समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी सुधारमा जोड

सुर्खेत: संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हक कार्यान्वयन गर्दै गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधार गर्न सरोकारवालाले जोड दिएका छन् । कारखाना समूहले शुक्रवार वीरेन्द्रनगरमा गरेको ‘नीतिलाई कार्यान्वयनमा रूपान्तरण गर्दै प्रभावकारी कक्षाकोठाका लागि सरोकारवालाको साझा जवाफदेहिता’ सम्बन्धी प्रादेशिक अनुभव आदानप्रदान र प्रदशनी कार्यक्रममा सहभागीले शिक्षा क्षेत्रमा बजेट वृद्धि र राज्यको प्राथमिकता तथा सोचमा परिवर्तन आवश्यक रहेको बताएका हुन् ।

कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य एवम् सामाजिक विकास समितिका सदस्य रनसिंह परियारले अपाङ्गता भएका बालबालिका, सीमान्तकृत समुदाय तथा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका विद्यार्थीको पहुँच, सहभागिता र सिकाइ सुनिश्चित हुने गरी नीति तथा संरचनात्मक सुधार गर्नुपर्ने बताए । प्रदेशमा निर्माण भएको शिक्षा नीति कार्यान्वयनमा सरकारले विशेष प्राथमिकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने र नीतिमा उल्लेख भएबमोजिक कार्यान्वयन गर्नुपर्ने बताए ।

कारखाना समूहका कार्यकारी निर्देशक सचेत मानन्धरले शिक्षा सुधारका लागि नीतिगत पैरवी आवश्यक रहेको बताए । उनले कर्णालीका केही जिल्लामा समूहले काम गरिरहेको र प्रतिफल न्यून रहेको पाइएकाले शिक्षा सुधारका लागि नीतिगत पैरवी आवश्यक हुनेमा जोड दिए । कार्यक्रममा शिक्षा क्षेत्रका विज्ञ, विभिन्न संघ संस्थाका प्रतिनिधि, नागरिक समाज तथा अन्य सरोकारवालाको सहभागिता थियो । सहभागी माया सापकोटाले शिक्षा क्षेत्रमा लगानी बताउनुपर्ने बताइन् । संविधानमा व्यवस्था भएको आधारभूत आवश्यकता समेत परिपूर्ति हुननसकेको भन्दै उनले संविधानले व्यवस्था गरेका विषय अक्षरस कार्यान्वयन हुनुपर्ने जनाइन् । सहभगिहरूले गुणस्तरीय र समावेशी शिक्षा सुनिश्चित गर्न कानुनी सुधारमा जोड दिएका छन् ।

प्रकाशित मितिः   २४ आश्विन २०८३, शनिबार ०९:५२