जनहितकारीको साधारणसभा

सुर्खेत: जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । वीरेन्द्रनगर–४ कालागाउँस्थित संस्थाको आफ्नै प्राङ्गणमा साधारणसभा गरिएको हो ।

सभामा संस्थाका अध्यक्ष नवराज कँडेलले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८३÷०८४ का लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरे । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/०८२ मा १० हजार तीन सय ६९ जना रहेका संस्थाका शेयर सदस्यको संख्या यस वर्ष दुई सय १७ जना नयाँ सदस्य थपिएसँगै बढेर १० हजार पाँच सय ८६ पुगेको छ ।

आगामी आर्थिक वर्षका लागि सदस्य विस्तार तथा सदस्य स्थायित्व, शेयर पुँजी र बचत संकलन, कर्जा लगानी तथा असुली व्यवस्थापन, सहकारी शिक्षा, तालिम र सूचना प्रविधिको विकासलगायतका विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ ।

त्यसैगरी संस्थाका कोषाध्यक्ष सञ्जय योगीले आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण तथा आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तावित वार्षिक बजेट प्रस्तुत गरे । समीक्षा अवधिमा संस्थाको कुल शेयर पुँजी सात करोड ७३ लाख ४५ हजार रूपैयाँ कायम भएको छ भने कुल बचत तथा निक्षेप ८९ करोड ७२ लाख ७१ हजार १६५ रूपैयाँ ४१ पैसा पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.५६ प्रतिशतले बढी हो । कुल सम्पत्तिको अनुपातमा बचत तथा निक्षेपको हिस्सा ८४.०६ प्रतिशत रहेको छ ।

यसैगरी, संस्थाको कुल ऋण लगानी ७६ करोड ३८ लाख १५ हजार रूपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ऋण लगानीमा १.१८ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । कुल सम्पत्तिको अनुपातमा ऋण लगानीको हिस्सा ७१.५६ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८२/०८३ मा संस्थाको कुल सम्पत्ति दुई करोड ४३ लाख ५१ हजार ७८ रूपैयाँ ८४ पैसाले वृद्धि भइ एक अर्ब छ करोड ७३ लाख ७८ हजार ८४० रूपैयाँ पाँच पैसा पुगेको छ । यस अवधिमा कुल सम्पत्तिको वृद्धिदर २.३३ प्रतिशत रहेको छ । संस्थाको कुल आम्दानी १० करोड ५९ लाख ८० हजार १४१ रूपैयाँ १३ पैसा र कुल खर्च नौ करोड ७४ लाख ६९ हजार ८६४ रूपैयाँ ८९ पैसा रहेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनारले आर्थिक वर्ष २०८२/०८३ को आन्तरिक लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका अध्यक्ष नवराज कँडेलको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य हरिहरनाथ योगीको प्रमुख आतिथ्यतामा सभा सम्पन्न गरिएको हो ।

प्रकाशित मितिः   २५ आश्विन २०८३, आईतवार १५:०७