दसैँको चहलहपल
बडादसैँ नेपालीको प्रमुख सांस्कृतिक पर्व हो । यो पर्व धार्मिक आस्था, पारिवारिक मिलन र सांस्कृतिक परम्परासँग मात्र जोडिएको छैन, स्थानीय बजारको आर्थिक गतिविधि बढाउने अवसरका रूपमा पनि महङ्खवपूर्ण छ । दसैँ नजिकिएसँगै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका मुख्य बजारमा बढेको ग्राहकको चहलपहलले चाडपर्वले स्थानीय अर्थतन्त्रमा पार्ने प्रभावलाई उजागर गरेको छ । नयाँ कपडा, जुत्ता–चप्पल, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री खरिद गर्ने ग्राहकको बढ्दो उपस्थितिले बजारमा आर्थिक गतिविधि चलायमान बन्न थालेको देखिन्छ ।
वीरेन्द्रचोक, एरीचोक, मंगलगढीचोक र मूलपानीचोकलगायत बजारमा बढेको भीड दसैँको उत्साहसँगै व्यापारिक सम्भावनाको संकेत पनि हो । कर्णालीका दशवटै जिल्लाबाट सुर्खेत आएका नागरिकले समेत किनमेललाई प्राथमिकता दिन थालेपछि राजधानीको बजार क्षेत्र थप व्यस्त बनेको छ । व्यापारीहरूले चाडपर्वलाई लक्षित गरी विभिन्न प्रकारका सामानको मौज्दात बढाएका छन् भने ग्राहकले आफ्नो रुचि र बजेटअनुसार सामग्री छनोट गरिरहेका छन् । केही व्यवसायीले गत वर्षको तुलनामा व्यापार बढेको अनुभव सुनाउनुले पनि चाडपर्वको समयमा बजारमा माग बढ्ने गरेको पुष्टि गर्छ । यद्यपि, बजारमा बढेको चहलपहललाई व्यापारिक सफलताको एकमात्र आधार मान्न मिल्दैन । ग्राहकको भीड बढ्दैमा सबै व्यवसायीको आम्दानी समान रूपमा बढ्छ भन्ने हुँदैन । बढ्दो महँगी, सीमित आम्दानी र परिवारका सदस्यका लागि आवश्यक सामग्री जुटाउनुपर्ने बाध्यताले धेरै उपभोक्तालाई खर्च व्यवस्थापन गर्न कठिन बनाएको हुन्छ । विशेषगरी न्यून तथा मध्यम आय भएका परिवारका लागि दसैँको किनमेल उत्साहसँगै आर्थिक दबाबको विषयसमेत बन्न सक्छ । त्यसैले चाडपर्वलाई अनावश्यक खर्च र देखासिकीको प्रतिस्पर्धा बनाउनुको सट्टा आवश्यकता, गुणस्तर र आफ्नो आर्थिक क्षमताका आधारमा किनमेल गर्ने संस्कार विकास गर्न आवश्यक छ ।
यस्तो अवस्थामा स्थानीय बजारले उपभोक्ताको विश्वास जित्नु अपरिहार्य छ । व्यापारीहरूले सामानको गुणस्तरअनुसार उचित मूल्य निर्धारण गर्ने, मूल्यमा पारदर्शिता कायम गर्ने र ग्राहकलाई सही जानकारी उपलब्ध गराउने अभ्यासलाई प्राथमिकता दिनुपर्छ । चाडपर्वको बढ्दो मागलाई अनुचित नाफा कमाउने अवसरका रूपमा लिनु हुँदैन । उपभोक्ताले पनि सामान खरिद गर्दा मूल्य तुलना गर्ने, गुणस्तर जाँच्ने र आवश्यकताअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ । सम्बन्धित निकायले बजार अनुगमनलाई प्रभावकारी बनाउँदै कृत्रिम अभाव, कालोबजारी, म्याद गुज्रिएका सामग्रीको बिक्री तथा उपभोक्तामाथि हुने ठगी नियन्त्रण गर्न ध्यान दिनुपर्छ । वीरेन्द्रनगरको बजारमा बढेको चहलपहलले स्थानीय अर्थतन्त्रलाई थप गतिशील बनाओस्, उपभोक्ताले सहज र उचित मूल्यमा गुणस्तरीय सामग्री पाऊन् तथा व्यापारीले स्वच्छ प्रतिस्पर्धाबाट लाभ लिन सकून् । दसैँको उत्साहलाई दिगो आर्थिक लाभ र सामाजिक सद्भावमा रूपान्तरण गर्नु नै अहिलेको आवश्यकता हो ।
प्रकाशित मितिः २७ आश्विन २०८३, मंगलवार ०५:०३
सम्पादकीय ।