिला दिदी बहिनीहरूसँग समन्यव गर्नेछु । अझै पनि महिलाहरू बाहिर निस्किनुप¥योे भने श्रीमान्सँग पैसा मागेर हिँड्नुपर्ने अवस्था छ । त्यस्ता महिलाहरूलाई प्रशिक्षण दिएर उद्यमी बनाउने मेरो सपना छ । विभिन्न रोजगारमूलक काममा महिलालाई अग्रसर गर्दै अगाडि बढाउने मेरो लक्ष्य छ । सिम्ता गाउँपालिकाका महिलालाई उद्यमी बनाउन मेरो पहल रहनेछ । अर्काे महिलाहरूको सशक्तीकरणको लागि पहिलो खुट्कीलो भनेको राजनीति नै हो । राजनीतिबाट नै हाम्रा आवाज अगाडि बढ्ने हो । राजनीतिक रूपमा अगाडि नबढेसम्म महिलाको विकास हुँदैन भन्ने मेरा मान्यता छ । अब कोही पनि महिला दिदी बहिनीले महिला हिंसा सहेर बस्नुपर्ने छैन । महिलाहिंसा अन्त्य गर्नका लागि मेरो पहिलो काम भनेको सम्पूर्ण सिम्ता गाउँपालिकाबासी महिला दिदी बहिनीहरूलाई सशक्तीकरणको पाटोमा लग्ने र आफ्नो अधिकारका लागि आफै आवाज उठानसक्ने बनाउने छु । अझै पनि महिलाहरू आफ्नो नाम लेख्न सम्म जान्दैनन् त्यसका लागि महिलाहरूलाई शिक्षित बनाउने योजनाहरू पनि मसँग छन् ।
अहिले धेरै महिला स्थानीय सरकारमा पुगेका छन्, त्यसमध्ये थोरै संख्यामा भए पनि नीति निर्माण तहमा आएका छन्, कस्तो परिवर्तनको आशा गर्न सकिएला ?
२० वर्षपछि भएको स्थानीय तहको चुनावमा ४० प्रतिशत महिलाको सीट सुरक्षित गरेको अवस्थामा छ । त्यसमा पनि मेयर वा उपमेयर महिला आएका छन् । अब हाम्रो लडाइँ ५० प्रतिशतका लागि हुनेछ । किनकी हामी पनि यो देशका नागरिक हौं । आधा धर्ती ओगटेका नागरिक हौं । अब मतदातको संख्यामा हेर्दा पुरुष भन्दा महिलाको बढी छ । अब निर्णायक तहसम्म महिला पुग्नुपर्छ । अहिले जति पनि महिलाहरू उपप्रमुख र वडा अध्यक्ष तथा सदस्यहरूमा आउनुभएको छ, पाँच वर्षभित्रमा यति सक्षम बनाउनुप¥यो की उनीहरू पाँच वर्षभित्रमा सदस्यबाट अध्यक्ष, अध्यक्षबाट प्रमुख तथा उपप्रमुख र उपप्रमुख महिला मेयरसम्म पुग्नसक्ने गरी हामी तयार हुनुपर्छ । परिवर्तन गर्न सकिन्छ ।
वडामा निर्वाचित महिलाको क्षमता विकासका के योजना छ ?
महिलाहरू नेतृत्व तहमा आएका छन् । पार्टीमा आवद्ध नभइ उहाँहरू जितेर आएको अवश्य होइन । अब उहाँहरूलाई सशक्त रूपमा अगाडि बढाउन प्रशिक्षण दिन बाँकी छ । आफ्नो काम, कतव्र्य र अधिकार के हो बुझ्न बाँकी छ । काम गर्दै जाँदा उहाँहरू आफै पोख्त हुनुहुन्छ । उहाँहरूसँग सहकार्य गरेर नै मैले काम गर्ने हो । उहाँहरूलाई एउटा कुल नेतृ बनाउनका लागि प्रशिक्षण दिने र वडामा रहेका समस्याका पहिचान गरी उहाँहरूबाटै त्यो काम सम्पन्न गराउने जिम्मा पनि दिने छु ।
यहाँसम्म आइपुग्दा कस्तो संर्घष गर्नुभयो ?
मैले धेरै संघर्ष गरें । २०४४ सालबाट मैले राजनीति यात्रा सुरु गरे । त्यतिबेला आग्रीगाउँमा पञ्चायती व्यवस्था थियो । गाउँ पञ्चायत काफलकोटमा मैले २०४४ सालदेखि आवद्ध भएर काम गरें । काम गर्ने क्रममा धेरै आरोह अवरोह पनि आए तर, मैले हार मानिन किनकी मेरो उद्देश्य आज म जुन स्थानमा छु यहाँसम्म आउनु थियो । पञ्चायती गाउँपालिकामा पनि मैले महिला सभापति भएर काम गरिसकेको हो । म सधैं पार्टीमा सक्रिय भएर लागें अहिले सफलता हात पारे, खुशी छु । मतदाताले मलाई इज्जतदारसँग मत दिनुभएको छ । जनताको त्यो विश्वासलाई म टुट्न दिने छैन । अझ विशेष त महिला दिदी बहिनीका लागि मेरो पहिलो प्राथमिकता दिनेछु ।
पारिवारीक सहयोग कतिको पाउनुभयो ?
मेरो माइतीमा बुबाले राजनिति गर्नु हुन्थ्यो । विवाहपछि सुसुरा बुबा पनि गाउँको प्रधान हुनुहुन्थ्यो । त्यसकारण पनि मलाई राजनीतिमा लाग्ने प्रेरणा मिलेको हो । मलाई घरपरिवारको राजनीतिमा लाग्ने पूर्ण सहयोग र हौसला मिलेको कारण नै म आज यहाँसम्म आउन सफल भएको छु ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
अन्त्यमा म के भन्न चाहन्छु भने मलाई विश्वास गरेर जिताउनु हुने सम्पूर्ण सिम्ता गाउँपालिका बासीहरूलाई धन्यवाद दिन चाहन्छु । जुन विश्वास मलाई सिम्ता गाउँबासीले गर्नुभएको छ म त्यो विश्वासलाई साँच्चिकै विश्वासमा नै बदल्नेछु । जनातसँग प्रत्यक्ष नजिक भएर उहाँहरूका समस्यालाई बुझेर काम गर्नेछु । अब त न्यायपालिकाको अधिकार पनि हामी महिलाहरूले नै पाएका छौ । त्यस गर्दा पनि अब कोही महिलाहरू पीडित हुनुपर्ने छैन । महिला अधिकारका लागि हाम्रो प्रयास रहनेछ ।

प्रकाशित मितिः   १५ असार २०७४, बिहीबार १५:१६