बाढीबाट हुने क्षतिलाई न्यून गर्ने उपायहरू
नेपाल बाढीको जोखिमको दृष्टिकोणबाट ३० औं स्थानमा पर्ने देश हो । नेपालका ६ हजार भन्दा बढी नदीनालाहरू उत्तरबाट दक्षिणतर्फ बग्ने गर्दछन् तथा बग्ने क्रममा नदीजन्य पदार्थहरू ल्याउने र समथर भू–भागमा जम्मा गर्ने हुनाले नेपालको दक्षिणमा पर्ने तराई बाढीको उच्च जोखिममा परेको छ । तराईका साथसाथै समथरउपत्यका तथा भित्रीमधेसमा समथर भू–भागहरू पनि बाढीको चपेटामा परेका छन् । बाढीबाट बच्न राष्ट्रिय तथा स्थानीयस्थरमा अल्पीकरणका प्रयासहरू नभएका होइनन् तथापि ती उपायहरू पूर्णरूपमा सार्थकता पाएका छैनन् । खासगरी २०७१ मा आएको बाढीले सुर्खेत जिल्लामा पनि ठूलो जनधनको क्षति भएको थियो र यो जिल्ला बाढी तथा डुवानको जोखिममा रहेको जिल्ला हो । तसर्थ, हामी हाम्रो स्रोत, ज्ञान तथा सीप, प्रयास आदिको सदुपयोगबाट यसबाट हुने क्षतिलाई घटाउन सक्दछौं । त्यसो हो भने हामी आफ्नोतर्फबाट के–कस्ता क्रियाकलाप गर्न सक्छौं तः
बाढी पूर्वः
आपतकालीन सामग्रीहरूको जोहो गरी झोलामा भण्डारण गर्ने । उक्त झोलामा कम्तीमा तीन दिनलाई पुग्ने खाद्यान, पानी, औषधि र अन्य बन्दोबस्तीका सामाग्री राख्ने । पिउने पानीका पाइप फुट्ने चुहिने तथा ढलको पानी मिसिने हुनाले आवश्यक मात्रामा पानी भण्डारण गर्ने साथै पानी शुद्धिकरण गर्ने रसायनको बन्दो बस्तसमेत गर्ने । ब्याट्री, ब्लांकेट, टर्च लाइट, रबरबुट, रबरपञ्जा, मोबाइल रेडियो आदिको व्यवस्था गरी सुरक्षित स्थानमा राख्ने। बाढीको जोखिममा बसोबास गर्ने समुदायहरूले वर्षात मौसम पूर्व नै आपतकालीन सञ्चार योजनाको विकास गर्दै आफ्ना परिवारका सदस्य, आफन्त तथा नातागोताको सम्पर्कमा रहने । यसो गर्दा कोही कसैले सम्भावित विपद्को सूचना पाएमा सबैलाई सम्प्रेषण गर्न मद्दत हुन्छ । आफूसँग भएका सञ्चार उपकरणहरूको मर्मत सम्भार गरी चुस्त दुरुस्त राख्ने । आफ्नो अवस्था, आफू रहेको स्थानको जोखिम पहिचान गर्ने साथै, के मेरो घर र विद्यालय र अफिस बाढी आउने क्षेत्रमा त छैन ? दैनिक हिँड्ने वा आवत–जावत गर्ने बाटोमा पानी जमेर नहर फूट्ने सम्भावना त छैन ? अग्लो सतहमा जाने छोटो र छरितो बाटो कुन हो ? यी र यस्ता प्रश्नहरूको जवाफ खोज्ने र तदअनुरूप तयारी गर्ने । जल तथा मौसम विज्ञान विभागले जारी गर्ने बाढी तथा वर्षात सम्बन्धी सूचनाहरूबाट सू–सूचित रहने । नजिकै रहेको जल तथा खोलाको वाहव मापन गर्ने स्टेसनमा काम गर्ने कर्मचारीलाई नियमित सम्पर्क गरी मौसमी अवस्थाको जानकारी लिने । स्रोत तथा साधनले भ्याएसम्म जल तथा मौसम विज्ञान विभागको वेवसाइट www.mfd.gov.np/nwp/, http://daq.hydrology.gov.np/river_watch, http://daq.hydrology.gov.np/rainfall_watch अवलोकन गर्ने । वर्षातको समयलाई मध्यनजर गर्दै सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमा राखिने मौसम सूचनाबोर्ड हेर्ने साथै थप जानकारी चाहिएमा जिल्ला र क्षेत्रीय र राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रसँग सम्पर्क राख्ने । वर्षात सुरु हुनुपूर्व बालुवा भरेको झोला, बाँस रअन्य स्थानीय रूपमा उपलब्ध स्रोत तथा साधनको पहिचान गरी त्यसलाई सही ढङ्गले प्रयोग गरी सम्भावित जोखिम घटाउनतर्फ लाग्ने । खोलाको नजिकै घर छ भने वर्षात अगावै तटबन्ध निर्माणमा ध्यान दिने । नहर कुला जस्ता पानी बग्ने ठाउँहरू सम्भव भएसम्म नियिमत सरसफाइ गर्ने रपर्याप्त मात्रामा पानी बग्ने बनाउने । पशुचौपाया तथा घर पालुवा जनावरलाई अन्तिम अवस्था आउनुपूर्व नै सुरक्षित स्थानमा स्थानान्तरण गराउनतर्फ ध्यान दिने र आफू पनि सुरक्षित स्थानतिर लाग्ने । यदि परिस्थिति खतरा उन्मुखतिर जाँदै गरेको चाल पाएमा तथा सूचना प्रेषण गर्ने निकायसँग सम्बन्धविच्छेद भएमा स्वविवेक प्रयोग गरी साविकको स्थान छाडी आवश्यक सामान र साधन साथमा लिइ सुरक्षित स्थानतिर जाने ।
बाढीको समयमा बाढीको समयमा वर्षा तथा पानीको सतहमा घटबढ आउने हुनाले सचेत रहनुपर्ने हुन्छ । सावधानीपूर्वक स्थानीय एफएम, पत्रपत्रिका, सामुदायिक सूचनापार्टी तथा टेलिभिजनबाट सूचनासंकलन गर्नु राम्रो हुन्छ । पानीको सतह क्रमिक रूपमा बढ्दै गएको आभाष भएमा यथासक्दो छिटो सुरक्षित स्थानमा जानु उपयुक्त हुन्छ । स्थानीय रेडियो पत्रपत्रिका टेलिभिजन सामाजिक सञ्जाल तथा मौसम पूर्वानुमानका स्रोतहरूसँग नजिक रहने र आफूले प्राप्त गरेका सूचना समुदायमा सम्प्रेषण गर्ने । यदि पानीको सतह बढ्दै गयो भने आवश्यक सामग्रीहरू लिएर सुरक्षित उच्च सतहमा) स्थानमा जाने । जानेक्रममा वृद्ध, अपाङ्ग, सुत्केरी, गर्ववती तथा बालवालिकालाई पहिलो प्राथमिकता दिइ सुरक्षित स्थानमा पु¥याउने । अवस्था अझै खराब हुँदै गएको पाइएमा छिमेकी तथा समुदायका मानिसलाई तुरुन्त सुरक्षित स्थानमा स्थानान्तरण हुन निर्देशन दिने साथै घर छोड्ने बेलामा घरको ढोका लागाउन नबिर्सने र समयले भ्याएमा भुँइतलमा भएका सामग्रीहरू माथिल्लो तलामा सार्ने तथा विद्युत आपूर्ति बन्द गरिदिने । डुवानमा परेको स्थान, विद्युतीय पोल तथा विद्युत आपूर्ति हुने तार र अन्य खतराका संकेत भएका स्थानमा जाँदै नजाने । डुवान भएको स्थानमा किरा, फट्यांग्रा, सरिस्रिप जनावरले टोक्ने रडस्ने हुनाले त्यस्तो आवाज आउने स्थानबाट टाढै रहने । ६ इन्चसम्मको पानीले पनि मानिसलाई बगाउने हुँदा डुबानमा परेको क्षेत्रमा नहिँड्ने तथा धमिलो पानीभित्र धारिलो वस्तु, सिसा, फलाम, तारआदि वस्तुबाट चोट लाग्ने र सतह पहिलाउन नसकि ठूला तथा गहिरा खाडलमा पर्नसक्ने सम्भावना भएकाले सचेत रहने ।
बाढी पश्चात्ः
डुवानपश्चात पानीको सतह घटेता पनि उक्त स्थान तत्काल सुरक्षित भएको मान्नुहुँदैन । विभिन्न किसिमका घातक औजार, विषादी, किरा, फट्यङ्ग्रा, सर्प आदि बाढीले बगाएर ल्याएको हुनसक्ने भएकाले उक्त स्थानका ेप्रारम्भिक निरीक्षण र बाटोको सह जता सुनिश्चित गरेर मात्र जानु उपयुक्त हुन्छ । पानीको सतह घटे पश्चात सुरक्षित बाटोको सुनिश्चितता गरी घरको अवस्था बुझ्न घरको १ जना सदस्य घरतर्फ जानु उपयुक्त हुन्छ । यसरी जाने सदस्यले घरको अवस्था, खानेपानीको अवस्था, चर्पीको अवस्था, विद्युत आपूर्तिको अवस्था, घरभित्र तथा घरवरिपरिको अवस्था नियाली सुरक्षित रहेको सुनिश्चितता गरेर मात्र अन्य सदस्यहरूलाई घरमा ल्याउनु राम्रो हुन्छ । बाढी ग्रस्त क्षेत्रमा अनावश्यक रूपमा नजाने, बढ्दो भिडभाडले उद्धार तथा आपतकालीन कार्य सञ्चालनमा बाधा उत्पन्न हुनसक्छ ।
जाने नै भए मानवीय सहायतासँग सम्बन्धित समयन्त्रसँग समन्वय गरेर खोज तथा उद्धारमा सहयोग गर्न जाने । सम्वेदनशील स्थानमा राखिएका सावधानिका चिन्ह पहिचान गर्ने र आफ्नो सुरक्षाको लागि पालना गर्ने । जारी गरिएका सुरक्षित निर्देशिका पूर्णरूपमा कार्यान्वयन गर्ने । भत्किएका तथा क्षति भएका घर, भवन, सडक आदिमा जाँदा पानी पसेर जग कमजोर भएका भवन कमजोर भएर भत्कन सक्ने, विद्युतीय तार लत्रियर चुँडिएर करेन्ट लाग्न सक्ने, बाटो तथा सडकका खाल्डामा पर्न सक्ने ‘आदि हुनाले सकभर नजाने जानैपरे अनुमति लिएर सुरक्षित विधि अपनाएर मात्र जाने । आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइहरूलाई आफू, आफ्नो परिवार तथा समुदाय सुरक्षित रहेको सहर्ष जानकारी गराउने ।
साझा बिसौनी संवाददाता ।