वातावरणको साधारणसभा प्रमाणीकरण

सुर्खेत: वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतको चौबिसौं वार्षिक साधारणसभा अन्तर्गत एकाई प्रतिनिधिहरूको प्रमाणीकरण सभा शुक्रवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सहकारी ऐन नियम अनुसार एकाई बैठकहरूमार्फत वार्षिक साधारणसभाहरू सञ्चालन गर्नुपर्ने व्यवस्था भएबमोजिम दैलेख, सल्यान र सुर्खेत जिल्लामा रहेका विभिन्न सात वटा एकाईहरूको एकाई बैठक समापन पश्चात शुक्रवार एकाई बैठकबाट चयन भइ आउनुभएका एकाई प्रतिनिधिहरूको सभा सम्पन्न भएको संस्थाका कार्यकारी प्रवन्धक सुरजप्रसाद आचार्यले जानकारी दिए ।

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईले वातावरणले आफ्नो उद्देश्य अनुसारका कार्यक्रमहरू कर्णाली प्रदेशका विभिन्न जिल्लाहरूमा विस्तार गरेर सदस्यहरूलाई आत्मनिर्भर बनाउन ठूलो योगदान पु¥याएको बताए । आगामी दिनमा कर्णाली प्रदेशका अन्य विकट क्षेत्रमा पनि संस्थाको कार्यक्षेत्र विस्तार गरी अझ प्रभावकारी रूपमा संस्थागत सेवाहरू विस्तार गर्ने बताए ।

संस्थाको चौबिसौं वार्षिक साधारणसभा अन्तर्गत एकाई प्रतिनिधिहरूको प्रमाणीकरण सभाले संस्था सचिव पोषणराज रेग्मी र कोषाध्यक्ष हिरा बुढा मगरले पेस गरेको संस्थाको चालु आर्थिक वर्षको सात अर्व नौ करोड ८२ लाख ५२ हजार रूपैयाँको संशोधित र आगामी आर्थिक वर्षका लागि आठ अर्व चार करोड १४ लाख ७२ हजार रूपैयाँको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको छ ।

संस्थाका अध्यक्ष खगेन्द्रप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाको एकाई प्रतिनिधिहरूको प्रमाणीकरण सभाको अवसरमा संस्थाका उत्कृष्ट ६ जना कर्मचारीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्रलाल आचार्य, उपाध्यक्ष प्रेमप्रसाद चालिसे, शेयर सदस्य लालबहादुर खत्रीलगायतले आआफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   २४ आश्विन २०८३, शनिबार ०९:५१