सुर्खेतका द्वन्द्वपीडितलाई २० करोड बाँडिदै

सुर्खेत, १३ असार ।
सुर्खेतका द्वन्द्वपीडितहरूलाई राहत स्वरूप २० करोड रूपैयाँ बाँडिने भएको छ । लामो समयदेखि राहतको पखाइमा रहेका यहाँका द्वन्द्वपीडितहरूले राहत रकम पाउने भएका छन् । जिल्लाका द्वन्द्वपीडितहरूलाई राहतका लागि सरकारले २० करोड ४० लाख ६४ हजार रूपैयाँ पठाएको छ ।

राहत वितरणका लागि स्थानीय शान्ति समिति सुर्खेतले अहिले द्वन्द्वपीडितहरूको निवेदन संकलन गरिरहेको छ । शान्ति समितिले निवेदन संकलन गरिसकेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले रकम प्रदान गर्नेछ । मृतक, बेपत्ता, विस्थापित, अपहरण, घाइते, अपाङ्गता भएका, टुहुरा लगायतका गरी सुर्खेतमा एक हजार भन्दा बढी द्वन्द्वपीडितको नाम राहतको लगतमा परेको छ । ती मध्ये अधिकांशले आधा राहत पाइसकेका छन् ।
स्थानीय शान्ति समितिका अनुसार सबैभन्दा बढी राहत रकम मृतकका परिवारका लागि आएको छ । सरकारले मृतकका परिवारलाई १० लाख रूपैयाँको दरले राहत उपलब्ध गराउने छ । जस अन्तर्गत केहीले पाँच लाखभन्दा बढी रकम बुझिसकेका छन् भने केहीले पाँच लाखभन्दा कम रकम मात्रै प्राप्त गरेका छन् । मृतकका परिवारका लागि यस पटक १४ करोड ८३ लाख ५० हजार रूपैयाँ सरकारले पठाएको छ । यसअघि पाँच लाख वा त्योभन्दा बढी राहत रकम बुझिसकेकाहरूलाई यसबाट १० लाख पु¥याइने स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले जानकारी दिए । उनीहरूका लागि यो अन्तिम राहत हुनेछ । सुर्खेतमा मृतकको संख्या तीन सय ३६ छ । यसअधि नै तीन सय ३० जना मृतकका परिवारको राहतका लागि लगतमा नाम परिसकेको र पछि ६ जनाको थप भएको संयोजक थापाले जानकारी दिए । यस्तै पाँच लाखभन्दा कम राहत रकम पाएका मृतकका परिवारलाई यसपटक पाँच लाख पु¥याइनेछ । उनीहरूका लागि एक करोड १२ लाख रूपैयाँ छुट्याइएको छ ।
द्वन्द्वका कारण विस्थापित भएकाहरूका लागि चार करोड १० लाख ५० हजार रूपैयाँ बजेट आएको छ । सुर्खेतमा विस्थापित संख्या आठ सय ५२ परिवार छन् । उनीहरूलाई प्रतिपरिवार २५ हजार रूपैयाँ नबढाइ राहत प्रदान गर्न लागिएको छ । समितिका अनुसार अपहरणमा परेका १२ जनाका लागि प्रतिव्यक्ति ५० हजारको दरले राहत प्रदान गरिनेछ । जसका लागि तीन लाख रूपैयाँ आएको छ । संयोजक थापाका अनुसार पीडितहरूको प्रकृति अनुसार राहत रकम छुट्याएर पठाइएको छ । द्वन्द्वमा परी ५१ प्रतिशतभन्दा बढी घाइते भएका सुर्खेतका १६ जना पीडितका लागि भनेर १३ लाख ३९ हजार रूपैयाँ आएको छ । यस्तो घाइतेहरूले प्रतिव्यक्ति मासिक ६ हजार दुई सय रूपैयाँको दरले राहत पाउने गरेका छन् ।
समितिका संयोजक थापाले टुहुरा बालबालिकाका लागि भनेर यस पटक १८ लाख रूपैयाँ आएको जानकारी दिए । यो रकम द्वन्द्वकालका मृतक र बेपत्ताका सन्तानलाई प्रदान गरिनेछ । १८ वर्ष उमेर नपुगेका र आमाबाबु गुमाएका बालबालिकाहरूले मासिक पाँच हजारको दरले राहत रकम पाउने गरेका छन् । सुर्खेतबाट राहतका लागि सरकारको लगतमा परेका द्वन्द्वपीडितहरूमा मृतक तीन सय ३६ जना, बेपत्ता पारिएका २२ जना, अपहरणमा परेका ५७ जना र विस्थापित आठ सय ५२ जना रहेका छन् ।

प्रकाशित मितिः   १४ असार २०७४, बुधबार ०६:४६